नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा नीति र नेतृत्वको परिवर्तनको मुद्दाले व्यापक चर्चा पायो । काँग्रेसमा नीति र नेतृत्वको बहस घनिभूत हुँदा चौधाैं महाधिवेशनबाट युवा पुस्ताका गगन थापा र विश्वप्रकास शर्मा महामन्त्री जस्तो महत्वपूर्ण पदमा विजयी भए । युवापुस्ताको पुस्तान्तरण र नीति परिवर्तनको चाहनालाई मुखरित गर्न दुई उदाहरणीय पात्रको चयनले केही परिवर्तनको नयाँ सन्देश काँग्रेसमा सञ्चार गरेकै हो । तर यससँगै महाधिवेशनबाट पुनःदोस्रो कार्यकालका लागि वर्तमान सभापति शेरबहादुर देउवा नै चयन भए । उनीसँगै दर्जनौ पुराना पुस्ताका नेताहरुले केन्द्रीय कार्यसमितिमा निर्वाचित हुनुले पार्टी सञ्चालनमा युवा र पुराना अनुभवी नेतृत्वको सहकार्यबाट अगाडि बढ्नुपर्ने सन्देश पनि महाधिवेशनले निर्देश गरेको यथार्थ हो । यसकारण काँग्रेसमा नीति र नेतृत्वको परिवर्तन क्रमिक रुपमा हुनुपर्छ भन्ने थियो, चमत्कारिक रुपमा परिवर्तन खोजिएको भन्ने होइन । यही मनोभावनालाई पछिल्लो अवस्थामा काँग्रेस महामन्त्रीद्वयका कार्यशैलीहरुले नेतृत्व परिवर्तनलाई लिएर निर्विकल्प उदाहरण पेश गर्नु बाञ्छनीय हुँदैन । किनभने नेतृत्व परिवर्तन एउटा राम्रो र लोकप्रिय एजेण्डा बनेकोमा दुईमत होइन, बन्नु पनि हुँदैन । तर यथार्थ भनेको जनमत हो । तर पार्टी सभापति एवम् प्रधानमन्त्रीको अस्तित्वमाथि यतिबेला चौतर्फी रुपमा असफल र असक्षमताको प्रश्न काँग्रेस पार्टी भित्रै उठ्नु र हौवा उडाउने कार्य जिम्मेवार नेताबाट हुनु अनुचित व्यवहार हो ।
केही दिन अघिमात्र सामाजिक सञ्जालमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवासँगको व्यङ्ग्य र ठट्टा महामन्त्री विश्वप्रकास शर्माले सामाजिक सञ्जालमा भाइरल गराए । विश्वकप फुटबलमा पाँच पटकको विजेता ब्राजिल पराजित भएको कुरा उदाहरण प्रस्तुत गरेर सभापति देउवालाई कटु व्यंग्य गरेको कुरा सामाजिक सञ्जालमा आयो । पाँचौ पटक प्रधानमन्त्री भइसकेका देउवा अब पराजित हुन सक्छन् भनेर खरो कटाक्ष गरेर सामाजिक सञ्जालमा हौवा पिट्न महामन्त्री जस्तो पदको जिम्मेवारी बोकेका शर्मालाई सुहाउने कुरा होइन । देउवा पार्टीका सभापति मात्र होइनन् देशको प्रधानमन्त्री पनि हुन् । एउटा जिम्मेवार पदमा बसेका व्यक्तिसँग भएका कुरा यसरी हल्का रुपमा भाइरल गराउनु उचित राजनीतिक संस्कार होइन । कुरा नीति र नेतृत्व परिवर्तनको हो । यसकारण परिवर्तन नीति र नियमसङ्गत नै हुनुपर्छ, हल्ला पिटेर खोज्नु पनि हुँदैन । पछिल्लो समय निर्वाचनको परिणाम आएपछि काँग्रेस भित्र संसदीय दलको नेता चयनलाई लिएर दौडधुप चलिरहेको छ । संस्थापन पक्षबाट सभापति देउवाले उम्मेदवारी दिने भनिरहेको अवस्थामा महामन्त्री शर्माले यस्तो विषय सामाजिक सञ्जालमा राख्नुले उनको मनसाय स्पष्ट बुझिन्छ । संसदीय दलको नेता चयनलाई लिएर शर्माले अर्का महामन्त्री गगन थापालाई सघाउने बताउँदै आएका छन् । अबको प्रधानमन्त्री गगन थापालाई बनाउने भनेर उनले भन्दै अएका छन् । यसै परिप्रेक्षमा सभापतिसँगको छलफललाई व्यंग्यको रुपमा उपयोग गरेर आम जनतामा कटाक्ष प्रस्तुत गर्नु अनुपर्युक्त हुन्छ ।
