२०८०, १६ चैत्र शुक्रबार

गणेशमान सिंह: नेपाली राजनीतिका त्याग र संघर्षका उदाहरण

श्रीराम श्रेष्ठ     आश्विन २ २०७९ १२:२३


ganesh man singh iron man of nepal shreeram-shrestha

नेपाली राजनीतिमा जब त्याग र संघर्षको कुरा आउँछ उदाहरणीय व्यक्तिका रुपमा गणेशमान सिंहको नाम अगाडि आउँछ । राजनीतिमा त्याग र साहसको उच्च व्यक्तित्वको उपमा पाएका सिंह तत्कालीन समयका समकालीन राजनीतिज्ञहरूका बीचमा एक उदाहरणीय व्यक्तित्व र निष्ठाका केन्द्रबुन्दु नै थिए । आज उनै जनआन्दोलनका सर्वोच्च कमाण्डार नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको २५ औं स्मृति दिवस हो । प्रजातन्त्र पुनःस्थापनाका लागि वि.सं. २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको वि.सं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्म भएको थियो भने वि.सं. २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भएका थिए । वि.सं. २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरेकोमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारे । प्रधानमन्त्री बन्ने ठूलो अवसरलाई व्यक्तिगत सफलताको अवसर नमानेर देश र राजनीतिक एकताको लागि अवसरको रूपमा प्रस्तुत गरेर उनले नेपाली राजनीतिमा त्यागको उच्चतम नमूना प्रस्तुत गरेका थिए ।

तत्कालीन जहानीया राणा शासन अन्त्य गर्ने अभियानमा सक्रिय भएपछि उनीलगायत नेताहरुलाई तत्कालीन सरकारले जेल हाल्यो । वि.सं. २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बि.पी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरेका थिए । केही सहयोगीका साथ २००३ मा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ । प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित उनी सैद्धान्तिक हिसाबले बि.पी.का अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहेको उनको नेपाली काँग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशीलता देखिन्छ ।

वि.सं. २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको गणेशमान सरकारमा वरिष्ठ मन्त्री बनेका थिए । वि.सं. २०१७ मा प्रजातन्त्र अपहरण भएपछि पुनः आठ वर्ष निरन्तर सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनु प-यो । वि.सं. २०२५ मा बि.पी.सँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्न सिंहले सक्रिय भूमिका निर्वाह गरे । वि.सं. २०३३ मा बि.पी.सँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्धको अभियानमा होमिएका थिए । फेरी वि.सं. २०१७ पुस १ मा शाही ‘कू’ पछि २०२५ सम्म उनलाई बि.पी. कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । वि.सं. २०२५ मा जेलमुक्त भएपछि बि.पी.सँगै भारत निर्वासनमा गएका नेताहरूलाई २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक राखियो । तत्कालीन पञ्चायती सरकारले बि.पी.सँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि गणेशमानले २०३६ मा विद्यार्थी आन्दोलन र जनमत सग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । बि.पी.को निधनपछि काँग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरेका थिए ।

सदन, सरकार र राजनीतिक दलहरू भित्र सत्ता र स्वार्थका लागि गुट, उपगुट र फुटको राजनीति मौलाउँदै गएको देखिन्छ ।

