११ जेठ, काठमाडौं । सेयर सूचीकृत गर्ने निकाय र सेयर जारी गर्ने कम्पनीबीचको आपसी मिलेमतोका कारण लगानीकर्ताको करोडौं सम्पत्ति बन्धक बन्न पुगेको छ।
पछिल्लो समय सर्वसाधारणमा सेयर जारी गरेको पियोर इनर्जीका अध्यक्ष अक्षय गोल्यान र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को मिलेमतोमा सर्वसाधारण लगानीकर्तालाई ठगी गर्ने उद्देश्यले एउटा मात्रै इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिन लबिङ गरेपछि सेयर सूचीकृत हुन नसकेको हो। त्यसरी सेयर सूचीकृत नहुँदा १ लाख ६० हजार लगानीकर्ताको १६ करोड रुपैयाँ बन्धक बनेको छ।
नेप्से र सीडीएस एण्ड क्लियरिङका कर्मचारीले यसअघि हाइड्रोलगायतका कम्पनीलाई एउटा मात्रै आईजीन दिएर कमाउधन्दा गर्दै आएका थिए। तर, सीडीएससीमा प्रविण पन्दाक सीईओ भएर आएसँगै उनले सेयर बजारमा मौलाएको विकृति रोक्नका लागि सो विषयमा स्पष्ट मापदण्ड हुनुपर्ने बताउँदै आएकी छिन्।
हाल आईपीओ जारी गरेर संस्थापक र सर्वसाधारण सेयरको एउटै आईजीन लिने अनि लकइन अवधि नसकी गैरकानुनी रूपमा किस्ता किस्तामा संस्थापकहरूले आफ्नो सेयर दोस्रो बजारमा भिडाएर बाहिरिनका लागि अहिले आईपीओ जारी गरेको गोल्यान ग्रुपअन्तर्गतको पियोर इनर्जी एउटै लकइन पाउनुपर्ने भन्दै शक्तिकेन्द्र धाउँदै आएको छ।
अहिले गोल्यानको उक्त लगानीकर्ता ठगी गर्ने धन्दामा नेप्सेले दह्रो साथ दिएको बुझिएको छ। अर्थात् सीडीएससीले संस्थापक र सर्वसाधारण सेयरलाई एउटै आईजीन दिएर तत्काल नेप्सेको टीएमएसमा नदेखाइदिएसम्म सेयर सूचीकृत नै नगरिदिने आएको सम्बद्ध स्रोतले जानकारी दिएको छ।
यसैगरी पियोर इनर्जीका अध्यक्ष अक्षय गोल्यान भने आफ्नो कारणले भन्दा पनि नेप्से र सीडीएससीबीचको विवादका कारण पियोर इनर्जीको सेयर सूचीकृत हुन नसकेको बताउँछन्।
‘सीडीएससीले दुईओटा आईजीन दिने बताउँदै आएको छ भने नेप्सेले एउटा मात्रै आईजीन नभई सेयर सूचीकृत नगरिदिने बताउँदै आएका छन्,’ अध्यक्ष गोल्यानले भने, ‘सोही कारण सेयर सूचीकृत हुन सकेको छैन।’
पियोर इनर्जीले पब्लिक कम्पनी भएर सर्वसाधारणमा सेयर जारी गरे पनि त्यसमा बहुमत सेयर अक्षय गोल्यानको नाममा रहेको छ।
आईपीओसहित कुल ८० लाख कित्ता सेयर रहेको सो कम्पनीमा अक्षय गोल्यानको नाममा ४० लाख ९५ हजार कित्ता सेयर रहेको छ। बाँकी सेयरमध्ये २० लाख कित्ता कुनै भारतीय अमुक कम्पनीको नाममा रहेको छ भने अन्य सेयर पनि गोल्यान परिवारकै नाममा रहेका छन्।

प्रतिक्रिया