२०८१, ८ बैशाख शनिबार

पारिवारिक पेशा बनेको राजनीतिलाई शुद्धीकरण गर्न मेरो उम्मेदवारी

    कार्तिक २३ २०७४ १३:५८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

हितबहादुर तामाङ, वाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार नुवाकोट क्षेत्र नं. १

डा. महतले पैसा नहुनेको पक्षमा जनमत नै हुँदैन र पैसा छ भने जनाधार गुमाएकाले पनि चुनाव जित्न सक्छ भन्ने परम्परा स्थापित गरे ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङ अहिले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अभियानमा छन् । संयुक्त वाम गठबन्धनबाट नुवाकोट क्षेत्र नं. १ को उम्मेदवार रहेका तामाङ माओवादीभित्र शालीन नेतामा गनिन्छन् । गत दुईपटक नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतसँग पराजय हुँदै आएका तामाङ तेस्रोपटकमा विजय हुनेमा ढुक्क छन् । किनकि उनलाई वाम गठबन्धनको साथ छ । विगतका निर्वाचनमा पनि थोरै मतले पराजय भोगेका तामाङ अहिले जनताको घरदैलोमा व्यस्त छन् । यसै सन्दर्भमा त्रिशूली प्रवाहका लागि विष्णु तारुकेले गरेको कुराकानीको सारअंश:

पार्टीले पुनः तपाईंलाई नै उम्मेदवार बनाएको छ, कस्तो लागिराखेको छ ?

देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि मुलुकले आर्थिक–सामाजिक परिवर्तनको अनुभूति गर्नु पाउनुपथ्र्यो । त्यो पाएको थिएन । यसै सन्दर्भमा देशमा परिवर्तनको अनुभूति दिनका लागि ठूला वाम घटकको उम्मेदवार बनेर जनताको घरघरमा जान पाउँदा खुसी लागेको छ । र, नेपाली जनताले लामो समयदेखि साँचेर राखेको सपना पूरा हुने भयो भन्ने लागेको छ ।

एक चरण गाउँ भ्रमण गरेर आउनुभएको छ, मतदाताको प्रतिक्रिया बस्तो पाउनुभएको छ ?

अहिले हामी जनतासँग धेरै गइसकेका छैनौँ । हामीले अहिलेसम्म आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत रहेका गाउँ वडामा दुवै पार्टी एमाले र माओवादी केन्द्रको भेलाहरू ग¥याँै । अहिले निर्वाचन जित्नका लागि के–के गर्नुपर्छ भन्ने सुझाबहरू लिने काम भयो । अहिले मतदाताहरूसँग हामीले जति भेटेका छाँै उहाँहरू एकदमै उत्साही भएको पाएको छु । सबै वामहरू एक ठाउँमा भएर आउनुभएको छ त्यसमा खुसी लागेको बताइरहनुभएको छ । निर्वाचनको माहौल तात्दै आएको छ ।

मतदाताले वाम गठबन्धनलाई कसरी लिएका छन् त ?

जनता अत्यन्तै खुसी छन् हाम्रो गठबन्धन देखेर । देशमा विगतको चुनावहरूमा अल्पमतमा भएको पार्टीले विजय हासिल गर्दै आएको थियो । वामपन्थी मत धेरै हुँदा पनि हाम्रोबीचमा हुने मत विभाजनको कारणले हार्दै आएका थियौँ । यो मत विभाजन नुवाकोटे जनताका लागि पनि पीडाको विषय बनिराखेको थियो । अहिले आकस्मिक रूपमै भए पनि पार्टी एकताको उद्देश्यसहित वाम गठबन्धन बनेको छ । जनता धेरै खुसी भएका छन् । वाम गठबन्धन एक छैनन् भन्ने भ्रम नेपाली काङ्ग्रेसले फिँजाएको हुन सक्छ ।

तपाईंले चुनाव जित्ने आधार के छ ?

