२०८०, २४ जेष्ठ बुधबार

मानिस मृत्यूसँग किन डराउँदछन्?

उदय रानामगर     जेष्ठ १७ २०७९ १६:००

udaya rana mager china trade ambassador nuwakot new
Diyo Pathshala Montessori

१. पृष्टभूमीः

मानविय जीवन अमूल्य छ । अमुल्य भएकै कारण हरेक मानिसले धेरै बर्ष बाच्ने चाहना राख्दछन् । मानिसको जीवनको सन्दर्भमा सदगुरुको भनाई अनुसार मानिस जीवन वा भौतिक शरिर तपाइको लागि बाह्य कुरा मात्र हो । त्यसैलाई तिमी जीवन भन्दछौ । तिम्रो शरिरमा विचार, भावना, दर्शन, धर्म र पूर्वाग्रहको बादलले यति ढाकेको हुन्छ कि यो मनोवैज्ञानिक नाटकले जीवन प्रक्रियालाई नै पूर्ण रुपमा ढाकेको हुन्छ । त्यसैलाई मानिसहरुले ठूलो मात्रामा जीवन मान्छन् तर बुझ्नपर्ने कुरा भनेको ती मानिसले मानेको जीवन भनेको उसको जागिर, व्यवासाय, परिवार, सम्पत्ति तथा पदको मात्र कुरा हुन र त्यो बाह्य कुरा मात्र हो भनेका छन् । तर पनि मानविय मूल्यको महत्वलाई कम आक्न सकिदैन ।

विश्वको समग्र विकास प्रक्रियामा मानव जिवन महत्वपूर्ण रहीआएकोछ । प्रत्येक देशले स्वस्थ्य र सुरक्षित नागरिकको निर्माणलाई प्राथमिकतामा राखेको हुन्छ । उनीहरुले जनताको जिवन बचाउन ठूलो रकम विनियोजन गर्ने गरेको हुन्छ । तथापि प्रकृतिको आफ्नै नियम छ । मानिस जन्मेपछि मर्ने गर्दछ । सरकारले आफ्ना नागरिकलाई एउटा निश्चित समयसम्म मात्र सुरक्षित राख्न सक्दछ अर्थात मानव जिवन अस्थायी रुपमा मात्र सुरक्षित हुन सक्छ अनन्तसम्म होइन । निश्चित समय पश्चात मानिस मर्दछ यो धुब्रसत्य हो । मानिसको मृत्युको विषयमा विभिन्न परिभाषित गरेको छ ।

सेटिन (२०१५) का अनुसार मृत्यूलाई मानिसको जिवनको अन्त्य, जिवन अस्तित्वको अन्त्य वा मानिसको सम्पूर्ण कार्यहरुको अन्त्य भनेका छन् ।

दार्शनिक रजनिश ओसोका अनुसार मृत्यूलाई एक शरीरबाट अर्को शरीरमा आत्माको स्थानान्तरण हो वा एक मानिस ब्रमाण्डमा पूर्ण रुपमा जागृत हन्छ । यो महान यात्रा हो तर तपाईले यसलाई बाहिरबाट थाह पाउन सक्नुहुन्न भनेका छन् । बाहिरबाट केवल लक्षणहरु उपलव्ध हुन्छ र ती लक्षणहरुको कारण मानिसलाई डराउछन् । जस्ले मृत्यूलाई भित्रबाट चिनेको हुन्छ उ मृत्यूसंग धेरै डराउदैन भनेको छ । उनका अनुसार मृत्यु एक शाश्वत झुट हो अर्थात मृत्य जस्तो कुनै यथार्थ यो दुनियाँको अस्तित्वमा छैन । मृत्य एक शाश्वत सत्य हो । मृत्य अवश्यम्भावी छ । मृत्यबाट भाग्न सकिदैन ।

बिरोल, (२००३) का अनुसार मेडिकल साइन्सको आधारमा दिएको परिभाषा अनुसार मृत्यूलाई मानिसको ह्रिदय र मस्तिष्कको कार्यहरुको अपरिवर्तनीय अन्त्यको रुपमा परिभाषित गरेको पाइन्छ ।

