११ चैत, नुवाकोट । विदुर नगरपालिका र बेलकोटगढीका किसानहरु लक्षित गर्दै माझीटारमा तरकारी संकलन केन्द्रको शिलान्यास गरिएको छ । स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई व्यवस्थित रूपमा संकलन र बजारीकरण गर्ने उद्देश्यका साथ विदुर नपा-५ को कार्यालय परिसरमा आधुनिक तरकारी संकलन केन्द्रको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको हो ।
विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले संयुक्तरुपमा एक विशेष समारोहका बीच उक्त केन्द्रको शिलान्यास गरेका हुन् ।
विदुर नगरपालिकाले पछिल्लो समय पूर्वाधार विकास र कृषि प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राख्दै आएको नगरप्रमुख राजन श्रेष्ठले बताए । वर्षातको समयमा तरकारी कुहिने र ढुवानीमा हुने समस्यालाई मध्यनजर गर्दै यो संरचनालाई समयमै सक्ने लक्ष्य राखिएको छ।
सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत ठेक्का प्रक्रिया पूरा गरी निर्माण थालिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । कुल १ करोड ६० लाख रुपैँया रुपैयाँको लागतमा निर्माण हुन लागेको यस संरचनामा दुईवटा मुख्य भवनहरू रहनेछन् । साथै आवश्यक पूर्वाधारहरु खानेपानी र शौचालयको समेत उचित प्रबन्ध रहेको नगरप्रमुख श्रेष्ठले बताए ।
नगरपालिकाले सघन शहरी तथा भवन निर्माण आयोजनासँगको साझेदारीमा करिब १६ करोड बराबरका विभिन्न आयोजनाहरू सञ्चालन गरिरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । यस अन्तर्गत १३ नम्बरको वडा कार्यालयका भवन, सडक सञ्जालको विस्तार र सार्वजनिक शौचालय निर्माण जस्ता महत्वपूर्ण कार्यहरू भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
यो केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका किसानहरूले बिचौलियाको मार खेप्नु नपर्ने र आफ्नो पसिनाको उचित मूल्य पाउने विश्वास लिइएको वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपानेले बताए ।
निर्माण व्यवसायीलाई आगामी जेठमसान्तभित्रै निर्माण गरिने तरकारी संकलन केन्द्रको निर्माणले खासगरी व्यावसायिक तरकारी खेतीमा लागेका स्थानीय किसानहरूको जीवनस्तर उकास्न र नगरलाई कृषिमा आत्मनिर्भर बनाउन ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।
यसघि उक्त तरकारी संकलन केन्द्र बट्टारको हावाघर निर्माण गरिने भएतापनि जग्गा प्राप्तिको समस्यासँगै राम मन्दिर पछाडी तत्कालिन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिलान्यास गरेका थिए । प्राविधिककारण उक्त तरकारी संकलन केन्द्र अहिले विदुर नगरपालिका-५ को कार्यालयमा स्थान्तरण गरिएको हो।
प्रतिक्रिया