२४ माघ, नुवाकोट । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नुवाकोटमा नेपाली सेनाको परिचालनसँगै जिल्लाका सुरक्षा निकायहरूले आफ्नो सक्रियता बढाएका छन्।
यसै सन्दर्भमा, मध्य पृतना हेडक्वार्टर तथा ६ नम्बर बाहिनी अड्डाबाट प्राप्त कार्य निर्देशनअनुसार विदुर नगरपालिका-२ बट्टारमा शेर गणले माघ २१ गतेदेखि जिल्लाका चार रणनीतिक स्थानमा आधार क्षेत्र स्थापना गरेको शेर गणका गणपति प्रमुख सेनानी आविस्कार ढुङ्गानाले जानकारी दिए ।
शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउन र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सेनाले क्षेत्र प्रभुत्व, सवारी र पैदल गस्तीका साथै अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा संयुक्त गस्ती समेत सञ्चालन गरिरहेको उनले बताए ।
“सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सबै आधारहरूबाट रात्रिकालीन गस्तीमा समेत विशेष जोड दिएको छ”, उनले भने “निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने सम्भावित चुनौतीहरूको निगरानी र खबर संकलन कार्यलाई प्राथमिकतामा राखेको छ।”
सेना प्रहरी र सशस्त्र प्रहरी जिल्लाभर खटिएसँगै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले विभिन्न मतदान स्थलहरूको स्थलगत निरीक्षणलाई निरन्तता दिईरहेको छ । साथै स्थानीय पालिकाहरूसँग अन्तरक्रिया र समन्वयका कार्यहरूलाई तीव्रता दिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
सुरक्षामा खटिएका सुरक्षाकर्मीको उपस्थितिले जिल्लामा निर्वाचन केन्द्रित गतिविधिहरूलाई सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।



















प्रतिक्रिया