साउन १७, नुवाकोट । नुवाकोट र रसुवा जिल्लालाई समेटेर सञ्चालित कार्यान्वयन एकाइ नुवाकोटको विभिन्न आयोजनाहरूले स्थानीयस्तरमा कृषि उत्पादकत्व वृद्धि र उद्यमशीलता प्रवर्द्धनमा प्रत्यक्ष योगदान पुर्याएको देखिएको छ।
कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (वैशाख, जेठ र असार) मा सम्पादित कार्य तथा वित्तीय प्रगतिको विवरण सार्वजनिक गर्दै कृषि उत्पादकत्व वृद्धि र उद्यमशीलता प्रवर्द्धनमा प्रत्यक्ष योगदान पुर्याएको जनाएको हो ।
प्रतिवेदनअनुसार सो अवधिमा कुल विनियोजित बजेटको ९३.४६ प्रतिशत भारित प्रगति हासिल भएको छ। विनियोजित कुल ७ करोड ९६ लाख १ हजार रूपैयाँ बजेटमध्ये ४ करोड ४२ लाख २१ हजार रूपैयाँ खर्च भएको छ।पुँजीगत कार्यक्रमतर्फ ४ करोड ६५ लाख रूपैयाँ विनियोजन भएकोमा शतप्रतिशत प्रगति हासिल भएको छ । चालुतर्फ ७ करोड ४९ लाख ५१ हजार वार्षिक विनियोजन रहेकोमा चौथो त्रैमासिकमा ४१ हजार ९०७ रूपैयाँ खर्च भई ९३.०५ प्रतिशत प्रगति कायम भएको विवरणमा उल्लेख छ।
कृषिमा यान्त्रीकरण र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै एकाइले यस अवधिमा कुल एक हजार आठ वटा आधुनिक कृषि मेसिन तथा औजारहरू वितरण गरेको छ। जसअन्तर्गत ३४३ वटा पेट्रोल मिनीटिलर, ५६ वटा डिजेल मिनीटिलर, ३८० वटा स्प्रेयर, ९४ वटा डिजिटल ब्यालेन्स, ४५ वटा कम्बाइन मिल, ३६ वटा कर्न सेलर, १७ वटा च्याफ कटर, र अन्य विभिन्न प्रशोधन तथा कृषि उपकरणहरू कृषकहरूलाई उपलब्ध गराइएको छ।
यसैगरी, साना सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार कार्यक्रम अन्तर्गत १०१ वटा योजना सम्पन्न गरी ४ हजार ६३ मिटर कुलो निर्माण, २६ वटा पानी सङ्कलन पोखरी निर्माण तथा १० हजार ६ सय ९० मिटर पाइप खरिद गरी सिँचाइ सुविधा विस्तार गरिएको छ। साथै, बेमौसमी तथा प्रविधिमैत्री तरकारी खेतीलाई प्रोत्साहन गर्न १२२ वटा स्थायी प्लास्टिक टनेलहरू निर्माण गरिएका छन्।
बाली उत्पादनतर्फ जोन प्रभाव क्षेत्रमा आलुको बीउ वृद्धि कार्यक्रम अन्तर्गत ३४.५ हेक्टर क्षेत्रमा दोस्रो पुस्ताको २१६ मेट्रिक टन र तेस्रो पुस्ताको ३३१ मेट्रिक टन बीउ उत्पादन गरिएको छ । कार्यालयले २० हजार पिबिएस दाना रोपेर ३ मेट्रिक टन प्रथम पुस्ताको बीउ तयार पारिएको छ।
आलु क्षेत्र विस्तार कार्यक्रमबाट थप २९२.५ मेट्रिक टन खायन आलु उत्पादन भएको छ । व्यवसायिक प्याज प्रवर्द्धन कार्यक्रम मार्फत १३.५ हेक्टरमा प्याज खेती गरी १६२ मेट्रिक टन उत्पादन भएको देखिएको छ।
सो अवधिमा पशुपालनतर्फ २८ वटा च्याङ्ग्रा खरिद गरी भेडा-बाख्रा स्रोत केन्द्र स्थापना गरिएको छ । बाख्रा खोर सुधार कार्यक्रममार्फत ६० वटा बाख्रा अट्ने ४ वटा, ३० वटा बाख्रा अट्ने ४९ वटा र १ वटा घुम्ती गोठ निर्माण गरिएको जनाएको छ।
मासु निर्यातलाई लक्षित गरी राँगा-भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत ४ वटा भैँसी गोठ निर्माण गर्नुका साथै ३४ वटा पाडापाडी खरिद गरी उद्यमशीलता विकासमा सहजीकरण गरिएको उल्लेख छ।

प्रतिक्रिया