+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेश अन्तरपालिकास्तरीय भलिबल: उपाधिका लागि सिद्धलेक र खनियाबास भिड्ने

सुनील श्रेष्ठ
१ घण्टा अगाडी

११ वैशाख, नुवाकोट । सामरीमा जारी चौथो संस्करणको बागमती प्रदेश अन्तरपालिकास्तरीय म्यागङ गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा धादिङका दुई टोली सिद्धलेक र खनियाबास गाउँपालिका प्रवेश गरेका छन्।

म्यागङ गाउँपालिकामा सञ्चालन भइरहेको प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल चरणका खेलहरूमा आ-आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै यी दुई टोलीले उपाधि भिडन्त पक्का गरेका हुन्।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सिद्धलेक गाउँपालिकाले आयोजक म्यागङ गाउँपालिका (क) सँग प्रतिस्पर्धा गरेको थियो। घरेलु मैदान र समर्थकहरूको ठूलो साथ पाएको म्यागङलाई कडा चुनौती दिँदै सिद्धलेकले जित निकालेर फाइनलको यात्रा तय गर्‍यो। सिद्धलेकले म्यागङलाई २६-२४, २५-१२, २५-१९ र २५-२२ सेटमा हराउँदै फाईनल प्रवेश गरेको हो।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा रसुवाको नौकुण्ड गाउँपालिका र धादिङकै खनियाबास गाउँपालिकाबीच रोचक भिडन्त भएको थियो। उक्त प्रतिस्पर्धामा नौकुण्डलाई पाखा लगाउँदै खनियाबासले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। खनियाबासले नौकुण्डलाई २५-१५, २५-१८ र २५-१६ सोझो सेटमा हराउँदै फाईनल प्रवेश गरेको हो।

उपाधिका लागि छिमेकी जिल्लाकै दुई पालिकाहरूबीच मैदानमा कडा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको समापन समारोहलाई विशेष बनाउन सम्पूर्ण तयारी पुरा गरेको ५ नम्बर वडाका अध्यक्ष तथा संयोजक प्रतियोगिता जीतबहादुर तामाङले जानकारी दिए । प्रतियोगिताको समापन बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण तथा समापन कार्यक्रम सम्पन्न हुने उनले जानकारी दिए ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ३ लाख ३४ हजार ३३३ रुपैयाँ, २ लाख २३ हजार ३३३ रुपैयाँ र १ लाख १२ हजार २२२ रुपैयाँ नगदसहित तक्मा, प्रमाणपत्र र शिल्ड प्राप्त गर्नेछन्। सान्त्वना स्थान हासिल गर्ने पालिकालाई ५६ हजार ६६६ रुपैयाँ प्राप्त  गर्नेछन् ।

उत्कृष्ट खेलाडीहरूलाई विधागततर्फ ५ हजार ६६६ रुपैयाँ नगदसहित तक्मा र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।

स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने र पालिकाहरूबीच आपसी भाइचारा बढाउनुको साथै खेलसँगै पर्यटन क्षेत्रमा बढावा दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

म्यागङ अध्यक्ष कप भलिबल: क्वार्टरफाइनल समीकरण पूरा

म्यागङमा प्रदेशस्तरीय ‘अध्यक्ष कप’ भलिबल प्रतियोगिता सुरु हुँदै: यस्तो छ खेल तालिका

बागमती प्रदेश अन्तरपालिकास्तरीय पुरुष भलिबल वैशाख ७–१२ मा

प्रतिक्रिया

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