६ माघ, नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो हुने निर्वाचित हुने प्रणाली) का लागि आज उम्मेदवारहरूको मनोनयन पत्र दर्ता शान्तिपूर्ण र उत्साहजनक रहेको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
साँझ ६ बजेसम्म देशभर कुल २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयन दर्ता प्रक्रिया उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सबै राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार दर्ता भएका उम्मेदवारमध्ये ३३६ जना महिला र २ हजार ५८९ जना पुरुष छन्। यसैगरी अपाङ्गता भएका व्यक्तिबाट ८५ जना र पछाडि परेका क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको छ।
क्षेत्रगत रूपमा रुपन्देही निर्वाचन क्षेत्र नं. २ र ३ मा सबैभन्दा बढी ३५–३५ उम्मेदवारी दर्ता भएको छ भने मुस्ताङमा सबैभन्दा कम ४ जनाको मात्र उम्मेदवारी परेको छ।
निर्वाचन आयोगले प्रारम्भिक विवरण मंगलबार राति नै सार्वजनिक गर्ने जनाएको छ।
मनोनयन दर्तापछि अब उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न प्रदान तथा अन्य निर्वाचन कार्यक्रमहरू निर्धारित समयतालिकाअनुसार अघि बढ्ने छन्।
निर्वाचन आयोगले शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेको छ।




















प्रतिक्रिया