सर्वोच्च कमाण्डर गणेशमान सिंहले राजनीतिमा देखाएको त्याग, संघर्ष र राष्ट्रिय एकताको लागि खेलेको भूमिका प्रशंसनीय र आज पनि उदाहरणीय छ । राष्ट्रिय एकताका लागि उनले लिएका कदमहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । तर वि.पी. र गणेशमान सिंहले देखाएको राजनीतिको लक्ष्यमा पुग्ने मार्ग यतिबेला सही र सहज देखिदैन । सदन, सरकार र राजनीतिक दलहरू भित्र सत्ता र स्वार्थका लागि गुट, उपगुट र फुटको राजनीति मौलाउँदै गएको देखिन्छ । जसरी पनि सत्ता र पहुँचमा पुग्ने दौडले राजनीतिमा क्षमता र त्याग भएकालाई भन्दा आफन्त र आर्थीक रूपमा सम्पन्न भएकालाई अवसर मिल्ने प्रवृत्ति सबै राजनीतिक दल र क्षेत्रहरूमा देखा परेको छ । मुलुकमा राजनीतिक गुट र फुटको संघर्षले अन्तरपार्टी संगठनमा एकताको कमी देखिन्छ । नेपाली काँग्रेस भित्रनै गुटगत राजनीतिको अन्त्य हुन सकेको छैन । गणेशमानले पनि पार्टी राजनीतिमा फरक मत र कार्यदिशा स्पष्ट रूपमा राख्ने गर्दथे । तर उनले पार्टीको निर्णय र कार्यदिशालाई हरहालतमा सदैब पालना गरे । पार्टी निर्णय र प्रजातन्त्रको बिरुद्धमा कुनै कार्य गरेनन् । पार्टीभित्र एकता कायम रहोस् भन्ने हेतुले पदीय र अवसरलाई पनि मेलमिलाप र राष्ट्रिय एकतासँग जोड्ने प्रयास गरेको उदाहरणहरु थुप्रै छन् । तर आज उनै गणेशमानहरुले बनाएको नेपाली काँग्रेसको आदर्शलाई पार्टीका नेताहरूले जोगाउन कठिन परिरहेको छ । पार्टीभित्र नेतृत्व र प्रतिपक्षको टकराव अस्वभनीय र अनुचित प्रकृतिको देखा पर्दछ । पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको छ । यस्तो प्रवृत्तिको सुधार नेपाली काँग्रेस र अन्य फुटको समस्या भोगेका राजनीतिक शक्तिहरुले पनि मनन् गर्नुपर्ने अवस्था देखिन्छ ।

वर्तमानमा गठबन्धन र गठबन्धनको समीकरणमा निर्वाचनमा अघिबढ्नु सहमति र सहकार्यको राजनीतिलाई अघि बढाउनु हो, जुन त्याग र राष्ट्रिय एकताको सन्देश गणेशमान सिंहको संघर्षशील जीवनबाट पाठ सिक्न सकिन्छ ।

मुलुक अहिले संघीय निर्वाचनतर्फ अग्रसर भइरहेको छ । प्रतिनिधि सभाको अन्त्य भएको छ । जनताको अधिकार र सार्वभौमिकताको प्रतिक संसद दुई पटक विघटन गरेर उत्पन्न परिस्थितिमा नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन अर्थात् राजनीतिक समीकरण निर्माण गरिएको थियो । सोही गठबन्धनको नेतृत्व गरेर अहिले नेपाली काँग्रेसले सरकार संञ्चालन गरिएको छ । संघीय लोकतान्त्रिक व्यवस्था नै अप्ठेरोमा परेको अवस्थामा नेपाली काँग्रेसले नेतृत्व लिएर देशलाई पुनःजनताको सार्वभौम अधिकार उपभोग गर्ने थलो संसद्को निर्वाचन गर्ने गहन जिम्मेवारी स्वरूप निर्वाचनको बाटोमा मुलुक अघि बढिसकेको छ । वर्तमानमा गठबन्धन र गठबन्धनको समीकरणमा निर्वाचनमा अघिबढ्नु सहमति र सहकार्यको राजनीतिलाई अघि बढाउनु हो, जुन त्याग र राष्ट्रिय एकताको सन्देश गणेशमान सिंहको संघर्षशील जीवनबाट पाठ सिक्न सकिन्छ । अहिले यस्तै राष्ट्रिय राजनीतिलाई मुल प्रवाहमा अघि बढाउन, संसदीय मुल्य मान्यता र लोकतान्त्रिक व्यवस्थाको संरक्षण र संवद्धको राष्ट्रिय सहमति, सहकार्यको राजनीतिलाई अँगाल्नु बाहेक अरु सही उपाय केही छैन । पार्टी संगठन, गठबन्धन, नीति मुल्य र मान्यताको सही रूपमा पालना गर्ने र मुलुकको सर्वागिण हितलाई केन्द्रमा राखेर राजनीति गर्ने उदाहरण र प्रेरणा गणेशमान सिंहको जीवनबाट सिक्नु पर्दछ । तबमात्र उनी प्रतिको सच्चा सम्मान गरेको ठहरिन्छ । लौह पुरुष, जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २५ औं स्मृति दिवसको सन्दर्भमा उनलाई स्मरण गरेर राजनीतिलाई देश, जनता र लोकतन्त्रको संस्थागत गर्ने दिशातार्फ अग्रसर हुन सबैमा प्रेरणा मिलोस् ।

लेखक नेपाली काँग्रेस नुवाकोटका सचिव हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top