बेत्रावती/हरेक वर्ष नुवाकोट र रसुवाको सीमास्थल बेत्रावतीमा माघ १ गते गोरु जुधाउने मेला गर्दै आएकोमा यस वर्ष विशेष रूपमा मनाउने तयारी भइरहेको छ । कला, संस्कृति र परम्पराको जगेर्ना गरौँ, उत्तरगया क्षेत्र बेत्रावतीको पहिचान र विकासमा एकजुट होऔँ भन्ने नाराका साथ बेत्रावतीमा माघ १ गते भव्य मेलाको तयारी भइरहेको छ ।
परापूर्वकालदेखि नै माघेसङ्क्रान्तिका दिन बेत्रावतीवासीले घिउचाकु खाएर, तेल घसेर मनोरञ्जनका रूपमा गोरु जुधाउँदै आएका छन् । लामो समय हराएको यो चलनको सुरुवात एक दशकदेखि फेरि सुरु भएको छ ।
नेपाल र हाल चीनको स्वशासित क्षेत्र तिब्बतसँग १८४९ सालमा मैत्रीपूर्ण ऐतिहासिक सन्धि भएको स्मरणमा बेत्रावतीमा माघेसङ्क्रान्तिमा गोरु जुधाउन थालिएको हो । बेत्रावती युवा क्लबका अध्यक्ष सुरज लवटका अनुसार यसपालि गोरुजुधाई मेलामा सहभागी हुन चाहने गोरुधनीहरूले पुस २० गतेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ ।
प्रतियोगितामा विजेता गोरुधनीलाई आयोजकले नगद सहित पुरस्कृत गर्दै आएको छ । यसपालि पनि राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसहित गोरुजुधाई मेलाको आयोजना गरिएको छ । मेलाको तयारी सुरु भएको र यसपालि पनि नुवाकोट र रसुवाका गोरुहरूको भिडन्त हुने स्थानीय सामाजिक अभियन्ता चक्रबहादुर डङ्गोलले बताए । बेत्रावती क्षेत्रको महत्व र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न गोरु जुधाउने मेलाले सहयोग पुगेको उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिवशङ्कर डङ्गोलले बताए । बेत्रावतीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षको उजागर गर्न मेला महोत्सवले टेवा पुग्ने स्थानीय युवा समाजसेवी गणेश श्रेष्ठले बताए ।
प्रतिक्रिया