विदुर – माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि शुरु भएको छ । यो वर्ष एसईईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो ।
नुवाकोट जिल्लाका १४४ विद्यालयका दुई हजार १९९ जना विद्यार्थीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कुमार बस्नेतले जानकारी दिए। परिक्षाको लागि पाँच केन्द्र तोकिएको छ। त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, भैरुम माध्यमिक विद्यालय, पृथ्वी माध्यमिक विद्यालय, च्वाडी पब्लिक माध्यमिक विद्यालय र सुन्दरा माध्यमिक विद्यालयलाई परिक्षा केन्द्र तोकिएको उनले जानकारी दिए।
पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुने छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ ।
परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरका दुई लाख १० हजार विद्यार्थीहरु सहभागी भएका छन् ।
एक महिना अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
परीक्षामा अनुत्तीर्णको संख्या दुई लाख ४२ हजार भए पनि दुई लाख १० हजार मात्रै सहभागी हुन लागेको बोर्डले जनाएको छ । यसका लागि मुलुकभर ५ सय ५० केन्द्र निर्धारण गरिएको छ ।
यसअघि अधिकतम दुईविषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था भएकोमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको जोडबलमा अनुत्तीर्ण सबैका लागि मौका परीक्षाको व्यवस्था गरिएको हो ।
प्रतिक्रिया