१८ माघ, नुवाकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ नुवाकोटमा बृहत् संयुक्त सुरक्षा अभ्यास गरिएको छ ।
जिल्ला सुरक्षा समितिको आयोजनामा विदुर नगरपालिकाको बट्टारस्थित शेर गणमा आज आइतबार उक्त अभ्यास सञ्चालन गरिएको गणपति आविष्कार ढुंगानाले जानकारी दिए । अभ्यासले आसन्न निर्वाचनलाई मर्यादित र सुरक्षित बनाउन सुरक्षा निकायहरूको मनोबल र कार्यक्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको उनले बताए ।
निर्वाचन पूर्व मतदानको समय र निर्वाचन पश्चात् आइपर्न सक्ने विभिन्न सुरक्षा चुनौतीहरूको पूर्व आँकलन गर्दै ती परिस्थितिलाई कसरी नियन्त्रणमा लिने भन्ने विषयमा केन्द्रित रहेर यो अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंले बताए ।
अभ्यासमा वास्तविक घटनाको परिकल्पना गरी सुरक्षा फौज र उपलब्ध स्रोत साधनको परिचालन गरिएको थियो । यसले निर्वाचन सुरक्षाका लागि खटिने विभिन्न निकायहरूबीचको आपसी समन्वयलाई थप प्रभावकारी बनाउन मद्दत पुर्याएको जनाएको छ ।
अभ्यासमा सुरक्षाका तीनवटै घेरामा रहने फौजबीचको सहकार्य र आकस्मिक परिस्थितिमा तत्काल प्रतिकार गर्ने विधिबारे व्यवहारिक ज्ञान आदानप्रदान गरिएको समितिले जनाएको छ ।
उक्त संयुक्त अभ्यासको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख बिपिन रेग्मी, सशस्त्र प्रहरी बल १९ नम्बर गुल्म नुवाकोटका प्रमुख गंगा के.सी. लगायत अन्य सुरक्षा अधिकारीहरूले अवलोकन गरेका थिए ।




















प्रतिक्रिया