मलाई जनताले मत दिएर जिताउँछन् भन्ने आधार प्रसस्त छ मसँग । पहिलो संविधानसभाको निर्वाचनमा पनि मलाई त्यहाँका मतदाताले त्यति चिनेका थिएनन् । त्यतिबेला रामशरण महतसँग के मत ल्याउन सक्ला र भन्थे । त्यतिखेर पनि जनमतका हिसाबले मैले जितेको थिएँ । तर, प्राविधिक हिसाबले राज्यशक्तिको दुरुपयोग गरेर, कर्मचारी दुरुपयोग गरेर मलाई हराउने काम भयो । राज्यशक्तिमा बसेर खाएको कमिसनको पैसाले मलाई हराइयो । र पनि २०७० को निर्वाचनमा मलाई पार्टीले उम्मेदवार बनायो । हाम्रो पार्टीका ठूला नेतासम्मले चुनाव हार्नुभयो । तर, नुवाकोटको साबिक २ नं. क्षेत्रमा मेरो मत त्यति कमजोर थिएन । करिब साढे १५ हजार मत मेरो आयो । अहिले त हामी संयुक्त वाम गठबन्धन बनाएर गएका छौँ । त्यसमाथि पनि मलाई सुरुदेखि नै त्यहाँको जनता र कार्यकर्ताले माग गरिरहेको क्षेत्र भनेको नुवाकोट साबिक १ नं. क्षेत्र थियो । मेरो लागि यसपटक अति नै अनुकूल छ ।

फेरि पनि राज्यशक्तिको दुरुपयोग हुँदैन भन्ने के ग्यारेन्टी छ ?

मेरो व्यक्तिगत रूपमा डा. रामशरण महतसँग नराम्रो पनि छैन । तर, उहाँले नुवाकोटमा एउटा गलत परम्पराको थालनी गर्नुभयो । पैसा नहुनेको पक्षमा जनमत नै हुँदैन भन्ने । पैसा छ भने जनाधार गुमाएकाले पनि चुनाव जित्न सक्छ भन्ने परम्पराको स्थापित गरे । त्यो हिसाबले अहिले पनि डा. महत अहिले पनि राज्यशक्तिको दुरुपयोग गर्छन् भन्ने बुझिनमा आएको छ । यो अन्तिमपटक भएकाले डा. महतले बीसौँ करोड खर्च गर्ने भन्ने हल्ला सुन्नमा आएको छ । नुवाकोटे जनता सधैँ उनको षड्यन्त्रमा फस्छन् भन्ने कुरा छैन । उनको यो षड्यन्त्र कुनै पनि हालतमा सफल हुन दिँदैनौँ ।

हितबहादुर तामाङलाई नै नुवाकोटेले मत किन दिने ?

यो हितबहादुरको निजी सवाल होइन । २००७ सालको परिवर्तनपश्चात् २०१५ सालमा नेपाली काङ्ग्रेसले बहुमत प्राप्त ग¥यो त्यसलाई काङ्ग्रेसले काम गर्न नसक्दा ०१७ सालमा राजा महेन्द्रले निरङ्कुशता लाद्ने काम भयो । ०४७ सालमा परिवर्तन त भयो, तर राजतन्त्र रहिरह्यो । नेकपा माओवादीले राजतन्त्रबिनाको गणतन्त्रको माग गर्दै जनयुद्धको थालनी ग¥यो । अहिले राजतन्त्रको अन्त्य हुँदै गणतन्त्र स्थापना भएको छ । नयाँ संविधान पाएको छ । तर, मुलुकले सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको कुनै अनुभूति गर्न पाएन । वाम गठबन्धनको उम्मेदवारलाई विजय नगराई समाजको रूपान्तरण र आर्थिक समृद्धिको बाटोमा मुलुक अगाडि बढाउनुपर्छ । त्यसका लागि हितबहादुर मात्र होइन, सबै वामपन्थी उम्मेदवारलाई जिताउँछन् । पार्टीभन्दा बाहिर रहेका स्वतन्त्र मतदाताले पनि नुवाकोटमा सधैँभरि वामपन्थीलाई नै मन पराएको पाएँ । नुवाकोटमा कुनै पनि पक्षबाट घात–पक्षघात र अन्तर्घात हुँदैन । हाम्रो पार्टीमा पनि नेतृत्व तहबाट हदैसम्मको सचेत गराउने काम भएको छ । दुवै पार्टीका कार्यकर्ता र जनता आफैँ पनि सचेत छन् ।

