भूकम्पपछिको पुनःनिर्माण
तामाङ समुदायमात्रको वसोवास भएको त्यो पनि निम्न स्तरका नागरिकहरूको दुर्गम वस्ती हो, नुवाकोटको कुमरी–५ नेपाने गाउँ । तर, प्रकृतिले भने यथाह स्रोत, साधन अनि सुन्दरता र वरदान यहाँ दिएको त छ । तैपनि राज्यले दिन कहिल्यै केही सकेन र सधैँ कँञ्युस्याई मात्रै गरिरह्यो । यसैले राज्यको सधैँ ओझेलमा परिरह्यो । सरकारी उपेक्षाको सिकार बनेको यो वस्तीमा स्थानिय समाजसेवी र केही नेताबाहेक राज्यको हेर्ने आँखा भने आजसम्म उस्तै छ ।
शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी र यातायातजस्ता आधारभूत आवश्यकताको विकासमा एक्लिएको नेपानेको लागि अत्यावश्यक मानिएको विद्यालय शिक्षासमेत दयनिय अवस्थामै वर्षौँसम्म गुज्रिरह्यो । पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार भनिएपनि तर, त्यसैको परिणाम अर्थात् राज्यको वेवास्ताकै कारण मान्नुपर्छ, यहाँका कुनैपनि बालबालिकाले राम्रो शिक्षा आर्जन गर्न पाएनन् । २०४५ सालमा वस्तीको बीचमा स्थापना भएको सामान्य स्तरको विकास निम्न माध्यामिक विद्यालय सञ्चालन हुँदै आईरहेपनि शिक्षक दरबन्दी, पुस्तकालय, सौचालय, खानेपानी र विषेशगरी विद्यालय भवनजस्ता भौतिक पुर्वाधार एवं संरचनाको अभाव विद्यार्थीहरूले भोग्दै आइरहेका थिए । जाडो, गर्मी, झरी र हावाहुरी झेल्नुपर्ने कलिला बालबालिकाको अर्को ठूलो बाध्यता थियो । अझ जिल्लाका हरेक गाउँमा विद्यालयहरूको आफ्नै भवन भइसक्दासमेत यस विद्यालयका विद्यार्थीहरू भने केही वर्षअघिसम्म चौतारोमूनी बसेर पढ्नुपरेको बाध्यताको कहानी सुनाउँछन् यहाँका स्थानीयहरू ।
एक वर्षअघिको भूकम्पले विद्यालय भवन पनि जगैदेखि ढलेर माटोमा मिलेपछि पठनपाठन नै ठप्पझैँ बनेको विद्यालयको फेरी नयाँ भवन निर्माण हुनु त कल्पनाभन्दा टाढाको विषय थियो नेपानेवासीका लागि । पछि जिल्ला शिक्षा कार्यालयले दिएको अस्थाई सिकाई केन्द्र (टिएलसी) मा पनि अपुग र साँघुरो कक्षाकोठाको कारण दैनिक पठनपाठनलाई धान्नसमेत मुस्किल परेपछि शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई सधैँ टाउको दुखाईको अर्को विषय बन्यो ।
तर, समय उस्तै रहेन । कुमरी गाउँ नेपानेकै स्थानीय समाजसेवी जगत लामा (गुरूङ) स्थानीय गाउँले र करिब ४ सय विद्यार्थीहरू अध्ययनरत विद्यालयका लागी यस्तो विपत्तीमा साथ दिन आइपुगे, साक्षत् भगवानझैँ बनेर । गरिबहरूलाई स्वास्थ्य सेवाको सहज पहुँच बढाउन यसअघि सोही गाउँमा सुकुमान मेमोरियल पोलिक्लिनिक नामक स्वास्थ्य संस्था स्थापना गरेर चर्चा र सम्मान बटुलेका जगत कुमरी गाविसकै तारा मानिन्छन् ।
विद्यालय भवनसहित सम्पूर्ण संरचनाको पुनःनिर्माणका लागि उनले आफ्नै पहलमा अन्तराष्र्टिय सामाजीक संस्थालाई गुहारे । ट्रेकिङ फर किड्स, वासिङ्टन डिसी र हेल्थ एण्ड इडी फोर नेपाल, कोलोराडो गरी दुई दातृ संस्थासँगको सहकार्यमा लामा आफैँ अध्यक्ष रहेको संस्था नेपालका लागि शिक्षा र स्वास्थ्य (हेल्थ एण्ड एजुकेशन फर नेपाल) मार्फत् विद्यालय निर्माणमा सहयोग रकम जुटाए । डेढ रोपनी क्षेत्रफल जमिनमा निर्माण भएको सौचालय, खानेपानी धारा, कम्पाउण्डसहितको विद्यालयको भव्य भवन नुवाकोट जिल्लाकै आकर्षक मात्रै छैन, नमुना नै बनेको छ । विद्यालयमा आधुनिक पुस्तकालय, कम्प्यूटर ल्याब र ८ वटा सुविधासम्पन्न कक्षाकोठासहित विद्यालयको आधुनिक गेट, फराकिलो खेलकुद मैदान, ५ वटा खानेपानीका धारा, छात्र तथा छात्राहरूलाई बेग्लाबेग्लै गरी दुईवटा सुविधायुक्त सौचालय बनेका छन् ।
