+
Search

ताजा अपडेट +

पपुलर +

मूल्य पारदर्शिता र उपभोक्ता हितका लागि सङ्घको पहल

ncci nuwakot
डबली खबर
४ घण्टा अगाडी

२९ वैशाख, विदुर । नुवाकोट उद्योग वाणिज्य सङ्घले जिल्लाभित्रका व्यवसायीहरूलाई व्यवसायिक मर्यादा कायम राख्न र मूल्य पारदर्शिता अपनाउन विशेष आग्रह गरेको छ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको परिपत्र अनुसार वैशाख २८ देखि जेठ ३ गतेसम्म सञ्चालन हुन लागेको “मूल्य पारदर्शिता सप्ताह”लाई सफल पार्न संघले १० बुँदे आचारसंहिता सार्वजनिक गर्दै कार्यान्वयनका लागि अपिल गरेको हो।

सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उपभोक्ताको अधिकार संरक्षण र स्वस्थ बजार व्यवस्थापनका लागि व्यवसायीहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरिएको छ।

सङ्घले जारी गरेको निर्देशन अनुसार अब जिल्लाका हरेक पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा मूल्य सूची अनिवार्य रूपमा सबैले देख्ने गरी राख्नुपर्नेछ भने प्रत्येक कारोबारमा बिल विजक जारी गर्न कडाइ गरिएको छ।

त्यसैगरी, व्यवसाय दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर कार्यस्थलमै देखिने गरी राख्न, उत्पादन र उपभोग्य मिति स्पष्ट नभएका सामग्रीको बिक्री वितरण नगर्न र सडेगलेका वा म्याद गुज्रिएका सामानहरू तुरुन्त हटाउन व्यवसायीहरूलाई सचेत गराइएको छ। बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र अनुमति बिना सुर्तीजन्य पदार्थको कारोबार गर्ने जस्ता गैरकानुनी कार्य नगर्न समेत संघले चेतावनी दिएको छ।

विशेषगरी होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूका लागि संघले छुट्टै स्वास्थ्य र सरसफाइ सम्बन्धी मापदण्ड तोकेको छ। होटलहरूमा बासी खानेकुराको प्रयोग पूर्ण रूपमा निषेध गर्दै खानेकुरा सधैं छोपेर राख्न र विषादी रङ वा अखाद्य वस्तुको प्रयोग नगर्न निर्देशन दिइएको छ। कामदारहरूको व्यक्तिगत सरसफाइ र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिन आग्रह गर्दै संघले होटल क्षेत्रलाई स्वच्छ र सुरक्षित बनाउन व्यवसायीहरूलाई जिम्मेवार बन्न भनेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