२४ माघ, नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालको पछिल्लो नुवाकोट भ्रमणले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी सरकारले नुवाकोटमा अवलम्बन गरिएका सामाजिक सञ्जाल निगरानीलाई देशभर लागू गर्ने उद्घोष गरेका छन् ।
शनिबार नुवाकोटको निर्वाचनको व्यवस्थापन तथा तयारी सम्बन्धमा पत्रकारसँगको अन्तरक्रियामा मन्त्री अर्यालले उक्त राष्ट्रिय रणनीतिमा रूपान्तरण गर्ने बताएका हुन् ।
मन्त्री अर्यालले नुवाकोट जिल्लामा अपनाइएका सकारात्मक अभ्यास सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना नियन्त्रण गर्ने शैलीलाई देशभर लागू गर्ने योजना उद्घोष गरेका हुन् । यसले मतदातालाई गलत बाटोमा जानबाट रोक्ने र डिजिटल माध्यमबाट हुने गलत सूचना तथा मिथ्या समाचार वा जानकारीलाई निर्मूल पारी निर्वाचनको विश्वसनीयता कायम गर्न सघाउने विश्वास लिएका छन् ।
आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको कुरा मन्त्री अर्यालले व्यक्त गरे ।
मतदाताको अधिकार सुरक्षित गर्दै जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता रहेको मन्त्री अर्यालको भनाइ छ।
मन्त्री अर्यालले सुरक्षाको पूर्ण प्रत्याभूति दिँदै मौसमी चुनौती र अन्य अवरोधका बाबजुद पनि तोकिएको समयमै चुनाव सम्पन्न हुने विश्वास दिलाए। मौसम पूर्वानुमान गर्ने निकाय र विज्ञहरूको सुझाव अनुसार निर्वाचनको समयमा मौसममा सुधार हुने मन्त्री अर्यालले अपेक्षा गरे ।
आगामी निर्वाचनको कार्यतालिकाबारे स्पष्ट पार्दै गृहमन्त्री अर्यालले भने “संसद विघटन भएको छ महिनाभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता अनुसार फागुन २१ गतेलाई लक्षित मिति तय गरिएको हो ।”



















प्रतिक्रिया