मृत्यूसंग किन डराउदछन् भन्ने सम्वन्धमा विगतमा भएका अध्ययनको नतिजालाई केलाउदा जेड वू (२०२०) मा एक क्लिनिकल स्वास्थ्य मनोवैज्ञानिकको रूपमा फिजियोलोजी टुडे अनलाइनमा उल्लेख गरिएको छ कि, त्यहाँ केहि यस्ता अवस्थाहरु हुन्छन् जसको कारणले मानिस मृत्युसँग डराउने गर्दछ । ती अवस्थाहरुमा वृद्ध मानिसहरू, राम्रो शारीरिक स्वास्थ्य भएका मानिसहरु, र धार्मिक विश्वास राख्ने मानिसहरू मृत्यु संगको कम डराउछन् भन्ने निष्कर्ष निकालेका छन् ।

चैपम्यान युनिभर्सिटीद्वारा संचालित २०१७ मा गरिएको अमेरिकी डरको सर्भेक्षण अनुसार, २०.३ प्रतिशत अमेरिकीहरू मर्नबाट धेरै डराउने देखिएका छन् । त्यहा अपरिचित व्यक्तिद्वारा हत्या १८.३ प्रतिशत र चिनेकै व्यक्तिबाट ११.६ प्रतिशत हत्या हुने गरेको अध्ययनमा देखाएको छ ।

मृत्य सत्य हो र सवै मानिस निश्चित समय पछि मृत्यु भइ जानुपर्छ भन्ने सास्वत सत्य हुदा हुदै पनि डराउदछन् र सधै भाग्न खोजिरहेको हुन्छ । मानिसहरु कोही बढी डराउदछन् भने कोही कम । यो अवस्था किन आउछ भनी नेपाल समाजको सन्दर्भमा पनि अध्ययन गर्न आवश्यक छ ।

२. अध्ययनको उदेश्यः

विभिन्न विद्धान र अध्ययनको समीक्षालाई अवलोकन गर्दा मृत्यु सत्य हो र यो मानव जीवनको अन्तिम भाग पनि हो । तर, यो सत्य प्रति मानिसहरु बढी डर मान्दछन् । यो सन्दर्भमा नेपालीहरुमा मृत्यूसंगको डरको अवस्था कस्तो छ ? भनेर अध्ययन गर्न आवश्यक देखिन्छ । नेपालीहरु व्यक्तिगत विशेषता र मृत्यप्रतिको डर, स्वास्थ अवस्था र मृत्यप्रतिको डर, शैक्षिकस्तर र मृत्यप्रतिको डर, आर्थिक अवस्था र मृत्यप्रतिको डरको सम्वन्धको बारेमा यस अध्ययनको मूख्य मूख्य उदेश्य रहेका छन् ।

३.अध्ययनको विधिः

अध्ययनका लागि मूलतः नेपाली समाजका विभिन्न तहका २२५ जना मानिसहरु जो सामाजिक सन्जालमा जोडिएका छन् उनीहरुबाट संकलन गरिएको थियो । त्यसको लागि १० वटा प्रश्न सहितको प्रश्नावली तयार गरी उत्तर संकलन गरिएको थियो ।
सर्भेको लागि सर्भे मंङकी नामक सफ्टवेयर मार्फत तथ्यहरुको संकलन गरिएको थियो । यसरी प्राप्त तथ्याकंलाई बणात्मक विधिको प्रयोग गरेर विश्लेषण गरिएको छ ।

४. अध्ययनको नतिजाः

क. व्यक्तिगत विशेषताहरू र मृत्युको डर बीचको सम्बन्ध
सर्भेमा सहभागि ४० वर्षभन्दा कम उमेरका व्यक्तिहरू ३९ प्रतिशत मात्र थिए । ती मध्ये ६१ प्रतिशत मानिस मृत्युसंग डराएको पाइएन भने ४० वर्षभन्दा माथिका १५० जना अर्थात ७० प्रतिशत मानिस भने मृत्युसंग डराएको देखियो । यसको मतलब कम उमेर भएका मानिसहरुमा कम डर र बढी उमेरका मानिसमा बढी डर भएको देखियो । यो सम्वन्ध एकअर्कासँग सकारात्मक रहेको पाइयो । यो नतिजालाई अनुसार नेपाली समाजलाई नजिकबाट अवलोकन गर्दा सामान्य नै देखिन्छ । समाजलाई नजिकबाट अवलोकन हेर्ने हो भने अधिकांश वृद्धवृद्धा मृत्युसँग डराउँदै आएको पाउदछौ ।

