२०८१, ८ बैशाख शनिबार

चेट चंगा चेट

    आश्विन ९ २०७४ १५:३०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

धार्मिक पुस्तकमा चंगा गौतमबुद्ध जन्मनुअघि नै निर्माण गरिएको उल्लेख छ

दसैंको आगमनसँगै चंगाहरू सफा आकासमा फटफटाउन थाल्छन् । सानामात्र होइन ठूला पनि चंगा उडाउने खेलमा निकै रमाएको देखिन्छ । चंगा उडाउने खेल त्यत्ति गाह्रो होइन तर केही कुरामा भने ध्यान दिनुपर्छ । स्थान, समय र तरिकालाई राम्ररी मनन गर्नुपर्छ ।

चंगा उडाउनुअघि खुला ठाउँको खोजी गर्नुपर्छ । जहाँ बारबार हावा चलिरहन्छ । अझ हल्का उठेको ठाउँ भए उत्तम हुन्छ । उठेको ठाउँमा हावा तलबाट माथि जाने हुँदा चंगा उडाउन सजिलो हुन्छ । चंगा उडाउँदा बाटो, रुख, बिजुलीको खम्बा, तार आदिको ख्याल गर्नुपर्छ । खाल्डाखुल्डीमा पनि ध्यान दिनु बेस हुन्छ ।

आवश्यक सामग्री

चंगा कागज र चोया (बाँसका हल्का र ठूला सिर्कना) ले बनाइन्छ । रेसम र पातला कागजले बनेका चंगा उडानका लागि उत्तम हुन्छन् । चंगा प्लास्टिकबाट पनि बनाइन्छ । सजावटका लागि चंगामा रंगविरंगी रङ पनि भरिन्छ । चंगा त्रिभुज, चतुर्भुज, वर्गाकार, चौडाकार, गोलाकार बट्टा (बक्स अकार) सबैमा उपलब्ध हुन्छन् । नेपालमा भने चतुर्भुज चल्तीमा छन् ।

चंगासँगै हामीलाई धागो र लट्टाई पनि चाहिन्छ । धागो चंगालाई थेग्न सक्ने र हलुका हुनुपर्छ, जो हावामा सजिलै तैरन सकोस् । लट्टाई हातले अड्याउन सक्ने हुन्नुपर्छ ।

के गर्ने ?

सर्वप्रथम चंगाको पछाडिबाट चोयाको दुई छेउपट्टि एउटै सानो धागो राम्ररी बाँध्ने । यसलाई कक अथवा कका भनिन्छ । ककको बीचमा लट्टाईको ठूलो धागो बाँध्ने र यहाँ भनेजस्तै गर्ने ।
१ . चंगालाई एक हातमा लिने र लट्टाईलाई अर्को हातमा । हावा कतातिर जाँदैछ, दाँया वा बायाँ ख्याल गर्ने । चंगालाई त्यतै फर्काउने ।
२ . बिस्तारै चंगाले हावालाई पछ्याउन थाल्छ । बिस्तारै लट्टाईबाट धागो छोड्दै जाने । चंगा माथिमाथि जान थाल्छ ।
३. चंगा दाँयाबायाँ ग¥यो भने अझै धागो छोड्ने । अस्थिर भइरहने चंगामा सानो पुच्छर जोड्न सकिन्छ । पुच्छरले चंगालाई स्थिर रहिरहन मद्दत गर्छ ।
४ . चंगालाई तल झार्न बिस्तारै बिस्तारै धागोलाई हातले तलतिर तान्ने । यदि हावा बलियो छ भने चंगालाई पछ्याउँदै तल झर्न कोसिस गर्ने ।

इतिहास

चंगा  पहिलो उड्ने आविस्कार हो । चंगाको आविस्कार तीन हजार वर्ष पहिले चीनमा भएको मानिन्छ । चिनियाहरू चंगा उडाउने र आविस्कार गर्नेमा अग्रपंक्तिमा आउँछन् । चीनका दार्शनिकहरू मोजी र लु बानले चंगाको आविस्कार गरेका हुन् । त्यसबेला चंगा बनाउन रेसमको कपडा प्रयोग गरिन्थ्यो । अनि रेसमकै धागोले उडाइन्थ्यो ।

धेरै पहिले रुखका ठूला पातबाट पनि चंगा बनाइन्थ्यो । धेरै समयसम्म ती चंगालाई माछा मार्न प्रयोग गरियो । आजभोलि चंगा रेसम, कागज र प्लास्टिकबाट बनाइन्छ । तर त्यतिबेला कागज कहाँ पाउनु ? कागजको आविस्कार हुनु हजार वर्ष पहिले नै चंगाको प्रयोग गरिन्थ्यो, पात र रेसमका । चंगा कुनै बेला निकै उपयोगमा पनि आएको थियो । चिनियाहरूले सन् १७५२ मा शत्रु पहिचनका निम्ति यसलाई संकेत सामग्रीको रूपमा प्रयोग गरेका थिए ।  पहिलेका सेनाले कुनै कुराको संकेत गर्न, गोलीगट्ठा पठाउन र लडाइँ भइरहेको बेलाका स्थिति कस्तो छ भन्ने जान्न चंगामा फलाम अड्याएर चंगामा मान्छेलाई राखेर पठाउँथे । त्यस्तै अमेरिकी वैज्ञानिक बेन्जामिन फ्राङकलिनले चंगामा फलाम अड्क्याएर चट्याङको विद्युतीय प्रकृति जाँच्न पनि सफल भएका थिए । अलेक्जेन्डर ग्राम बेल, गुल्मियो मार्कोनी र बेडेन पावेल जस्ता अरू वैज्ञानिक, आविस्कारक र अनुसन्धानकर्ताले पनि अनुसन्धानक्रममा यसको प्रयोग गरेका थिए ।

आजकाल चंगा उडाउनु सोख र रमाइलोको कुरा हो । यो प्रतियोगितात्मक खेल पनि भइसकेको छ । चंगा उडान विश्वभरि नै तीव्र गतिमा लोकप्रिय हुँदै गएको खेल हो । हाम्रा महत्वपूर्ण चाड दसैं र तिहारसँग चंगाको साइनो छ । यसबेला लामो बिदा हुनाले चंगा उडाएर समय कटाउनु पनि उमंगमय हुन्छ ।

 चंगा महोत्सव / जात्रा

विश्वका केही भागमा चंगा उडाउने महोत्सव र प्रतियोगिता आयोजना गरिन्छ । एसिया महादेशका धेरै राष्ट्रमा चंगा महोत्सव प्रसिद्ध छ । थाइल्यान्डमा व्यावसायिक चंगा प्रतियोगिता आयोजना गरिन्छ । भारतमा पनि चंगा महोत्सव हुन्छ । पोङगलको समयमा हुने यो महोत्सव अहमदाबादको गुजरातमा हुन्छ । २१ वर्षदेखि गरिदै आएको उक्त महोत्सव चंगा महोत्सवमध्येकै ठूलो हो जहाँ ३६ प्रतियोगी राष्ट्र सम्मिलित हुन्छन् । दसैंको समयमा नेपालको काठमाडौं उपत्यकामा पनि चंगा चेट प्रतियोगिता गरिन्छ ।

सांस्कृतिक महत्व

धार्मिक पुस्तकमा चंगा गौतमबुद्ध जन्मनुअघि नै निर्माण गरिएको उल्लेख छ । धेरै वर्ष पहिलेदेखि नै मानिस चंगा उडाएर भगवानसँग प्रार्थना गर्थे । लोककथा र किंवदन्तीअनुसार उनीहरू भगवानसँग बालिनालीको उचित स्याहारसुसार, उब्जनी, स्वास्थ्य, मौसम र शुभलाभको कामना गर्दै चंगा उडाउँथे । केही मानिसले चंगालाई स्वर्ग र धर्तीबीच सुखद सन्देश लिनेदिने विश्वासमा उडाउने गर्छन् । आकाशमाथि चंगा उडेको देख्दा आँखा तेजिलो हुने चिनिया विश्वास राख्छन् । धेरै पहिलेदेखि नै चरा धपाउने बुख्याँचाका रूपमा, मौसमसूचक सामग्रीका रूपमा र दुष्ट आत्मा भगाउने विश्वासमा चंगामा उडान गरिन्थ्यो । अहिले पनि विभिन्न मुलुकमा चंगा उडाउनु सुखसमृद्धि कायम राख्नु हो भन्ने विश्वास छ ।

