साउन १४, नुवाकोट । उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय नुवाकोटमा दर्ता भएका उद्योगहरूको कुल सङ्ख्या ९ हजार ४०६ पुगेको छ।
कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक (वैशाखदेखि असारसम्म) को स्वतः प्रकाशन प्रगति विवरण अनुसार जिल्लामा घरेलु तथा साना उद्यमीहरूको सक्रियता वृद्धि भएसँगै औद्योगिक प्रतिष्ठानहरूको सङ्ख्यामा निरन्तर विस्तार भएको हो।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म ९ हजार २८५ वटा उद्योग दर्ता रहेकोमा गत वर्षमा थप १९१ वटा नयाँ उद्योग दर्ता भई कुल सङ्ख्या ९ हजार ४०६ पुगेको कार्यालय प्रमुख सिताराम घिमिरेले जानकारी दिए । यसै अवधिमा ७० वटा उद्योग खारेजीमा परेका छन्। उद्योगसँगै वाणिज्य फर्मतर्फ १३५ नयाँ दर्ता र ९५ खारेजी भई कुल सङ्ख्या ६ हजार ६७४ पुगेको छ, जसअनुसार जिल्लाभर दर्ता भएका कुल व्यावसायिक प्रतिष्ठानको सङ्ख्या १६ हजार ८० पुगेको कार्यालयले जनाएको छ।
गत वर्षको चौथो त्रैमासिक अवधिमा मात्रै उद्योग प्रशासन तर्फ ३ वटा नयाँ उद्योग दर्ता, १६४ वटा उद्योगको नवीकरण, २५ वटाको खारेजी र १४ वटा उद्योगको पुँजी वृद्धि गरिएको छ। नयाँ दर्ता भएका उद्योगहरूमा कृषि तथा वनजन्य, सेवामूलक, उत्पादनमूलक र पर्यटन क्षेत्रका उद्योगहरूको बाहुल्यता रहेको छ। सो अवधिमा उद्योग प्रशासनबाट रु. १२ लाख ६६ हजार ४ सय ५० र वाणिज्य प्रशासनबाट रु. १० लाख २९ हजार ३ सय ५० गरी कुल रु. २२ लाख ९५ हजार ८ सय राजस्व दाखिला भएको छ। असार मसान्तसम्ममा व्यवसाय रजिष्ट्रेशन दस्तुर, प्रशासनिक सेवा शुल्क र सरकारी सम्पत्तिको बिक्री लगायतका शीर्षकहरूबाट कुल रु. १ करोड १२ लाख ५० हजार ३ सय ५ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
वित्तीय प्रगतितर्फ चालुतर्फ कुल रु. १ करोड ४७ लाख ६७ हजार ५ सय ६० बजेटमध्ये रु. १ करोड १७ लाख ४७ हजार ३४ रुपैयाँ (७९.५४ प्रतिशत) र पुँजीगततर्फ विनियोजित रु. १६ लाख ५० हजार बजेटमा रु. १६ लाख ३४ हजार ९ सय २७ रुपैयाँ (९९.०९ प्रतिशत) खर्च भएको छ।
स्थानीयस्तरमा स्वरोजगार सिर्जना, उद्यमशीलता प्रवर्द्धन र साना उद्यमीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यालयले अन्तिम त्रैमासिकमा विभिन्न १० वटा विषयमा सीप विकास तालिम सञ्चालन गरी कुल १४५ जना युवा तथा महिलाहरूलाई व्यावसायिक तालिम प्रदान गरेको कार्यालयका सूचना अधिकारी मेखामाया तामाङ घलेले जानकारी दिईन् ।
बजारमा स्वच्छ प्रतिस्पर्धा कायम राख्न र उपभोक्ता हित संरक्षणका लागि कार्यालयले स्थानीय तहहरूसँग समन्वय गरी अनुगमन कार्यलाई समेत प्राथमिकतामा राखेको छ। गत वैशाखदेखि असारसम्मको अवधिमा विदुर नगरपालिकामा ८ पटक, किस्पाङ गाउँपालिकामा २ पटक, ककनी गाउँपालिकामा १ पटक र दुप्चेश्वर गाउँपालिकामा १ पटक गरी कुल १२ पटक अनुगमन गरिएको छ। अनुगमनका क्रममा कुल १२२ वटा व्यावसायिक फर्म तथा पसलहरूको स्थलगत निरीक्षण गरिएकोमा मापदण्ड पालन नगरेका ६८ वटा व्यवसायीहरूलाई सचेत गराइएको छ।

प्रतिक्रिया