अध्ययनमा पुरुषको तुलनामा महिलाहरूमा मृत्युको डर बढी रहेको देखियो । तथ्याङ्क हेर्दा समग्र सर्वेक्षणमा १८६ पुरुष सहभागी थिए भने सबैभन्दा बढी पुरुषले आफूलाई मृत्युको डर कम रहेको र बाँकी महिलालाई बढी डर भएको पाइयो । नेपाली समाजको परिप्रेक्ष्यमा यो सामान्य देखिन्छ । यो समाजको बनौट पितृसतात्मक भएकै कारण यो परिणाम आएको अनुमान गर्न सकिन्छ ।

अध्ययनको अर्को पाटो बैबाहिक स्थिति र मृत्युसंगको डरलाई हेर्दा सर्भेक्षणमा सहभागि अविवाहित व्यक्तिहरूको संख्या थोरै रहेको थियो, तर तिनीहरूमध्ये बहुसख्यक मानिसलाई मृत्युसंग कम डर भएको पाइयो तर विवाहित व्यक्तिहरूमा भने अविवाहितको तुलनामा बढी डर भएको पाइयो । यो बढ्दो उमेरको कारण हुन सक्छ र उनीहरूले आफ्नो परिवार र समाजप्रति बढी जिम्मेवारी जिम्मेवारी महशुस रहकै कारण अविवाहित भन्दा बढी डराएको अनुमान गर्न सकिन्छ ।

ख. शिक्षाको स्तर र मृत्युको डर बीचको सम्बन्ध
अध्ययनमा व्यक्तिले हासिल गरेको शिक्षाको स्तर र मृत्युसंगको डरलाई हेर्दा दुबै चरहरू एक आपसमा सहसम्वन्ध रहेको देखियो । उच्च शिक्षा भएका मानिसहरु अशिक्षित व्यक्तिको तुलनामा बढी डराउने गरेको पाइयो । उच्च शिक्षा हासिल गरेको मध्ये ६५ प्रतिशतलाई मृत्यसंग डर भएको पाइयो भने अशिक्षितहरुमा ४० प्रतिशत मात्र डर भएको देखियो । यो नतिजाले नेपालमा साक्षर व्यक्तिको तुलनामा शिक्षित व्यक्तिहरु मृत्युसंग बढी डराउछन् भन्ने देखिन्छ ।

ग. शारीरिक स्वास्थ्य र मृत्युको डर बीचको सम्बन्ध
मानिसको स्वास्थ्य दिर्घजिवनको लागि अनिवार्य शर्त हो । एउटा स्वास्थ र अस्वस्थ मानिस मध्ये को बढी मृत्युसंग डराउदछन् भनी गरिएको सर्भेको नतिजा अनुसार स्वास्थय व्यक्तिहरु मध्ये ६७ प्रतिशत मानिसहरूमा मृत्युको डर नभको र ३३ प्रतिशतमा मात्र डर भएको देखियो । त्यसैगरी अस्वस्थ मानिसहरु मध्ये ६९ प्रतिशतमा मृत्यु देखि डर रकेको छ भने ३१ प्रतिशतमा डर नभएको पाइयो । यसले के देखाउँछ भने स्वस्थ मानिसको तुलनामा अस्वस्थ मानिसमा मृत्युको डर बढी हुदो रहेछ भन्ने देखियो ।

घ. पेशा र मृत्युको डरसँगको सम्बन्ध
अध्ययनबाट कृषि पेशामा संलग्न रहेको मध्ये ५६ प्रतिशत, रोजगरी क्षेत्रमा सम्लग्नमा ६५ प्रतिशत, र व्यापार तथा व्यावसायमा सम्लग्न मध्ये ६० प्रतिशतमा मृत्यु देखि डरको भावना रहेको पाइयो । यसले रोजगारी क्षेत्रको तुलनामा कृषि, व्यापार तथा उद्योग क्षेत्रमा सम्लग्न मानिसहरुमा डर कम रहेको देखिन्छ । यसबाट के भन्न सकिन्छ भने कृषि क्षेत्रमा सम्लग्न मानिसमा चेतनाको कमीको कारण र उद्योग व्यापारमा सम्लग्न मानिसमा रोग लागेको खण्डमा सजिलै स्वास्थ उपचार प्राप्त गर्न सक्ने भएको कारण रोजगारीमा सम्लग्न मानिसभन्दा तुलनात्मक रुपमा कम डर भएको हो भनेर अनुमान गर्न सकिन्छ ।