 चंगाबारे रोचक तथ्य

  • विश्वका सबभन्दा सानो चंगा ५ मिलिमिटरको उडाइएको थियो ।
  • जापानमा एकैपल्ट ११,२८४ चंगा उडाइएको थियो, जुन विश्व कीर्तिमान हो ।
  • विश्वको सबभन्दा लामो चंगा १,०३४ मिटरको उडाइएको थियो । सबभन्दा ठूलो चंगा ५५ गुण २२ मिटरको बनाइएको थियो ।
  • जापानमा २ टन तौलसम्मको चंगा बनाइएको थियो ।
  • जमिनबाट ३,८०१ मिटर उचाइसम्म चंगा उडाइएको कीर्तिमान छ ।
  • सबभन्दा बढी १८० घण्टासम्म चंगा उडाइएको थियो ।
  • सांस्कृतिक क्रान्तिको समयमा चीनमा चंगा उडाउन प्रतिबन्ध लगाइएको थियो । उडाएको पाइए तीन वर्षसम्म जेल सजाय हुन्थ्यो ।
  • थाइल्यान्डमा चंगा उडाउने ७८ नियम छन् ।
  • थाइल्यान्डमा पुरुष र महिला चंगा बनाएर एकअर्कासँग प्रतिस्पर्धा गराइन्छ ।
  • कामभन्दा चंगा उडाउनमै धेरै मान्छे व्यस्त भएपछि जापानमा सन् १७६० मा चंगा उडाउन प्रतिबन्ध नै लगाइएको थियो ।
  •  चंगाको विकसित रूप नै हवाई जहाज हो ।
  • अमेरिकाको गृहयुद्धमा संकेत र चिठी आदनप्रदान गर्न चंगा प्रयोग गरिएको थियो ।
  • चीनमा चंगा उडाउँदा स्वस्थ हुने विश्वास गरिन्छ ।
  • हरेक साता विश्वमा कहीं न कहीं चंगा महोत्सव भइरहेका हुन्छन् । इन्डोर (घेरिएको भित्री भाग) मा पनि चंगा महोत्सव आयोजना गरिन्छ ।
  • चीनबाट युरोप पुगेको महत्त्वपूर्ण वैज्ञानिक प्रविधिमा चंगालाई मानिन्छ ।
  • इन्डोनेसियामा माछा मार्न पनि चंगाको प्रयोग गरिन्छ, जहाँ चंगा पातको बनाइएको हुन्छ ।
  • न्युजिल्यान्डमा आदिवासीहरूले कपडा र प्वाँख लगाएका चंगा पनि बनाएर उडाउँछन् ।
  • ‘एक आकाश एक विश्व’ नारासहित हरेक वर्ष अक्टोबरको दोस्रो साताको आइतबार विश्वभरि चंगा उडाएर मनाइन्छ ।
  • कागजको आविष्कार हुनुभन्दा १ हजार वर्षअघि चंगा उडाउन थालिएको थियो ।
  • खेती राम्रो भएपछि खुसीयालीमा भगवान्लाई धन्यवाद दिन चंगा उडाउन थालिएको थियो ।
  • बेन्जामिन फ्रयांकलिनले चंगाको प्रयोग गरेर विद्युत् पत्ता लगाएका थिए ।
  • मानिसको उद्धार गर्न पनि चंगा प्रयोग गरिएको छ । दोस्रो विश्वयुद्धमा बेलायती सेनाले आफ्ना मान्छेको उद्धार गर्न चंगा प्रयोग गरेको थियो ।
  • बर्लिनको पर्खालमा मानिस चढ्ने सम्भावना भएकाले पूर्वी जर्मनीमा ठूलो चंगा उडाउन प्रतिबन्ध छ ।

