विदुर – यही जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप आइपीभी सुरु हुदैँछ । देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको खोप “आइपिभि” अभियान सञ्चालन हुने भएको हो । सरकारले यसअघि खोप लगाउन छुटेका देशभरिका १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई उक्त खोप लगाउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेको हो ।
आज विदुरमा जनस्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा खोप अभियानका क्रममा नुवाकोटका १२ हजार २८० बालबालिकालाइ पोलियोविरुद्धको आइपीभी खोप लगाइने स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए । उनले यसअघि विश्वबजारमा ‘‘आइपिभि’ खोपको अभाव रहेकाले बालबालिकालाई खोप लगाउन नपाइएकाले तर हाल खोप आएकोले अभियान सञ्चालन गर्न थालिएको जानकारी दिए ।
खोप अभियानमा एक हजार चार सय २१ विद्यालयका अतिरिक्त तीन सय १९ खोप केन्द्र स्थापना गरी खोप प्रदान गरिने बताए । उनले अभियानका लागि तीन सय १९ स्वास्थ्यकर्मी र छ सय ३८ स्वयम्सेविका परिचालन गरिने उनले बताए ।
२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरूलाइ मात्र खोप लगाइनेछ ।
सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया