विदुर, मङ्सिर १६ । नुवाकोट जिल्लामा एचआइभी पोजेटिभ भएका ९० प्रतिशत एड्स रोगका बिरामीहरुको स्वास्थ्य बीमा रहेको छ । बाँकी १० प्रतिशतको बीमा नभएको त्रिशूली अस्पतालका एआरटि परमर्शकर्ता चक्र थापाले जानकारी दिएका छन् ।
एड्स रोगका बिरामीहरुको नि:शुल्क स्वास्थ्य बीमा भएतापनि सम्बन्धित स्थानीय तहको वडाकै बीमाकर्ताले नै गरि दिनुपर्ने सरकारको नीतिगत निर्णयले कठिनाई भएको छ । बिरामीको गोपिनियताले गर्दा बाँकी बिरामीहरुले वडामै स्वास्थ्य बीमा गर्न नसकेको उनले बताए ।
त्रिशूली अस्पतालको पछिल्लो तथ्यांकअनुसार नुवाकोटमा पाँच बालबालिकासहित १८७ जना एड्स रोगका बिरामीहरुले निरन्तर औषधी सेवन गर्दै आईरहेको छ । जिल्लामा सुईबाट लागूपदार्थ प्रयोग गर्ने २१ जना, वैदेशिक रोजगार १८ जना, यौनकर्मी ११ जना, तेस्रोलिङ्गी ४ जना, कैदी २ जना र अन्य १३१ जना एड्स रोगका बिरामीहरु रहेको उनले जानकारी दिए ।
अस्पतालमा एचआइभी पोजेटिभ भएका २५८ जना बिरामीहरुले दर्ता थियो । जिल्ला बाहिरका व्यक्ति हुनु, पारिवारिक, सामाजिक, पेशागत तथा व्यवसायिकलगायतका कारणले हाल १८७ जना एचआइभी पोजेटिभ भएका बिरामीहरुले निरन्तर औषधी सेवन गर्दै आईरहेको उनले जानकारी दिए । ९ जना बिरामीहरुले नियमित परीक्षण गर्न नआएको उनले जानकारी दिए ।
“सधैँ सहि डोज सहि समयमा औषधी सेवन र परामर्श लिएमा एड्स रोग लागेका बिरामीको स्वास्थ्य सन्तुलन हुन्छ”, उनले भने, “कुनै पनि संक्रमितमा सुरुमा एचआइभी भाइरसको संक्रमण हुन्छ। तर समयमै उपचार गरेमा त्यो भाइरस बढ्दैन । उपचार नगरेमा बढ्दै गएर एड्सको अवस्थामा पुग्छ। यो पुग्ने प्रक्रिया पहिलो, दोस्रो, तेस्रो हुँदै चौथौं चरणमा पुगेपछि एड्सको अवस्थामा पुग्छन् । जुन अवस्थामा भाइरसविरुद्धको औषधीले काम गर्दैन ।”
प्रत्येक तीन महिनाको समय अन्तरालमा बिरामीको शरीरमा भाइरसको मात्रा र रोग प्रतिरोधात्मक कोषहरुको संख्या के कति छ भनेर रगत परीक्षण गर्ने गरिएको छ । परीक्षणअनुसार बिरामीलाई औषधी परिवर्तन गर्नु परेमा वा प्रतिकुल भएमा चिकित्सकको पूर्जीअनुसार औषधी दिने गरिएको उनले बताए ।
अस्पतालमा औषधी र परामर्श लिन आउने बिरामीहरुलाई सदरमुकाम विदुरमा रहेको त्रिशूली प्लसले सहजीकरण गर्दै आईरहेको छ । अस्पतालमा आउने बिरामी र परिवारको लागि उक्त संस्थाले आवास र खानाको व्यवस्था नि:शुल्क व्यवस्था गरेको छ । उक्त संस्थाले एचआइभी र एड्सको क्षेत्रमा जनचेतना र उपचारमा सहजीकरण गर्दै आईरहेको छ।
एड्स रोगका बिरामीहरु सामान्य व्यक्ति सरह जीवनयापन गरिरहेको उनले बताए । बाख्रापालन, चालक, खेतीपाती, व्यापार व्यवसायलगायतका पेशागत कार्य गरिरहेको छ । ती बिरामीहरु संयमित भएर एचआइभी र एड्सविरुद्ध जनचेतनामूलक कार्यमा समेत संलग्न समेत रहेको उनले जानकारी दिए।
चालुआर्थिक वर्ष २०८१/०८२ मा एक जनामा एचआइभी पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
राष्ट्रिय एड्स र एसटीडी नियन्त्रण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा आर्थिक वर्ष २०८०/८१ मा दुईहजार ४७५ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ । पुरुषमा एक हजार ५२८ र महिलामा ८८१ जनामा र ६६ जना ट्रन्सजेन्डर एचआइभी पुष्टि भएको छ ।

प्रतिक्रिया