५ भदौ, काठमाडौं । नेपालमा वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन र कर्जा लगानी दुवै घटेको देखिएको छ । साउन महिनामा वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन र कर्जा लगानी दुवै घटेको हो ।
नेपाल बैंकर्स सङ्घको तथ्यांकअनुसार असार महिनाको तुलनामा साउनमा निक्षेप सङ्कलन ५२ अर्ब र कर्जा लगानी ११ अर्ब रुपैयाँले घटेको हो । पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तताको कारण कर्जा प्रवाह हुन सकेको छैन ।
असारमा भुक्तानी र राफसाफको दबाब पर्ने भएकाले कर्जा लगानी र निक्षेप सङ्कलन केही बढेको थियो ।
तथापि, साउनमा सरकारी खर्चदेखि विकास निर्माणको काममा सुस्तता आउँने भएकाले पनि यो महिना निक्षेप सङ्कलन लन र कर्जा लगानी घटेको जानकारहरुको भनाइ छ ।
सरकारले वर्षको सुरुवातदेखिनै पुँजीगत खर्च बढाएर विकास निर्माणको काममा गती लिन सकेको खण्डमा अगामी दिनमा कर्जा प्रवाह बढेर अर्थतन्त्र चलायमान बन्ने जानकारहरुले बताउँदै आएका छन् ।
१५ बैंकको निक्षेप संकलन घट्यो, ५ बैंकको बढ्यो
असारको तुलनामा साउन मसान्तसम्म आइपुग्दा १५ बैंकको निक्षेप सङ्कलन घटेको छ भने ५ बैंकको बढेको छ । यसअवधिमा सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ ।
एक महिनामा यसको निक्षेप संकलन ७ अर्ब ९६ करोड रुपैयाँले बढेर ५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यसअवधिमा समग्रमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ५२ अर्ब २२ करोड रुपैयाँले घटेर ६४ अर्ब ७८ करोड रुपैयाँमा आएको छ ।
असार महिनामा वाणिज्य बैंकले ६५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
१० बैंकको कर्जा प्रवाह बढ्यो, १० वटैको घट्यो
असारको तुलनामा साउन महिनामा १० वटा बैंकको कर्जा प्रवाह घटेको छ भने १० वटै बैंकको बढेको छ ।
सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा पनि ग्लोबल आइएमई बैंक रहेको छ । यसअवधिमा यसको कर्जा प्रवाह ४ अर्बले बढेर ४४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
यता, एक महिनामा समग्रमा २० वाणिज्य बैंकको कर्जा प्रवाह १० अर्ब ८६ करोड रुपैयाँले घटेर ४९ खर्ब ६३ अर्ब रुपैयाँमा आएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यी बैंकहरुले ४९ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

प्रतिक्रिया