विदुर – एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले आह्वान गरेको नेपाल बन्दको प्रभाव नुवाकोटमा न्यून देखिएको छ ।
जिल्ला भित्रिने र बाहिरिने यात्रुवाहक सार्वजनिक सवारीसाधनहरु बिहानैदेखि बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । निजी तथा ढुवानीका सवारीसाधन फाट्टफुट्ट चलिरहेका छन् ।
शैक्षिक क्षेत्रका केहि मात्र विद्यालयहरु बिहानैदेखि संचालनमा रहेका छन् । सदरमुकाम विदुर, बट्टार, त्रिशुली लगायतका बजारका पसल भने खुल्ला छन् । अन्य सवारीसाधनहरु अघिल्ला दिनहरुको तुलनामा केही कम रहे पनि अवस्था सामान्य रहेको जनाएको छ ।
बन्दको पूर्वसन्ध्यामा विदुरमा मसाल जुलुस निकालेका थिए । बन्दकर्ताहरु सडकमा देखिएका छैनन् ।
गृह मन्त्रालयले कानुन विपरीतका गतिविधि हुन नदिन सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया