कार्तिक २, काठमाडौं । दसैँमा सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुँदा यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्न सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
सशस्त्र प्रहरीले सोमबारदेखि लगातार तीन दिनसम्म दुईवटा बसमार्फत् सर्वसाधारणलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको हो।
बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने उक्त सेवाबाट उपत्यकाका विभिन्न स्थानमा आवतजावत गर्ने यात्रु लाभान्वित हुनेछन्।
सशस्त्र प्रहरी बल, नेपालका अनुसार एउटा बस प्रधान कार्यालयबाट प्रस्थान गरी बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा दिनेछ।
त्यस्तै, अर्को बस प्रधान कार्यालयबाटै प्रस्थान गरी सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै सञ्चालन हुनेछ।
दसैँका बेला सार्वजनिक यातायातका साधन कम चल्ने भएकाले यात्रुले आवागमनमा समस्या भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पर्वका समयमा सर्वसाधारणलाई सहज यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो सेवा सञ्चालन गरिँदै आएको छ।