काठमाडौं – उद्योग-बीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचारमार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने उद्देश्यले नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनी (नास-आईटी) ले ग्लोबल आईएमई बैंकलाई दीगो साझेदारको रूपमा घोषणा गरेको छ ।
बिहीबार सम्झौता पत्र हस्तान्तरण समारोहमा उक्त जानकारी गराइएको हो । यस साझेदारीमार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्नेछ । नास आईटीमार्फत् बैंकको डिजिटल बैंकिंग र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन् । नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्नेछन् ।
ग्लोबल आईएमई बैंक नास आईटीको नवस्थापित दीगो कोषलाई सहयोग गर्ने पहिलो दीगो साझेदार बनेको छ ।
नास आईटीले प्रमुख साझेदारहरूसँग साझेदारी गर्न, नवाचार र अनुसन्धानलाई प्रवर्द्धन गर्न, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन गर्न, शिक्षा र सीप विकासलाई प्रवर्द्धन गर्न, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्न दीगो कोष सुरू गरेको छ।
नास आईटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्यसहित स्थापना भएको आईटी कम्पनीहरूको गैरनाफामूलक छाता संस्था हो ।
प्रतिक्रिया