६ असार, नुवाकोट । ऐतिहासिक सम्पदा तथा पुरातात्विक संरचनाको रुपमा रहेका सम्पदाहरुको संरक्षणमा विदुर नगरपालिका र नेपाली सेनाले कार्यको थालनी गरेको छ ।
शुक्रबार नगरपालिकाले वडा नम्बर २ मा रहेको कालिका मन्दिर, मालिका मन्दिर, मालिक गढी, बारुदखाना, एकीकरण पदमार्ग लगायतका संरचनाको पुर्ननिर्माण, मर्मतसम्भार, संरक्षणको लागि नेपाली सेनासँगको सहकार्यमा काम गर्ने तयारी स्वरुप नगरप्रमुख राजन श्रेष्ठ, बहादुर श्री शेर गणको नेपाली सेनाका प्रतिनिधि र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेसहितको टोलीबाट स्थलगत सर्वेक्षण एवम् आवश्यक तथ्याङ्क संकलन कार्य प्रक्रिया अघि बढाएको छ ।
नुवाकोट दरबार क्षेत्रको नजिकै अवस्थित यो मन्दिर शक्तिपीठको रूपमा प्रसिद्ध छ। यो मन्दिर मल्लकालीन समयमा निर्माण गरिएको मानिन्छ । राजा पृथ्वीनारायण शाहले नुवाकोटलाई एकीकरणको रणनीतिक केन्द्र बनाउँदा यस क्षेत्रको धार्मिक महत्त्व पनि बढेको थियो।
यो पहलले स्थानीय सम्पदाको संरक्षणमा मात्र होइन, पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
नेपाली सेनाले आगामी आर्थिक वर्षमा बारुदखानाको पुर्ननिर्माण सहित यहाँ रहेका थप अन्य संरचनाको संरक्षणको काम सुरु गर्ने लक्ष्य लिएको छ ।
साथै, आगामी आर्थिक वर्ष २०८२/०८३ मा पृथ्वी संग्राहलयको सञ्चालनको लागि नीतिगत कार्यक्रम पेश गर्ने नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया