नुवाकोट – डिजिटल वालेट ई-सेवामा ‘सेक्युर्ड ट्रान्सफर’ सेवा ल्याएको छ । नेपालमा पहिलोपटक ई-सेवाले सुरक्षित कारोबार उपलब्ध गराएको हो ।
यो सुविधाबाट ई-सेवा प्रयोगकर्ताले अर्को ई-सेवा वालेटमा सुरक्षित रूपमा पैसा पठाउन सक्ने छन् । यो फिचर एक हजारभन्दा माथिको रकम पठाउँदा प्रयोग गर्न सकिने छ । सुरक्षित कारोबार सुविधाबाट ई-सेवाले मिडियटरको रूपमा काम गर्न वा ग्राहकको रकमको ग्यारेन्टी बस्न खोजेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत आशिष गौतमले बताए ।
यदी तपाईले सेक्युर्ड सुविधा प्रयोग गरेर पैसा पठाउनु भयो भने तपाईले सामान पाएपछि मात्रै उक्त रकम रिलिज गर्न सक्नु हुनेछ । सामान प्राप्त भइसकेपछि पैसा पाउने व्यक्तिले रिक्वेस्ट बटनमा क्लिक गर्नेछ, त्यो सूचना पैसा पठाउने व्यक्तिलाई जानेछ । सामान वा सेवा पाएपछि मात्रै पैसा पठाउने व्यक्तिले उक्त रकम रिलिज गर्नेछ । साथै यदि सामान पठाएको र नपाएको विवाद भएमा प्रमाणसहित जाहेरी गर्न सकिने छ । यसले असुरक्षित कारोबार पनि कम गर्ने ई-सेवाको विश्वास छ । यो सुविधा ई-सेवाको वेब भर्सन र मोबाइल एप दुवैमा उपलब्ध रहेको।
यो फिचर सःशुल्क उपलब्ध रहेको छ । एक हजारदेखि पाँच हजारसम्मको कारोबार गर्दा पाँच रूपैयाँ शुल्क लाग्ने छ भने पाँच हजारदेखि माथिको पैसा पठाउँदा १० रूपैयाँ सेवा शुल्क लाग्नेछ ।
तर यदि सामान नपाएको र पठाएको विवाद भएमा त्यस्तो अवस्थामा सय रूपैयाँ शुल्क लाग्नेछ । यो स्वचालित वा आफ्नै नियन्त्रणको रुपमा प्रयोग गर्न सकिने छ । यदि तपाईले नचिनेको व्यक्तिलाई पैसा पठाउँदै हुनुहुन्छ भने सेक्युर्ड ट्रान्सफर फिचर प्रयोग गर्न इसेवाले आग्रह गर्नेछ ।
प्रतिक्रिया