कात्तिक १२, नुवाकोट । बेत्रावती जुडो डोजोले आफ्ना १२ खेलाडीहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको विनाशकारी बाढीमा परी जुडोका १२ जना खेलाडीले ज्यान गुमाएका थिए ।
बुधबार एक कार्यक्रमकाबिच जुडो खेलको विकास र प्रवर्द्धनका साथै दिवंगत व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको थियो ।
कार्यक्रममा तेक्वान्दो डोजाङ्ग नुवाकोटका अध्यक्ष रामहरी पाण्डे, तेक्वान्दो प्रशिक्षक हरिहर पाण्डे, बेत्रावती जुडो डोजोका अध्यक्ष गङ्गाबहादुर डङ्गोललगायत खेलाडी, अभिभावकले सहभागीता जनाएका थिए ।
डोजोका प्रशिक्षक सञ्जित डङ्गोलका अनुसार अझै ८ जना खेलाडी बेपत्ता छन्। नुवाकोटमा जुडो खेलको प्रवर्द्धनका लागि जापानी नागरिकहरूको करिब २० लाख सहयोगमा निर्माण गरिएको जुडो भवन बाढीले पूर्ण रूपमा बगाएको उनले बताए। बेत्रावती अहिले बगर बनेको छ।
खेलाडीहरू विद्यालय जान घरमा तयारी अवस्थामा वा बाटोमै रहेका बेला बाढी आएको प्रशिक्षक डङ्गोलले बताए। बाढी गएको करिब एक महिनासम्म उनले खेलाडीहरूको खोजीमा हिँडे। नुवाकोटका सबै होल्डिङ सेन्टरहरूमा खोज्न गएको उनले सुनाए। सुरुमा तीन जना खेलाडी भेटिएपछि अलि मन आनन्द भएको उनले बताए। त्यसपछि अरू खेलाडीहरू खोज्न थप प्रयास गरेको उनको भनाइ छ।
कुल ६७ जना खेलाडीमध्ये राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता १२ जनाले ज्यान गुमाए भने अन्य खेलाडीहरूसँग विस्तारै सम्पर्कमा पुगेको डङ्गोलले जानकारी दिए।
तत्काल खेलाडीहरूलाई राहत दिन नसके पनि केही समयपछि जापानी सहयोगीहरूको सहयोगमा राहत वितरण गरिएको उनले बताए। जापानी पक्षले खेलाडीहरू र उनीहरूका परिवारलाई लिएर बस्ती नै बसाउन एकीकृत भवन निर्माण गर्ने लक्ष्य राखेको बेत्रावती जुडो डोजोका अध्यक्ष गङ्गाबहादुर डङ्गोलले जनाए।
बेत्रावती क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। जुडो खेलाडी र उनीहरूका परिवारसमेत यस विपत्तिबाट गम्भीर रूपमा प्रभावित भएका छन्। बेपत्ता खेलाडीहरूको अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको प्रशिक्षक डङ्गोलले बताएका छन्।