काँग्रेसमा चौधौं महाधिवेशनदेखि नै नेपाली कँग्रेस र समग्र देशमै काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा चर्चामा छन् । महाधिवेशनमा जुन नीति र नेतृत्व परिवर्तनसँगै आम कार्यकर्ता र जनतामा उहाँहरुले देखाएको परिवर्तनको सपना पनि बाँकी नै छ । दुबैले पार्टीको मूल नेतृत्वको कार्यशैलीमा प्रश्न उठाएका छन् तर प्रक्रियाको निर्णायक कदम चाल्न गर्नपर्नेे कार्यान्वयनको पक्षमा खरो उत्रन सकेका छैनन् । काँग्रेसको तल्लो तहसम्म निर्वाचनमा एक्लै लड्नुपर्छ भन्ने मत बलियो भएपनि गठबन्धनकै भारी बोकेर निर्वाचनमा होमियो । पार्टीमा पुस्तान्तरणको मुद्दालाई हरदम पेंचिलो बनाएर पुरानो पुस्तासँगै कुम जोड्ने कार्यशैलीले नीति र नेतृत्व परिवर्तनको व्यवहारिक परिवर्तन तल्लो तहको पार्टीतहसम्म महसुस् गर्न सकिएको छैन । यतिबेला निर्वाचनको परिणाम आइसकेपछि संसदीय दलको नेता चयनको तयारी भइरहेको छ । खुल्ला रुपमै महामन्त्रीद्वयको घोषणा गगन थापालाई प्रधानमन्त्री बनाउन संसदीय दलको नेता चयन गर्ने भनिरहेका छन् । विभिन्न भेटघाट र सहमतिको प्रयास भइरहेको छ । तर गगन संसदीय दलको नेता चयनको दृश्य सार्थक बन्न सकिरहेको छ्रैन । यसको आक्रोश र असन्तुष्टिका व्यवहार र शब्द कटाक्ष वर्तमान सभापति देउवाको विपक्षमा प्रस्तुत गरेर महामन्त्रीहरुले कस्तो राजनीतिक संस्कारको सन्देश दिइरहेका छन् भन्ने प्रश्नहरु उठिरहेका छन् ।
नेपाली काँग्रेसको संसदीय दलको नेताको चुनावी प्रतिष्पर्धामा थुप्रै नेताहरु उत्रने अभ्यासमा देखिएका छन् । संसदीय दलका नेता प्रधानमन्त्री हुने भएकाले प्रधानमन्त्रीका आकांक्षीहरु यतिबेला दलको नेताको प्रतिष्पर्धाको तयारीमा लागेका छन् । सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र महामन्त्री गगन थापा दलको नेता र प्रधानमन्त्रीको आकांक्षी देखिएका छन् । गठबन्धन दलहरु र पार्टीभित्र थुप्रै नेताहरुको कलह साम्य पार्न पनि सर्वसहमति जुटाउन सभापति देउवा दलको नेतामा उम्मेदवार बन्ने बताइरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल यस पटक आफु परीक्षण हुन पाउनु पर्ने भनेर प्रधानमन्त्रीको दावी गरिरहेका छन् भने संस्थापन इतर समुहका मुख्य नेता शेखर कोइराला स्वयम् संसदीय दलको नेता बन्ने तयारीमा छन् । निर्वाचनको परिणामबाट स्पष्ट रुपमा सभापति देउवाकै पक्षमा मत देखिन्छ । ८९ सांसदमध्ये दुई तिहाई मत देउवाकै पक्षमा देखिन्छ । संसदीय दलमा शेखर कोइराला समुहमा करिव ३० मत देखिन्छ । विश्वप्रकास शर्मा र केही युवा नेताहरु गगनको पक्षमा उभिएका छन् । गगनले समुह नेता कोइरालालाई उछिनेर प्रधानमन्त्रीको दावी गर्नुले उनी कोइराला समुहमा