२५ पुस, विदुर । नुवाकोटमा आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि कुल दुई लाख ४७ हजार ८६८ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले जानकारी दिएका छन्।
जिल्लामा कुल मतदातामध्ये महिला एक लाख १८ हजार ९७५, पुरुष एक लाख २८ हजार ८९० र तीन जना अन्य लिङ्गका मतदाता रहेका छन्।
निर्वाचन क्षेत्रगत विवरणअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ९२९ जना मतदाता रहेका छन्। यस क्षेत्रमा ६८ वटा मतदान स्थल तोकिएको छ भने ती स्थलहरूमा १४४ वटा मतदान केन्द्र कायम गरिएको छ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख २३ हजार ९३९ जना मतदाता रहेका छन्। यस क्षेत्रका लागि ६४ वटा मतदान स्थल निर्धारण गरिएको छ भने कुल १४९ वटा मतदान केन्द्र रहनेछन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक व्यवस्थापन र समन्वय भइरहेको उनले बताए।
तथ्यांकअनुसार नुवाकोटमा सबैभन्दा धेरै मतदाता विदुर नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम मतदाता किस्पाङ गाउँपालिकामा रहेको देखिन्छ।
ककनीमा २२,५४१ जना, तादीमा १५,६०९ जना, दुप्चेश्वरमा १७,७५५ जना, पन्चकन्यामा १५,५६५ जना, लिखुमा १६,११९ जना, शिवपुरीमा २१,३९३ जना, सुर्यगढ़ीमा १४,९४७ जना, किस्पाङमा १२,७१८ जना, तारकेश्वरमा १५,५०२ जना, बेलकोटगढीमा ३५,४९४ जना, म्यागङमा १३,११४ जनार विदुरमा ४७,१११ जना मतदाता रहेका छन्।





















प्रतिक्रिया