१० वैशाख, सामरी । नुवाकोटको म्यागङ गाउँपालिकाको आयोजनामा ऐतिहासिक सामरीमा सञ्चालित बागमती प्रदेशस्तरीय अन्तरपालिका चौथो संस्करणको ‘अध्यक्ष कप’ पुरुष भलिबल प्रतियोगिताको क्वार्टर फाइनलका खेलहरू सम्पन्न भएका छन् ।
आज भएका रोमाञ्चक खेलहरूसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। विभिन्न चरणका खेलहरूमा म्यागङ, नौकुण्ड, सिद्धलेक र खनियाबास गाउँपालिका टोलीहरूले आ–आफ्नो पक्षमा नतिजा पार्दै अगाडिको यात्रा तय गरेका छन्।
आजको पहिलो खेलमा म्यागङले लिखु गाउँपालिकालाई २५-१७, २५-१४ र २५-१७ को सेटमा सहजै पराजित गर्यो। म्यागङका अमित तामाङ खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताको दोस्रो खेलमा नौकुण्ड गाउँपालिकाले रुबीभ्याली गाउँपालिकालाई २५-१७, २५-१८ र २५-२३ को सेटमा पाखा लगायो। नौकुण्डको जितमा महत्वपूर्ण भूमिका निभाएका सोनाम तामाङले ‘म्यान अफ द म्याच’को उपाधि पाए।
तेस्रो खेल निकै प्रतिस्पर्धात्मक रह्यो । जहाँ सिद्धलेक र मेलुङ गाउँपालिका बीच कडा टक्कर भएको थियो। सिद्धलेकले सुरुवाती दुई सेट २५-१९ र २५-२२ ले जिते पनि तेस्रो सेट मेलुङले २३-२५ ले आफ्नो पक्षमा पारेको थियो। यद्यपि, चौथो सेटमा २५-१७ को जित निकाल्दै सिद्धलेकले खेल आफ्नो नाममा गर्यो। सिद्धलेकका प्रदीप थापा मगर खेलको उत्कृष्ट खेलाडी घोषित भए।
अन्तिम खेलमा खनियाबासले पञ्चकन्या गाउँपालिकालाई २५-२३, २५-१९ र २५-१२ को सेटमा पराजित गर्दै आफ्नो बलियो उपस्थिति जनाएको छ। खेलमा खनियाबासका सुशान्त तामाङ ‘म्यान अफ द म्याच’ बन्न सफल भए ।
यी खेलहरूसँगै अब प्रतियोगिता सेमिफाइनलको चरणमा प्रवेश गरेको छ । जसले उपाधि भिडन्तका लागि फाइनल पुग्ने टोलीहरूको टुङ्गो लगाउनेछ।
प्रतिक्रिया