निर्वाचन काङ्ग्रेसका हस्तीसँग लड्नुपर्छ, आर्थिक चलखेल खुबै हुन्छ भन्छन्, कत्तिको जोहो गर्नुभएको छ पैसाको ?

गत स्थानीय तहको मतलाई हेर्ने हो भने हामी क्षेत्र नं. १ मा पनि वामपन्थी मत १४ हजार बढी छ । २ नं. क्षेत्रमा त झन् १७ हजार मत बढी छ । त्यसमा पनि नुवाकोटमा लामो समय राज्य सञ्चालनमा रहेका साधनस्रोत पनि प्रशस्त भएका, राज्यका पहुँच पनि प्राप्त गर्न सक्ने षड्यन्त्र गर्न सक्ने हाम्रा प्रतिपक्षहरू निर्वाचनमा छन् । तर, जनताको सामु पैसा र षड्यन्त्र केही पनि होइन । मुख्य कुरा जनता नै हो सचेत जनता नै न्यायाधीश हुन् । हामीले सामान्य कार्यकर्ता परिचालनका लागि र भैपरी आउने प्रचारप्रसार खर्च जोहो गर्नेछौँ । निर्वाचन आचारसंहितामा रहेर चुनावी खर्च गर्छौं र जित्छौँ ।

तपाईंका एजेण्डाहरू के–के हुन् ?

नुवाकोट भ्रष्टचार व्याप्त जिल्ला हो । नुवाकोटकै काङ्ग्रेस काम नेताहरूले राष्ट्रियस्तरका भ्रष्टाचारीहरूलाई संरक्षण गरिरहेका छन् । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको संरक्षणकर्ता नुवाकोटका काङ्ग्रेस नेता । लुम्बध्वज महत अर्बांै बिगो तिर्नुपर्ने राष्ट्रिय भ्रष्टचारीको संरक्षणकर्ता पनि नुवाकोटकै काङ्ग्रेसका नेताहरू । लोकमानसिंह कार्कीको संरक्षणकर्ता पनि उनै काङ्ग्रेसहरू हुन् । मेरो पहिलो एजेण्डा भनेको नुवाकोटलाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने हो । नुवाकोटमा केन्द्रीय स्तरमा जति पनि योजना पर्छन् ती स्थानीयस्तरमा छलफल गरेरभन्दा पनि कार्यकर्तालाई पोस्ने हिसाबले पक्षपातपूर्ण ढङ्गले हुँदै आएको छ । राजनीति भनेको नुवाकोटमा केही व्यक्तिहरूको पारिवारिक पेसा बनेको छ । लोकतान्त्रिक विधिबाट सबै वर्ग सबै लिङ्गको प्रतिनिधित्व गराउने नेतृत्वको विकास गर्ने मान्यताका साथ म निर्वाचनमा गइराखेको छु । नुवाकोटमा उद्योगधन्दा स्थापना गर्न र कृषिमा व्यावसायीकरण गर्न मेरो उम्मेदवारी हो । नुवाकोटमा अहिले पनि चेलीबेटी बेचबिखनजस्तो जघन्य अपराध हुँदै आएको छ । त्यस्तालाई त्यसको निर्मूल गर्नका लागि र सामाजिक रूपान्तरण र आर्थिक विकासका लागि मेरो खाँचो छ । अहिले जिल्लामा मापदण्डविपरीत ढुङ्गा–बालुवामा तस्करी भइरहेको छ त्यसको नियन्त्रणका लागि पनि म नेतृत्वमा आउनु जरुरी छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top