+
Search

ताजा अपडेट +

पपुलर +

प्रस्तावित शिक्षा ऐन र संस्थागत विद्यालयका चुनाैतिहरु विषयक अन्तरक्रिया

Private & Boarding School's Organization Nepal pabson office building
डबली खबर
८ महिना अगाडी

११ भदौ, नुवाकोट । नेपाल सरकारले ल्याउन लागेको शिक्षा ऐनको विरोधमा निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)ले नुवाकोटमा सरोकारवालासँग बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ ।

शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैर नाफामूलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै चरणबद्ध आन्दोलनअन्तर्गत आज देशभरका शाखहरुमार्फत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

कार्यक्रममा म्यागङ गाउँपालिकाका उपाध्यक्ष सिता तामाङ, राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधि, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले सरकारको ठुलो लगानी सामुदायिक विद्यालयमा हुँदा पनि स्रोतको दुरुपयोग भईरहेको अवस्थामा प्रतिफल राम्रो नआउनु, विद्यालयमा विद्यार्थी नहुनुलगायतका समस्या रहेकोले संसदमा प्रस्तावित शिक्षा ऐनको संशोधनमा पार्टीको तर्फबाट पहल गर्ने बताए ।

म्यागङ गाउँपालिकाका उपाध्यक्ष तामाङले सामुदायिक विद्यालयको जग बसाल्ने कार्य गरिरहेकोले निजी विद्यालयलाई धन्यवाद व्यक्त गरिन् । विश्वबजारमा बिक्ने विद्यार्थी भनेको निजी विद्यालयका विद्यार्थी भएतापनि पालिका सामुदायिक विद्यालयको स्तारोत्तर प्रगतिमा रहेको बताईन् ।

कार्यक्रममा बोल्ने वक्ताहरूले कम्पनीमा ऐन अन्तर्गत सम्पूर्ण दायित्व पुरा गरी सञ्चालन भएका निजी तथा आवासीय विद्यालयहरूलाई गैर नाफामूलक बनाउने गरी ल्याउन लागिएको संघीय शिक्षा ऐन आफैमा विवादास्पद रहेको बताएका छन् ।

यस्तै कार्यक्रममा प्याब्सन पूर्वकेन्द्रीय सदस्य नवराज ओझा, प्याब्सन बागमती प्रदेश संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार रामहरि रिमाल, प्याब्सन नुवाकोटका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार ठाकुरप्रसाद पुडासैनीलगायतको उपस्थिति रहेकाे थियाे ।

यसै गरी भोलि बिहीबार ११ बजे जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