गिनिज बुकमा चंगा

  • सन् १९९८ फेब्रुअरी २८ मा अमेरिकी नागरिक हेनरी हेल्थले स्विजरल्यान्डका एइसँग मिलेर बाह्र हजार ४७१ फिटमाथि चंगा पु¥याएर विश्व कीर्तिमान कायम गरेका थिए ।
  • विश्व कीर्तिमान राख्न सन् १९८४ अगस्ट ८ मा नेदरल्यान्ड्सका हरमन वानडेव ब्रोएपक र जोन पाइटर क्युएलले सबैभन्दा ठूलो चंगा धेरै समय उडाएका थिए । ८५८ वर्गफिट क्षेत्रफलको चंगा उनीहरूले २५ मिनेट उडाएका थिए ।
  • सबैभन्दा धेरै चंगा उडाउने व्यक्ति जापानका सदाओ हरादा हुन् । उनले एकै पटक ११ हजार २८४ वटा चंगा लस्करै एउटै डोरीमार्फत उडाएर अनौठो कीर्तिमान कायम गरेका थिए । उनले चंगा सन् १९९० अक्टोबर १८ मा उडाएका थिए ।
  • सबैभन्दा धेरै बालबालिका मिलेर एकै पल्ट चंगा उडाउँदा ३१ जुलाई २००९ मा नयाँ कीर्तिमान कायम भएके थियो । संयुक्त राष्ट्रसंघको आयोजनामा उत्तर गाजाको लाहिया मेडिटेरियन तटमा प्लालेस्टाइनका ११९ स्कुलका १५ हजार बालबालिकाले एकैपल्ट चंगा उडाएर विश्व कीर्तिमान कायम गरेका थिए ।

 चंगा उडानका नियम, कानुन, प्रतिबन्ध र युद्धसंघर्ष

  •  चीनमा सांस्कृतिक क्रान्तिको समय चंगा उडान प्रतिबवन्धत थियो । कसैले चंगा उडाएको फेला प¥यो भने चंगा नष्ट गरिन्थ्यो नै, चंगा उडाउनेलाई तीन वर्ष जेलसजाय पनि दिइन्थ्यो ।
  • थाइल्यान्डमा चंगा चेट (लडाइँ खेल) गर्ने सम्बन्धी ७८ वटा नियम बनेका छन् ।
  • मानिसले काम गर्न छाडेर चंगा उडाउन थालेपछि सन् १७६० मा जापानमा चंगा उडानमा प्रतिबन्ध लगाइएको थियो ।
  • अमेरिकी गृहयुद्धमा चंगालाई चिठीपत्र र अखबार ओसारपोसारमा प्रयोग गरिएको थियो ।
  • तत्कालीन पूर्व जर्मनीमा ठूूला चंगा उडानमा प्रतिबन्ध लगाइएको थियो । कारण– चंगामा बसेर कसैले बर्लिनको पर्खाल पार गर्लान् भन्ने त्यहाँका अधिकारीहरूको चिन्ता ।
  • रसियनहरूले युद्धको समयमा टोरपेडोज (समुद्री जहाज ध्वस्त पार्ने ट्युब आकारको बम) ओसारपोसारमा पनि यसलाई प्रयोगमा ल्याएका थिए ।

यस्तो हर्कत कहिल्यै नगर्नू

केहि समय अगाडी यसै मौसममा काठमाडौं स्वयम्भुको एक घरमा एक घटना भयो । पानी परेर भर्खर बिदा भएको थियो । नौदस वर्षको बच्चा चंगा उडाउन हौसिदै घरको छतमा गयो । हावा चलेकाले चंगा हल्का उड्दै थियो । अचानक चंगाको डोरी बिजुलीको हाइटेनसन लाइन छुन पुथ्यो । त्यो डोरी पानीले भिजेकाले चिसो रहेछ । हाइटेनसनको शक्तिशाली करेन्ट डोरी हुँदै बालकको शरीरसँग आइपुग्यो । त्यसले बच्चा बेहोस भयो । अस्पताल पु-याइए पनि निको हुन नसकेर बालकको निधन भयो ।
यो उदाहरण मात्र हो । एक आकडाअनुसार विश्वमा एक वर्षमा कम्तिमा पनि १२ जनाको मृत्यु चंगा उडाउँदा दुर्घटनामा परेर हुन्छ । त्यसैले यस्ता घटनाबाट जोगिन विद्युत लाइन, वरिपरि वाल भएको सुरक्षित छत वा खुला ठाउँ, सुक्का डोरीको प्रयोग गरौं ।  -एजेन्सीको सहयोग

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top