विदुर – नुवाकोट उद्योग वाणिज्य संघको पहलमा बट्टारमा दशैं, तिहार, छठलगायत चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले शनिबार (आज) देखि सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।
विदुर नगरपालिका-४ हावाघरमा साल्ट ट्रेडिङ कर्पोरेशनको सहकार्यमा सञ्चालनमा आएको सुपथ मूल्य पसलको उद्घाटन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका हुन् ।
अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडवाड अवधिभर यस्ता पसल सञ्चालनमा आउँदा उपभोक्तामा आंशिक राहत पुग्ने संघका अध्यक्ष श्रेष्ठले बताए ।
बाघ बच्छला किराना स्टोरमा सुरु भएको सुपथ पसलमा प्रचलित मूल्यभन्दा दुईदेखि ४३ रुपैयाँसम्म छुट दिएको छ । खानेतेल, चिउरा, मैदा, आटा र दालमा ७/७ रुपैंया सहुलियत छ भने खानेनुनमा प्रति प्याकेट रु २ र चिनी प्रति किलोग्राममा ४३ कम मुल्यमा पाईने छ।
पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने साल्ट ट्रेडिङ कर्पोरेशनको उद्देश्य छ।
चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।
प्रतिक्रिया