+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीलाई विपश्यना ध्यान योग

Vipassana Meditation in Trishuli Nuwakot
डबली खबर
१ साल अगाडी

६ फागुन, नुवाकोट । त्रिशूलीको सुगतपुर विहारमा विद्यार्थीलाई विपश्यना ध्यान योग सुरु भएको छ ।

युवक बौद्ध मण्डलको आयोजनामा सुरु भएको पहिलो दिनमा त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका कक्षा ६ र ७ का विद्यार्थीहरुलाई विपश्यना ध्यान योगबारे जानकारी एवं ज्ञान दिईएको संस्थाका अध्यक्ष सुनिल बज्राचार्यले जानकारी दिए । शुक्रबारसम्म सञ्चालन हुने ध्यान योगमा जिल्लाका अन्य विद्यालयका विद्यार्थीहरुलाई विपश्यना ध्यान योगबारे ज्ञान दिईने उनले जानकारी दिए ।

बालबालिकाको स्वास्थ्य जीवनशैलीलाई सहजता दिन विपश्यना ध्यान आवश्यक रहेको प्रशिक्षक राजु खड्गीले बताए । विद्यार्थीहरुलाई विपश्यनाको पहिलो चरणअन्तर्गत आनापानसती ध्यान योगको ज्ञान दिईएको उनले जानकारी दिए ।

विपश्यना एक ध्यान विधि हो, जसले मानिसलाई वर्तमानमा रहन वा जिउन सिकाउँछ । आजभन्दा लगभग २५–२६  सय वर्ष अगाडि गौतम बुद्धले अनुसन्धान गरी आम रूपमा स्थापित गराएको हो । आफ्नो श्वास–प्रश्वासको निरीक्षण गर्दै शरीर र चित्तमा उत्पन्न हुने परिवर्तनशील घटनाहरूलाई तटस्थ भावले निरीक्षण गर्दै चित्तशोधन र सद्गुण बुद्धिको अभ्यास विपश्यनामा गरिन्छ ।

विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना हो । दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास हो । यसको अभ्यासबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ ।

नेपालमा हालसम्म जम्मा १८ वटा विपश्यना केन्द्र छन् । विभिन्न देशमा विपश्यना शिविर स्थायी केन्द्रहरूमा सञ्चालन गरिन्छन् । शिविरको सञ्चालन साधकको स्वेच्छिक दानबाट हुने प्रशिक्षक खड्गीले जानकारी दिए । कसैसँग पनि शुल्क लिइँदैन र धर्मसेवा दिने आचार्य तथा धर्मसेवक सेविकाहरूले पारिश्रमिक लिंदैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