काठमाडौँ – ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्टले ‘टाइप एण्ड लेटिरिङ्’ विधामा यस बर्षको ‘डीएण्डएडी यल्लो पेन्सिल अवार्ड’ प्राप्त गरेको छ । यसप्रकारका अवार्ड नेपालका लागि पहिलो हो ।
गत बिहीबार लण्डनमा भएको ६२ औँ ‘डीएण्डएडी अवार्ड’ कार्यक्रममा नित्या रञ्जनाले ‘यल्लो पेन्सिल अवार्ड’ पाएको हो । यससँगै कार्यक्रममा उड पेन्सिल, ग्रेफाइट पेन्सिल, ब्ल्याक पेन्सिल, ह्वाइट पेन्सिलसहित विभिन्न विधाका अवार्ड वितरण गरिएको थियो । छ सयभन्दा धेरै निर्णायकको निर्णयबाट लिपि पुरस्कृत भएको अवार्ड कार्यक्रममा सहभागी तोशी ओमगरीले बताए ।
क्यालीजात्रा फाउन्डेसनका अध्यक्ष आनन्दकुमार महर्जनका अनुसार यल्लो पेन्सिल मौलिक रचनात्मक उत्कृष्ठताका लागि प्रदान गरिन्छ । अवार्ड प्राप्त गरेपछि नित्या रञ्जना फन्ट मात्र होइन, रञ्जना लिपिले अन्तरराष्ट्रिय स्तरमा पहिचान वृद्धि गरेको छ ।
फाउन्डेसनले रञ्जना लिपीलाई डिजिटलाइजेसन गर्न भारतको फन्ट डिजाइन कम्पनी ‘एक टाइप’सँग सहकार्य गरेको थियो । यसमा फन्ट विकासकर्ता तथागत बिश्वास, सारंग कुलकर्णी, नुपुर दात्ये हुन् । यसको विकास तथा सिर्जनाका लागि काठमाडौँ महानगरपालिकाले सहयोग गरेको छ ।
डीएण्डएडी विश्वव्यापी व्यवसायिक विज्ञापन, डिजाइन, शिल्प र सिर्जनाका क्षेत्रमा प्रदान हुने अवार्ड हो । सन् १९६२ देखि डिजाइन र विज्ञापनका क्षेत्रमा यो अवार्ड प्रदान गरिँदै आएको छ ।
रञ्जना नेपालको मौलिक लिपि हो । मौलिक र प्राचीन भइकन पनि यी अक्षरहरुको प्रयोग, प्रवर्धन हुन सकेको थिएन । यसकारण लिपी संरक्षणमा चुनौती बढ्दै थियो । यो जोखिमबाट बचाउन तथा संरक्षण र प्रवर्धन गर्न युवाहरुले लिपिलाई प्रविधिसँग प्रयोग अनुकुल बनाउने काम थाले । क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाहरुको सक्रियताले लिपि प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र लिपी सिक्न सक्ने स्वरुपमा रुपान्तरण गरे । यो लिपी गएको चैत ४ गते काठमाडौँको नेपाल कला परिषदमा सार्वजनिक गरिएको थियो । यो लिपि इण्डो आर्यन, मंगोल, भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचान जोडिएको छ ।
लिपिलाई प्रविधिमैत्री बनाउने क्रममा फाउन्डेसनले सम्बन्धित राष्ट्रिय अन्तरराष्ट्रिय पहिचान, भाषिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध, मूर्त अमूर्त सम्पदाको पहिचान र संरक्षणको नातालगायत क्षेत्रमा गरिएको अध्ययनबाट पृष्ठपोषण लिइएको थियो ।
फन्टमा आकर्षक अक्षर छन् । स्वर र व्यञ्जन वर्णहरु, विराम र अङ्कहरु तथा लेख्य विकल्पहरु रहेको क्यालिजात्राका अध्यक्ष महर्जनले जानकारी दिनुभयो । उहाँकाअनुसार यस लिपिलाई संस्कृत, पाली र नेपाल भाषा लेखनका लागि प्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया