-बटुराम भण्डारी
जसले श्राद्धको महिमा नबुझेर श्राद्ध गर्दैन त्यसलाई मूर्ख भनिन्छ ।
श्रद्धा शब्दबाट नै श्राद्ध शब्दको निर्माण भएको हो । मृत पितृगणको. उद्देश्यले श्रद्धापूर्वक गरिने कर्मविशेष नै श्राद्ध हो । पराशर महर्षिका मत अनुसार देश काल र परिस्थिती अनुसार जौ तिल कुश आदिले मन्त्रद्वारा श्रद्धापूर्वक आफ्ना पूर्वजका नाममा जे जस्तो अर्पण गरिन्छ त्यो नै श्राद्ध हो । महर्षि मरीचिका अनुसार आफूलाई सबैभन्दा मनपर्ने भोजन श्रद्धापूर्वक आफ्ना पितृको नाममा अर्पण गर्नु नै श्राद्ध हो । बृहस्पतिका अनुसार श्राद्धका लागि दूध घिउ र दहिमा बनाईएको भोजन जसलाई सबैभन्दा उत्तम विधिद्वारा स्वादिष्ट हुनेगरी निर्माण गर्नु र श्रद्धापूर्वक पितृको उद्देश्यले ब्राह्मण भोजन गराउनु नै श्राद्ध हो । ब्रह्म पुराणमा पनि यहि कुरा उल्लेख गरिएको छ कि श्रद्धापूर्वक पितृको उद्देश्यले ब्राह्मण भोजन गराउनु पर्दछ ।
१) पितृ, पितामह , प्रपितामह, २) माता, पितामही, प्रपितामही, ३) मातामह, प्रमातामह, बृद्धप्रमातामह, ४) मातामही, प्रमातामही, बृद्धप्रमातामही, ५) मातुल, जायपिता र माता तथा ६) गुरु र अन्य बन्धुबान्धव
मत्स्य पुराणमा तिन प्रकारको श्राद्धको उल्लेख गरिएको छ । नित्य, नैमीत्तिक र काम्य श्राद्ध । यमस्मृतीले पाँचप्रकारको श्राद्धको महिमा बताएको छ । जहाँ बृद्धि र पार्वण श्राद्ध थपिएको छ । हरेक दिन गरिने श्राद्धलाई नित्य श्राद्ध भनिन्छ भने एकोदिष्ट श्राद्धलाई नै नैमित्तिक श्राद्ध भनिन्छ । कुनै कार्य सिद्धिका लागि गरिने श्राद्धलाई काम्य श्राद्ध भनिन्छ । यहाँ बिभिन्न पूजा तथा विवाह एवं ब्रतवन्ध सप्ताहको पूर्वाङ्गमा गरिने श्राद्ध नै काम्य श्राद्ध हो जहाँ अनुष्ठान गर्न लागिएको कामनायुक्त कर्म पूरा होस भन्ने कामना सहित पितृको स्मरण तथा जल भोजन पिण्ड अर्पण गरिन्छ । सन्तानोत्पत्तीमा गरिने श्राद्ध नै बृद्धिश्राद्ध हो यसमा अझबढी सन्तान बृद्धिको कामना गरेर पितृको पूजा गरिन्छ ।
पार्वण श्राद्ध आमावस्या तिथीलाई समाएर तिर्थमा गरिने श्राद्ध र पितृपक्षमा गरिने श्राद्धलाई लिइएको छ जसमा १) पितृ, पितामह , प्रपितामह, २) माता, पितामही, प्रपितामही, ३) मातामह, प्रमातामह, बृद्धप्रमातामह, ४) मातामही, प्रमातामही, बृद्धप्रमातामही, ५) मातुल, जायपिता र माता तथा ६) गुरु र अन्य बन्धुबान्धव आदिको श्राद्ध गर्नु पर्दछ । त्यसैले सोह्र श्राद्धको जम्मा सोह्रवटा दिनलाई पूर्णरुपमा पितृका लागि छुट्याईएको हनाले यसलाई नै पितृपक्ष भनिएको हो ।
भविष्य पुराणमा बाह्र प्रकारको श्राद्धको बयान गरिएको छ । माथि उल्लेख गरिएको श्राद्ध बाहेक सपिण्डिकरण श्राद्ध, गोष्ठिक श्राद्ध, पार्वण श्राद्ध, शुध्यर्थ श्राद्ध, दैविक श्राद्ध, यात्रार्थ श्राद्ध, पुष्टि श्राद्धको बयान गरिएको छ ।
सबैप्रकारको श्राद्ध श्रौत र स्मार्त भेदले दुई प्रकारको हुन्छ । पिण्डपितृयागलाई नै श्रौतश्राद्ध भनिन्छ । पिण्डपितृयाग औंशिका दिनमा मात्र हुन्छ र यो कर्म गर्नका लागि अधिकारी केवल अग्निहोत्री मात्र हुन्छन् । यसमा श्रुतीद्वारा प्रतिपादित मन्त्र मात्र प्रयोग गरिन्छ । एकोदिष्ट, पार्वण, तथा तीर्थश्राद्धदेखि मरणसम्मको श्राद्ध स्मार्त श्राद्ध हो । यस श्राद्धविधिमा बैदिक, पौराणिक, तान्त्रिक, तथा धर्मशास्त्रादि मन्त्रको प्रयोग गरिन्छ ।
पितृयज्ञको अर्को नाम नै श्राद्ध हो । माता पिता आदि पारिवारिक मनुष्यको मृत्युपछि उनीहरुको तृप्तीका लागि श्रद्धापूर्वक दिइने पिण्ड दानादी समस्त कर्म नै पितृयज्ञ हो भनि बेदमा बताईएको छ ।
प्राचीन कालमा मानिसमा श्राद्धप्रति जस्तो अटूट श्रद्धा थियो अहिले त्यस्तो अवस्था छैन । आजकाल मानिसहरु श्राद्धलाई ब्यर्थको कार्य मान्दछन् र कतिले त यो कर्म गर्न नै छाडिसके । श्राद्धकर्मलार्ई ब्राह्मणको ठगीखाने कामको रुपमा तयार गरिएको परिपन्च मात्र हो भन्दै गर्ने अनि पूरै छोड्न भने नसकेका मानिसहरु समाजमा धेरै छन । श्रद्धापूर्वक यो कार्य गर्नेको पनि कमी छैन । अझै कतिपयले यो कार्य छोडेका छैनन् । कतिले प्राचीन विधि नै अपनाई आएका छन् र उनीहरुको श्रद्धामा किन्चित कमी आएको छैन । बास्तवमा भन्ने हो भने श्राद्धाभक्तिद्वारा शास्त्रोक्त विधि बमोजिम गरिएको श्राद्ध नै सबैभन्दा कल्याणकारी हुन्छ । जो ब्यक्तिले अन्य समयमा अन्य श्राद्ध विधिपूर्वक गर्न सक्दैन वा भ्याउँदैन भने कमसे कम आश्विन कृष्णपक्ष(पीतृपक्ष) वा सोह्र श्राद्धमा आफ्ना पितृगणको मरणतिथीमा श्राद्ध गर्नुपर्दछ । आश्विन कृष्णपक्षलाई पितृपक्ष भानिन्छ । यस समयमा गरिएको श्राद्धको विशेष महिमा रहेको छ ।
आफ्ना पितृगणको श्राद्ध नगर्ने सन्तानको पितृले रगत पिउँदछन् । …श्राद्धदेखि बाहेक दोस्रो कल्याणकारी अर्को कुनै कार्य वा मार्ग हुनसक्दैन ।
महर्षि जावालिका अनुसार पितृपक्षमा श्राद्ध गर्नाले पुत्र, आयु, आरोग्य, ऐश्वर्य तथा इच्छा गरिएका बस्तुहरु प्राप्त हुनेकुरा उल्लेख छ । जो मानिस पितृपक्षमा आफ्ना पितृको श्राद्ध गर्दैन उसलाई पितृले श्राप दिनेकुरा महर्षि कर्णादले बताएका छन् । कन्याराशि पछि बृश्चिक राशि नआउन्जेल वा पितृपक्षमा पितृगणले श्रद्धा नपाएमा वा सन्तानद्वारा दिइने भोजन नपाएमा उनीहरु निरास भएर लामो लामो श्वास लिन्छन र त्यसले गृहस्थलाई दुखदायि श्राप दिएर पुन पितृलोक फर्कन्छन् । विदूरनीतिमा पनि यसको बारेमा उल्लेख गरिएको छ । “जसले श्राद्धको महिमा नबुझेर श्राद्ध गर्दैन त्यसलाई मूर्ख भनिन्छ ।” संसारमा त्यो जस्तो पापिष्ट, मूर्ख अरु कोही हुँदैन जो आफ्ना पितृगणको श्राद्ध गर्दैन ।” आदित्यपुराणका अनुसार “आफ्ना पितृगणको श्राद्ध नगर्ने सन्तानको पितृले रगत पिउँदछन् ।” त्यसैले आफ्नो कल्याणका लागि पनि श्राद्धगर्नु अति आवश्यक मानिन्छ । महर्षि सुमन्तुका अनुसार “श्राद्धदेखि बाहेक दोस्रो कल्याणकारी अर्को कुनै कार्य वा मार्ग हुनसक्दैन ।” त्यसैले बुद्धिमान मानिसले राम्रो श्रद्धापूर्वक श्राद्ध गर्नुपर्दछ ।
कूर्मपुराणमा बताएअनुसार जो ब्यक्ति एकाग्रचित्त भएर श्राद्ध गर्दछ उ समस्त पापबाट मुक्त हुन्छ र पुन यो संसाररुपि चक्रबाट छुट्कारा पाउँदछ । गरुडपुराणमा बताएअनुसार श्राद्धकार्यबाट सन्तुष्ट भएर पितृले आफ्ना सन्ततीलाई आयु, पुत्र, यश, स्वर्ग, कीर्ति, पुष्टि, बल, बैभव, पशु, सुख, धन—धान्यले भरिपूर्ण गराउँदछन् । यसैगरी ब्रह्मपुराण, महाभारत अनुशासन पर्व, मार्कण्डेय पुराण, बराहपुराण, स्कन्धपुराण, गरुडपुराण, विष्णुपुराण तथा प्रशस्त स्मृतीग्रन्थहरुमा श्राद्धको महिमा बयान गरिएको छ र सबैको तात्पर्य एउटै देखिन्छ जो कल्याणको नै विषय बताइएको छ ।
नेपाली समाज आधुनिक पाश्चात्य सभ्यता र पूर्विय सभ्यताको संघारमा उभिएको छ । “मानिस मरेर कहाँ पुगिसक्यो अहिले यहाँ पिण्डो दान गरेर के हुन्छ र ?” भन्ने मनस्थितीमा केही मानिसहरु छन् । बास्तवमा श्राद्धकर्म मृतकको तृप्तीका लागि त अवस्य नै हो तर त्यसले श्राद्धकर्ता स्वयं र उनका परिवारजनको पनि तृप्तिका साथै यशः किर्ती बृद्धि गर्ने गर्दछ । यहाँ प्रयुक्त मन्त्रलाई विचार गर्ने हो भने पनि श्राद्धकर्ममा पितृ तृप्तिको कामना सँगसँगै श्राद्धकर्ताको यस भौतिक संसारमा विशिष्ट फल प्राप्तहुने र आध्यात्मिक संसारको पनि विकास हुने कुरा देखिन्छ । श्राद्धबाट नै कर्ताको आध्यात्मिक, आदिदैवकि तथा आदिभौतिक उन्नती हुन्छ । यो आश्विन महिनाको कृष्णपक्ष नामैले पनि पितृपक्ष हो र यस पक्षको प्रतिपदादेखि औंशिसम्म प्रत्येक दिन गरिने श्राद्धको फरक फरक फल प्राप्त हुने कुरा महाभारत अनुशासन पर्वमा बताईएको छ ।
पितृकार्यद्धारा नै देवकार्यको वा कामनायुक्त कार्यको पुर्वाङ्ग गरिन्छ । त्यसैले श्राद्धकार्य बडादशैको पुर्वाङ्ग कार्य भएकोले यो राष्ट्रिय चाड दशैंसंग जोडिएको छ । पूर्वजको स्मृतीद्वारा नै भविष्यको निर्माण हुने हुँदा श्राद्ध गर्ने प्रथालाई रुढिवादी मान्नेहरुले आफ्ना पूर्वज र इतिहासलाई स्मरण गर्न नचाहेको स्पष्ट हुन्छ । त्यसैले हामी हाम्रा पूर्खाप्रति इमानदार हुनु पनि जरुरी छ ।
प्रतिक्रिया