नेपानेगाउँको डाँडामा अवस्थित विद्यालयको चारैतर्फका सुन्दर र मनमोहक डाँडापाखा, हरियाली वनजंगल र नजिकका घरवस्तीले यसको सुन्दरतालाई थप आकर्षक र शोभा बढाइदिएको छ । १ करोड ५ लाख रूपैयाँको लागतमा निमाण सम्पन्न भएको विद्यालयलाई ट्रेकिङ फर किड्स, वासिङ्टन डिसीले ४५ हजार र हेल्थ एण्ड इडी फोर नेपाल, कोलोराडोले ६० हजार अमेरिकन डलर सहयोग पु¥याएको संस्थाका शंकर खड्काले सार्वजनिक गर्नुभएको आयव्यय विवरणमा उल्लेख छ । हेल्थ एण्ड एजुकेशन फर नेपालले केही दिनअघि उद्घाटन गर्दै नवनिर्मित भवन विद्यालय सञ्चालक समितिलाई हस्तान्तरण गरिसकेको छ ।
सम्पूर्ण संरचनासहित नवनिर्मित अत्याधुनिक विद्यालय भवनको केही दिनअघि स्थानिय अभिभावक, विद्यार्थी लगायत सञ्चारकर्मीहरूको सहभागितामा राष्ट्रिय योजना आयोगका सदस्य डा.चन्द्रकान्त पौडेलले उद्घाटन गरे । दुई दशक लामो समयसम्म सोही गाउँमा रहेर शिक्षण पेशामार्फत् शिक्षाको विकासमा योगदानमा पु¥याएका पौडेलले जगत लामाजस्तो समाजसेवीको आगमन यहाँका जनताका लागी वरदान सावित भएको दाबी गर्दै उनको संस्थामार्फत् शिक्षा क्षेत्रमा गरेको मेहनतको चर्चा गरे । ‘हिजो आफूले पढाएको विद्यार्थीले शिक्षाको लागि मैले कल्पनासम्म पनि नगरेको सामाजिक काम गरेको देख्दा आज म आफैँ लज्जित छु र गर्व पनि गर्दैछु, जगतको सामाजिक भावना र उनको संस्थाको सक्रियताको प्रशंसा गर्दै पौडेलले भने, विगतमा मैले यो गाउँमा पढाउँदा विद्यालयमा पढ्न जाने विद्यार्थी र पठाउने तिनका अभिभावकहरूको कमी मात्रै थिएन । शैक्षिक गुणस्तर पनि कमजोर थियो ।’
माओवादी जनयुद्धताका पढाउँदा–पढाउँदै आफू र आफ्ना विद्यार्थीहरूलाई तत्कालिन राज्यव्यवस्थाले दुःख दिएपछि भूमिगत हुन बाध्य बनाएको कथा सुनाउँदै यसै विद्यालयका पूर्वप्रद्यानाध्यापक शम्भु पनेरूले विगतको तुलनामा अहिले सबै प्रकारका क्रास र असुरक्षा हटेर विद्यालयले नयाँ जिवन पाएकोमा खुसी व्यक्त गर्छन् । यसको श्रेय समाजसेवी जगतलाई जाने भन्दै उनको गाउँवासीसँग आग्रह छ, ‘उनको यो प्रयास र योगदानलाई सम्मान गर्दै हामी कुमरीवासीले थप स्यावासी दिनुपर्छ, ताकी, उनमा झन् उत्साह र मनोबल बढोस् । आखिर त्यो हाम्रै हितमा हुनेछ ।’ पूर्व विद्यार्थी नेता एवं अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रिय सदस्य केशव पुडासैनीले दुर्गम वस्तीमा सरकारले पनि गर्न नसकेको शैक्षिक क्रान्ति एक्लो व्यक्तिबाट सम्भव भएकोमा जगतको उचित मुल्यांकन राज्यले गर्नुपर्नेमा जोड दिए ।
समाजको आमूल परिवर्तनका लागि उठेको १० वर्षे माओवादी जनयुद्धमा फैलिएको उभार र जागरणको नुवाकोट जिल्लाकै केन्द्र मानिन्छ कुमरी गाउँ । परिवर्तनकारी आन्दोलन शिक्षा दिएको जनयुद्धपछिको शान्ति स्थापनासँगै मुलुकमा सुरू भएको विकासको लहर ल्याउने भावनाले विदेशमा रहेका जगत आफू जन्मे हुर्केको गाउँ कुमरी फर्किएका थिए । ‘धनसम्पति, सुविधाले ऐसआराम र विलासी जीन्दगी त पाइएला, तर समाजसेवामा मिलेको सम्मान अनि गरिब जनताले दिएको मायाबाट प्राप्त जति सन्तुष्टि र आनन्द अरू पाउन सकिँदैन ।’