नरहेको स्पष्ट भएको छ । यस्तो अवस्थामा कोइरालाले गगनलाई साथ नदिए युवालाई असहयोग गरेको अर्थ लाग्छ भने दलको नेतामा उम्मेदवारी दिए देउवालाई साथ दिएको अर्थ लाग्नेछ । कोइराला समुहका नेताहरु भने गगनलाई नेता बनाउने विषयमा मौन छन् । समग्र सांसद सङ्ख्या आफ्नो पक्षमा नदेखिएको शर्मा र थापा दुबैलाई स्पष्ट छ । तर पनि अहिलेको अव्यवहारिक अभ्यासले काँग्रेसमा युवापुस्ताको नयाँ बेग्लै समूह वा गुट निर्माणको अभ्यासमा महामन्त्री सक्रिय रहेको बुझ्न सकिन्छ ।
संसदीय दलमा अङ्क गणितको महत्व रहन्छ । अङ्क गणित हेर्न हो भने यतिबेला संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बन्ने गगन थापाको सम्भावना देखिंदैन । तैपनि उनी किन प्रधानमन्त्रीको दौडमा छन् भन्ने प्रश्न राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । काँग्रेस देशकै ठूलो लोकतान्त्रिक पार्टी हो । काँग्रेसमा स्पष्ट देखिएका समुहहरुमा गगन थापालाई कहिले सिटौला त कहिले कोइराला समुहमा ‘क्याम्प’ परिवर्तन गरिरहने आरोप लागिरहन्छ । यतिबेला संसदीय दलको नेतामा उम्मेदवार बन्ने घोषणा गरेर शेखर कोइराला समुहमा नरहेको सन्देश दिइरहेका छन् । आगामी महाधिवेशनको लागि नयाँ समुह निर्माण गर्न अहिले दलको नेतामा उम्मेदवारी दिएर प्रधानमन्त्री बन्ने घोषणा गरिरहेको आरोप पनि उनी माथि छ । यो अधैर्यताले राजनीतिमा विश्वासको वातावरण सिर्जना गर्न सक्दैन । समग्र का“ग्रेसभित्र पार्टी एकता र सहमतीमै छ भन्ने सन्देश दिन सभापति देउवालाई नै सर्वसम्मत दलको नेता बनाउने दिशामा अधिकांश नेताहरुको अभिमत देखिन्छ ।
अहिले नेपाली काँग्रेसको नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा, लगायतका दलहरुको गठबन्धन पनि छ । गठबन्धनको पछिल्लो बैठकबाट पुनः गठबन्धनलाई निरन्तरता दिने र आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ । यस्तो अवस्थामा गगन थापा नेतृत्वमा आए गठबन्धनका दलहरुले त्यसलाई आत्मसात गर्ने विषयमा यतिबेला चुनौतीपूर्ण देखिन्छ । अर्कोतर्फ काँग्रेसमा देखिने दुईतीन धारको आन्तरिक टकराव र अभ्यासले पार्टीको एकता कमजोर बन्नसक्ने र पार्टी फुटको संघारमा पुग्न सक्ने भनेर केही काँग्रेसका दिग्गज नेतृत्व सर्वसहमतीमै अघि बढ्नुपर्ने मतमा देखिन्छन् । यो परिप्रेक्षमा गठबन्धन दलहरुलाई सहमति र विश्वासमा लिन र स्थायी सरकार सञ्चालन गर्ने पछिल्लो विकसित परिस्थितिलाई सामना गर्न देउवाको नेतृत्व निर्विकल्प देखिदै गएको छ । नीति, लोकतान्त्रिक विधि र पद्दतिबाट नेतृत्व परिवर्तनको चाहना राख्नु लोकतान्त्रिक दलमा सामान्य कुरा हो । काँग्रेसमा यतिबेला विधानसम्वत र संसदीय निर्वाचनको विधिबाट स्थापित नेतृत्व कायम छ भनेर पनि बुझ्नु उत्तिकै आवश्यक हुन्छ । अहिलेको परिस्थितिमा महामन्त्री द्वयको नेतृत्व परिवर्तनको अप्रत्यासित अभियान स्वयंमकै लागि हठात निर्णय बन्न सक्छ ।
प्रतिक्रिया