ङ. आर्थिक स्थिति र मृत्युको डरसँगको सम्बन्ध
अध्ययनमा आर्थिक अवस्था र मृत्युसंगको डरलाई हेर्दा निम्न बर्गमा ५८ प्रतिशत, मध्यम बर्गमा ६४ प्रतिशत र उच्च बर्गमा ८० प्रतिशत मानिसमा मृत्यूसंग डराएको देखियो । यसबाट के देखिन्छ भने तल्लो वर्गका मानिसहरूको तुलनामा राम्रो आर्थिक स्थिति भएका मानिसहरू मृत्युसँग बढी डराउँने रहेछन् भन्ने देखिन्छ ।

५. निचोड

यो अध्ययनको समग्रतालाई हेर्दा नेपाली समाजमा रहेका मासिनहरुमा विशेषत बढी उमेरका मानिसहरु कम उमेरको तुलनामा बढी डराउने रहेछन् । त्यसैगरी, पुरुषको तुलनामा महिलाहरु बढी डराउने गरेको देखियो । अविवाहित मानिसको तुलनामा विवाहितहरूमा बढी डर रहेको पाइयो । साक्षर मात्र भएका मानिसको तुलनामा उच्च शिक्षा हासिल गरेका मानिसमा बढी डर भएको पाइयो । स्वस्थ मानिसको तुलनामा अस्वस्थ व्यक्तिहरुमा मृत्युसंग बढी डर भएको पाइयो । त्यसैगरी कृषि, व्यापार र उद्योग क्षेत्रमा संलग्न व्यक्तिहरू रोजगारी मात्र भएका व्यक्तिहरूको तुलनामा कम डराएको पाइयो । निम्न बर्गको मानिसहरुमा मध्यम तथा उच्च बर्गको आर्थिक अवस्था भएका भन्दा कम डराउने गरेको अर्थात कमजोर आर्थिक अवस्था भएकाको तुलनामा राम्रो आर्थिक अवस्था भएका मानिसहरू मृत्युसँग बढी डराउँछन् भन्ने देखिन्छ ।

अध्ययनको नतिजालाई हेर्दा मृत्यूदेखि डराउनेहरुमा बढी उमेर भएका, आर्थिक रुपले सम्पन्न, विवाहितहरु, अस्वस्थ र शिक्षित मानिसहरु बढी रहेको पाइयो । यो नतिजाले समाजसंग बढी सम्वन्धित तथा आफूलाई बढी उत्तरदायी भएका महशुस गर्ने व्यक्तिहरु बढी सख्यामा डराएको देखिन्छ । डर आफैसंग भन्दा पनि आफ्नो ज्ञान नष्ट हुने, आफूले आर्जन गरेको धनको उपयोग आफैले गर्न नपाउने, पदको उपयोग गर्न नपाउने जस्ता तत्वहरु प्रतिको लोभ, मोह र भोगको कारण मानिस बढी डराउने गरेको देखिन्छ । साथै व्यक्तिलाई समाज, परिवार, सम्पत्ति, पद तथा प्रतिष्ठा जस्ता तत्वले कमजोर बनाउने भएकै कारण उनीहरुमा बढी डर सिर्जना हुने गरेको पाइयो ।

अतः मानिसमा मृत्यू देखि लाग्ने डर कम गराउनको लागि मानिसमा हुदै आएको लोभ, मोह, भोगको चाहनालाई घटाउनु पर्छ । त्यसको लागि व्यक्तिलाई प्राकृतिक मानवको रुपमा परिणत हुनुपर्छ । मानिस जन्मदा जस्तो अवस्थामा आएको र मृत्यूपश्चात पनि त्यो भन्दा बढी केही लान सक्दैन र पाउदैन भन्ने कुराको विश्वास दिलाउनु पर्छ । समाजमा मृत्यू सत्य हो अरु सवै मिथ्या हो भन्ने कुराको बोध गराउनु पर्छ । समाजमा मृत्यूलाई सहज रुपमा लिने संस्कार विकासको लागि मृत्यू उत्सव मनाउने सस्कारको विकास गर्ने, जिवनलाई नियन्त्रणमा लिने कोशिस गर्ने, मृत्यू प्राकृतिक हो भनेर स्वीकार गर्ने, आध्यामिक ध्यान योग गर्ने, विगतमा गरेका राम्रा र नराम्रा कामको समिक्षा गर्ने गर्नुपर्दछ । यसो गर्न सकिएको खण्डमा हरेक मानिसले मृत्यूलाई सहज रुपमा लिनेछन् र समाजमा एन्जाइटी ग्रस्त रोगीहरुको सख्या घटाउन समेत सहयोग पुग्न जानेछ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top