७ माघ, नुवाकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट नुवाकोट–१ मा जिल्ला अध्यक्ष बद्री मैनालीले निर्वाचन कार्यालय खरानीटारमा पुगेर मनोनयन दर्ता गराएका छन्।
अघिल्लो निर्वाचनमा माओवादी–कांग्रेससहितको गठबन्धनसँग झिनो मतान्तरले पराजित भएका मैनालीले यसपटक पनि उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा नेकपा (एमाले) को जित सुनिश्चित हुने दाबी गरे।
अघिल्लो पटक गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्दा झिनो मतान्तर मात्र रहेको उल्लेख गर्दै मैनालीले अहिले देश निर्माण गर्ने स्पष्ट शक्ति नेकपा (एमाले) भएको बताए। जनताको विश्वास र समर्थन प्राप्त गरेर यसपटक विजय हासिल गर्ने उनको भनाइ छ।
यसैबीच नुवाकोट निर्वाचन क्षेत्र नं. २ मा पनि नेकपा (एमाले) का तर्फबाट केशव पाण्डेले मनोनयन दर्ता गराएका छन्। पाण्डे बागमती प्रदेशका पूर्व मन्त्री हुन् भने मैनाली पूर्व राज्यमन्त्री हुन्।