+
Search

ताजा अपडेट +

पपुलर +

नेफिन नुवाकोटको तेस्रो पूर्ण बैठक सम्पन्न, जनजाति आन्दोलन र सांगठनिक सुदृढीकरणमा जोड

सुनील श्रेष्ठ
१० घण्टा अगाडी

१० वैशाख, नुवाकोट । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् नुवाकोटको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

विदुरमा भएको उक्त बैठकमा सहभागी विभिन्न जातीय संस्थाका नेतृत्वहरूले महासंघलाई अझ सशक्त र समावेशी बनाउने विषयमा केन्द्रित रहेर आफ्ना गहन विचार तथा सुझावहरू प्रस्तुत गरेका थिए।

बैठकमा नेफिन नुवाकोटका अध्यक्ष भगवान रानामगरले संस्थाको सुदृढीकरण र भावी कार्ययोजनाका लागि १३ वटा अति आवश्यक संस्थागत प्रस्तावहरू पेस गरेका थिए ।

उक्त प्रस्तावहरूमाथि केन्द्रित रहेर नेवा: देय दबू नुवाकोटका अध्यक्ष रामप्रसाद जोशीले संस्थाको विकास नै जातीय संघ-संस्थाहरूको वास्तविक उन्नति भएको उल्लेख गरेका थिए । उनले सबैको साझा सल्लाह, सुझाव र सहमतिमा गरिने निर्णयले मात्र महासंघलाई सही दिशामा डोऱ्याउने र संस्थाको विश्वसनीयता बढ्ने कुरामा जोड दिए । विशेष गरी आर्थिक पक्षमा सचेत रहँदै खर्चका मापदण्डहरू पालना गर्न र अनावश्यक व्ययभार कम गर्दै संस्थागत आर्थिक सन्तुलन कायम राख्न उनले कार्यसमितिलाई विशेष सुझाव दिए।

अध्यक्ष रानामगरले पनि पेस गरिएका प्रस्तावहरूको लक्ष्य र औचित्यमाथि प्रकाश पार्दै ती निर्णयहरू कार्यान्वयन गर्न उनले सबैको सक्रिय सहयोगको अपेक्षा गरेका थिए ।

सांगठनिक विस्तारका क्रममा नेफिनको नयाँ जिल्ला नियमावली २०८१ बमोजिम रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ति गर्ने महत्वपूर्ण निर्णय समेत यसै बैठकबाट गरिएको छ। जसअनुसार चार जना उपाध्यक्षहरूमध्ये हाल हस्तबहादुर राई र महिला उपाध्यक्षमा मिनु घलेलाई चयन गरिएको छ भने बाँकी दुई उपाध्यक्ष पदहरू भुजेल र ह्योल्मो जातिलाई दिने सहमति भएको छ।

त्यसैगरी, तीन जना सह-सचिवहरूमा भीमसेन थापामगर र छिरिङ शेर्पाको टुङ्गो लागेको छ भने एक पद नेवार जातिको सिफारिसमा पूर्ति गरिने भएको छ।

सचिवालय सदस्यतर्फ विश्वराज जर्गा थापामगर छ भने बाँकी दुई सदस्यहरू गुरुङ र कुमाल जातिको सिफारिसमा चयन हुने गरी सांगठनिक ढाँचालाई पूर्णता दिने सहमति जुटेको छ। यसले महासंघभित्र सबै जातीय समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्ने विश्वास लिइएको छ।

यसैगरी, बैठकले आदिवासी जनजातिका साझा मुद्दाहरूलाई सम्बोधन गर्न सूर्यबहादुर तामाङको संयोजकत्वमा ‘आदिवासी जनजाति संयुक्त संघर्ष जिल्ला समिति नुवाकोट’ गठन गरेको छ। समितिमा विभिन्न राजनीतिक दलसँग आबद्ध जनजाति महासंघका अध्यक्ष वा प्रतिनिधिहरू, विभिन्न जातीय संघ-संस्थाका प्रमुखहरू र नेफिनमा आबद्ध महासंघका प्रतिनिधिहरू सदस्यको रूपमा रहेका छन्।

समितिका सचिव चन्द्रबहादुर कुमालका अनुसार यो संघर्ष समितिले आगामी दिनमा स्थानीय निकाय र राजनीतिक दलहरूसँग आदिवासी जनजातिका सरोकार र सहयोगका विषयमा ठोस कार्यपत्रसहित अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।

सचिवालयमार्फत यसको तयारी गरी छिट्टै बैठक बसी कार्यक्रमको निश्चित मिति र समय तोकिने जानकारी समेत गराइएको छ। बैठकमा उपस्थित विभिन्न जातीय समाजका अध्यक्ष तथा प्रतिनिधिहरूले महासंघको अभियानमा सचेत र सक्रिय भएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