+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा २५२ स्वास्थ्यकर्मी रिक्त (पूर्ण विवरणसहित)

Mahendradhwoj adhikari annouced public health office nuwakot fiscal report program in Nuwakot Dabali Khabar
डबली खबर
१ साल अगाडी

विदुर, मङ्सिर १२ – जनस्वास्थ्य कार्यालय नुवाकोटले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित कार्य विवरण सार्वजनिक गरेको छ । बुधबार विदुरमा आयोजित पत्रकारहरूसँग भएको अन्तरक्रियामा जनस्वास्थ्य कार्यालयमार्फत् भएका कार्य विवरण सार्वजनिक गरिएको हो ।

कार्यक्रममा कार्यालय प्रमुख महेन्द्रध्वज अधिकारीले जिल्लामा स्वास्थ्यकर्मी, स्रोतसाधन, विभिन्न रोग र रोग विरुद्धको खोप अभियानमा देखिएका समस्या, समाधान र कार्यप्रगति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्लाका सरकारी १२७ स्वास्थ्य संस्थाहरुमा ५०५ जना स्वीकृत दरबन्दी भएकोमा २५३ जनाको मात्र पदपूर्ति र २५२ जना रिक्त रहेको प्रमुख अधिकारीले जानकारी दिए । जिल्लाका ८८ वटै वडाका स्वास्थ्य संस्थामा स्वस्थाकर्मीको अभावले सेवा प्रवाहमा कठिनाई रहेको प्रमुख अधिकारीले बताए । जिल्लामा आवश्यक स्वास्थ्य जनशक्तिको पूर्तिको लागि जनस्वास्थ्य कार्यालयबाटै भए सहज हुने बताए। मापदण्ड अनुसारको भवन भएका स्वास्थ्य संस्था ४८ प्रतिशत मात्र रहेको छ। जसमा ६१ वटा स्वास्थ्य संस्थाको मापदण्ड भएको भवन, खानेपानीको नियमित ९२ वटा, कम्प्यूटर वा ल्यापटप सुविधा भएको ८९ र इन्टरनेट सुविधा भएको ९२ वटा स्वास्थ्य संस्थाहरु रहेको प्रमुख अधिकारीले जानकारी दिए ।

विद्यालय नर्स कार्यक्रम अन्तर्गत ४६ जना नर्सले १७ हजार ८२७ जना विद्यार्थीलाई सेवा प्रदान गरेको छ ।

प्रमुख अधिकारीले निजि स्वास्थ्य संस्थाको अनुमती, नवीकरण र नियमन जनस्वास्थ्य कार्यालयबाटै हुनुपर्ने बताए । स्वास्थ्य संस्थाको अनुगमन गर्न नसकिएको, स्थानीय तह र जनस्वास्थ्यको जिम्मेवारी तथा भूमिकामा दोहोरोपन र आवश्यकता, मापदण्ड र समन्वय विना स्वास्थ्य संस्था स्थापना गरिनु प्रमुख समस्या रहेको प्रमुख अधिकारीले जानकारी दिए ।

जिल्लामा गत आवमा डेंगुका २५१ जना बिरामी रहेको तथ्यांक छ भने चालु आवसम्म महिला २२२ जना र पुरुष ३१४ गरी कुल ५३६ जना बिरामी भएको छ। यसैगरी गत आवमा नसर्ने रोगमा उच्च रक्तचापका एक हजार ६३२ जना, मानसिक स्वास्थ्यका १०३ जना, मधुमेहका ३०६ जनालगायत गरी ४ हजार ६३५ जना बिरामी रहेको छ। कुकुरको टोकाईबाट ५४८ जना र सर्पको टोकाईबाट २५ जना सख्त घाईते भएको छ।

नुवाकोटमा ग्यास्ट्रिक, ज्वरो र टाउको दुखाई मुख्य रोग बिरामीहरु रहेको विवरण छ।

जिल्लामा सञ्चालित ‘ख’ वर्गका १८ वटा एम्बुलेन्सहरुमा भाडादर, मापदण्ड र नियमनमा समस्या रहेको प्रमुख अधिकारीले बताए । जिल्लागत र स्थानीय तह गतका स्वास्थ्य संस्थामा अभिलेखीकरण र गुणस्तरमा कमी रहेको छ। जसको लागि अनुगमन सुपरिवेक्षण तथा तालिम व्यवस्थापन हुनुपर्ने सुझाव दिए । जिल्लाको आवश्यकता यकिन नगरी औषधी आपूर्ति हुनु, प्रदेशबाट आपूर्ति भएका औषधीहरुको प्रयोग मिति न्युन हुनु र गुणस्तरीय औजार उपकरण नहुनु लगायतका समस्या रहेको प्रमुख अधिकारीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