सडक, बाटो, बिजुली, स्वास्थ्य सेवा र विद्यालयको विकास अभियानमा होमिएको १० वर्षमा उनले गाउँको मुहारै फेरिदिएका छन् । अहिले नवनिर्मित विद्यालयबाटै अक्षर सिकेका उनलाई जिल्लामै सम्भवतः पहिलो सुविधायुक्त विद्यालय भवन बनाउने अवसर विनासकारी भूकम्पले पनि जुराइदियो । दुईछाक टार्नसमेत धौ–धौ पर्ने परिवारमा जन्मिएर शौचालय, पिउनेपानी र डेक्सबेन्च बिनाको साँघुरो अनि धुलो उड्ने कक्षाकोठामा विभिन्न कठिनाई भोग्दै पढेर यो हैसियत बनाएका जगतले आफ्नै अग्रसरतामा अहिलेका बालबालिकालाई शान्तिपुर्वक अध्ययन गर्ने वातावरण बनाउन सकेकोमा उत्साहित छन् ।
विजयी भावमा जगत आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘कुनैबेला यस्तो समय पनि थियो, जतिबेला स्कुलमा सौचालयको अभावले हामी पिसाव आउला भनेर प्यास लाग्दा पानीसमेत पिउँदैनथ्यौँ, उनी विगत सम्झँन्छन्, ‘आज यस्ता थुप्रै समस्या हल गर्न पाएको छु र जिवनको सबैभन्दा बढी सन्तुष्टि यसमै मिलेको अनूभूति गरेको छु ।’ त्यसो त उनले आफ्नो अनुरोधमा आफु उनी अध्यक्ष रहेको हेल्थ एण्ड एजुकेशन फर नेपालमार्फत् विकासको काम गर्ने अवसर मिलाइदिने दातृ संस्था ट्रेकिङ फर किड्स र हेल्थ एण्ड इडी फोर नेपालको सहयोगलाई विषेश योगदान मानेका छन् । यी दुई संस्थालाई यहाँका गाउँलेलेसमेत हार्दिकतापूर्वक भगवानलाईजस्तै सम्मान गर्छन् । कारण, यिनै संस्थाको आगमनले कुमरीवासीले नसोचेको धेरै विकास पाएका छन् ।
विद्यालयको निर्माणले यहाँ सबैभन्दा बढी नेपानेका अभिभावक र विषेशगरी विद्यार्थीहरू नै खुसी छन् । आवश्यक सबै पुर्वाधार र खेलकुद मैदानदेखि कम्प्यूटर शिक्षा, पुस्तकालयजस्ता सुविधाको उपलब्धताले उनीहरूमा नयाँ उर्जा अनि उत्साह मात्रै थपिएको छैन, यसको प्रभावले पठनपाठनको गुणस्तर नै बदलिएको छ । विद्यार्थीहरूको अनुभवले पनि यही भन्छ । ३ सय ७८ जना विद्यार्थीहरू अध्ययनरत यस सामुदायिक विद्यालयले नीजी विद्यालयसरह प्रतिष्पर्धा गर्ने क्षमता राख्छ । आफ्ना विगतका भोगाई र अनुभव सुनाउँदै विद्यार्थीहरू भन्छन्, ‘राम्रो कक्षाकोठा, ट्वाइलेट र खानेपानी विद्यालयमा नहुँदा पहिला पढ्न नि जाँगर लाग्दैनथ्यो ।
कतिपय साथीहरू त विद्यालय पनि नियमित आउन मान्दैनथे, विद्यार्थीहरू भन्छन्, अहिले सबै पढ्न आउँछन् । कतिबेला कक्षा सुरू हुने समय आउला र विद्यालय पुगिहालौँजस्तो हामीलाई हुन्छ ।’ संस्थाको सहयोगमै स्थापना भएको पुस्तकालयले विद्यार्थीहरूमा नियमित अध्ययन गर्ने बानिको विकास गरिदिएको छ । गाउँमा कहिल्यै कम्प्यूटर नदेखेका बालबालिकाको कम्प्यूटर शिक्षाप्रतिको आकर्षण पनि बढाइदिएको छ । विद्यालयका प्रद्यानाध्यापक रामबाबु पुडासैनी शिक्षकहरूको शिक्षण अनुभूति र अभिभावकमा थपिएको पछिल्लो जागरण एकैपटक सुनाउँदै भन्छन्, ‘दुर्गम ग्रामिण भेगमा बनेको सुविधासम्पन्न विद्यालयमा उपलब्ध सबै स्रोतसाधनको सहज पहुँचले गर्दा पनि होला शिक्षकहरूमा पढाउने जाँगर पनि बढेको छ, पुडासैनी भन्छन्, ‘संस्थाले गाउँलेकै लागि यति ठूलो लगानी यस्तो दुर्गम ठाउँमा गरिदिएपछि अभिभावकमा पनि अपनत्व वृद्धि भएको देखिन्छ । योसँगै पढाईको गुणस्तर बढेपछि हाम्रै सन्तानका लागि हो, त्यसैले विद्यालय पठाउनुपर्छ भन्ने जागरण थपिएको छ ।’
प्रतिक्रिया