+
Search

ताजा अपडेट +

पपुलर +

तीन महिना बितिसक्दा पनि नीतिगत खाका र भूगर्भ सर्वेक्षणको प्रतीक्षा, विदुरमा पुन:स्थापना र ऋणको भार उस्तै

डबली खबर
२ मिनेट अगाडी

मङ्सिर ८, नुवाकोट । प्राकृतिक विपद् बाढीले पुर्‍याएको क्षतिको तीन महिना बितिसक्दा पनि सङ्घीय सरकारबाट ठोस नीतिगत खाका र प्राविधिक अध्ययन नआउँदा विदुर नगरपालिकाका बासिन्दा तथा स्थानीय सरकार अन्योल र दबाबमा परेका छन्।

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित जलवायु कार्य सप्ताहको गोलमेच छलफलमा बोल्दै नगरप्रमुख राजन श्रेष्ठले विपद्पछिको उद्धार र प्रारम्भिक राहतपछि अब दीर्घकालीन पुनर्स्थापना र आर्थिक सङ्कट समाधानतर्फ निर्णायक कदम चाल्न ढिलाइ भइरहेको बताए ।

प्रमुख श्रेष्ठका अनुसार बाढीले प्रभावित क्षेत्रका बस्तीहरूको जोखिम मूल्याङ्कन गर्न नेपाल सरकारले विशेषज्ञसहितको भूगर्भ सर्वेक्षण टोली पठाउनु अत्यावश्यक थियो, तर त्यसको स्पष्ट खाका अझै आउन सकेको छैन। कुन क्षेत्र बसोबासका लागि सुरक्षित छ, कहाँ बस्ती सार्नुपर्छ र त्यसका लागि नेपाल विद्युत् प्राधिकरण (जलविद्युत्) स्वामित्वका जग्गा, वन क्षेत्र वा विद्यालय तथा सार्वजनिक जग्गामध्ये कुन विकल्प प्रयोग गर्ने भन्ने निर्णय सङ्घीय तहबाटै हुनुपर्ने भएकाले स्थानीय तहले चाहेर पनि स्थायी बसोबासको प्रक्रियालाई पूर्ण गति दिन नसकेको उनले उल्लेख गरे ।

त्यसैगरी, बाढीले खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको, घरजग्गा तथा व्यवसायमा गरिएको लगानी बगाएको र जीविकोपार्जनको आधार गुमेको अवस्थामा पीडित नागरिकमाथि ऋण र ब्याजको दबाब कायमै रहेको प्रमुख श्रेष्ठले औँल्याए ।

सम्पत्ति र आम्दानी दुवै गुमाएका नागरिकले तत्काल ऋण तथा ब्याज तिर्न नसक्ने अवस्था रहेको भन्दै उनले नेपाल राष्ट्र बैङ्कले ल्याएको तीन महिनाको सहुलियत अवधि सकिएपछि प्रभावितहरू झन् मारमा पर्न सक्ने चिन्ता व्यक्त गरे । संवेदनशील अवस्थामा पीडितलाई तत्काल राहत पुग्ने गरी ऋण तथा ब्याजमा व्यावहारिक र दीर्घकालीन सम्बोधन गर्न सङ्घीय सरकार तथा सम्बन्धित निकायको विशेष ध्यान जानुपर्ने उनको भनाइ थियो।

अस्थायी रूपमा ‘सेल्टर टु रुम, रुम टु होम’ अवधारणाअन्तर्गत भाडाका कोठामा आधारभूत सामग्रीसहित प्रभावितलाई व्यवस्थापन गरिए पनि अबको चरणमा स्पष्ट नीति, भूगर्भविद्को प्रतिवेदन र ऋणसम्बन्धी ठोस निर्णय बिना पुनर्स्थापना दिगो नहुने प्रमुख श्रेष्ठले स्पष्ट परे ।

समयको सीमा र पीडितको वास्तविक अवस्थालाई बुझेर सङ्घीय सरकारले छिटो निकास दिनुपर्ने उनको जोड थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