+
Search

ताजा अपडेट +

पपुलर +

रित्तिँदा गाउँको कारुणिक यथार्थः मर्मस्पर्शी भाकामा ‘खै कहाँ छ मेरो गाउँ’

डबली खबर
१८ घण्टा अगाडी

असोज १८, नुवाकोट । विनाशकारी बाढीले गाउँनै उजाड बनाएको नेपाली मौलिक परिवेशको कारुणिक यथार्थलाई शब्द र संगीतमा ढालेर नयाँ सांगीतिक कोसेली ‘खै कहाँ छ मेरो गाउँ’ सार्वजनिक गरिएको छ। सिता अधिकारीको प्रस्तुति र गायक प्रचण्डबाबु राईको कर्णप्रिय आवाजमा सजिएको उक्त गीत हालै आधिकारिक युट्युब च्यानलमार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको हो ।

गीतमा गीतकार उमेश लम्सालका अत्यन्तै भावुक, यथार्थपरक र मार्मिक शब्द रचना रहेका छन् भने संगीतकार हरि लम्सालले शब्दको गम्भीरतालाई न्याय हुने गरी लय सिर्जना गर्नुभएको छ।

दिक्षित पौडेलको उत्कृष्ट संगीत संयोजन र प्रकाश मिश्रको सन्तुलित मिक्सिङ तथा मास्टरिङले गीतको सांगीतिक पक्षलाई अझ जीवन्त, परिपक्व र निखारिएको बनाएको छ। एकोस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको यस अडियो उत्पादनले प्राविधिक शुद्धताका साथै नेपाली सुगम संगीतको पारम्परिक र आधुनिक चेतनालाई सुन्दर ढंगले संयोजन गरेको स्पष्ट देखिन्छ।

केवल अडियोमा मात्र सीमित नरही यसको भिडियो पक्षलाई पनि उत्तिकै सशक्त, कलात्मक र कथात्मक बनाइएको छ। निर्देशक शिवन पोखरेलको कथा तथा निर्देशनमा तयार पारिएको यस भिडियोमा स्वयं गायक प्रचण्डबाबु राई र अभिनेत्री पवित्र आचार्यको जीवन्त अभिनय देख्न सकिन्छ।

भिडियोमा प्रस्तुत गरिएको विनाशकारी बाढीले जीवनको आत्मीयता र विगतका मीठा सम्झनाहरूको साथै गाउँको मर्मलाई पात्रहरूको अभिनयले अझ प्रभावकारी बनाएको छ।

सुदीप मैनालीको क्यामेरा र ईश्वर वल्लभ उप्रेतीको उत्कृष्ट निर्देशक एवं छायांकनले प्राकृतिक दृश्यहरूलाई कलात्मक रूपमा क्यामेरामा कैद गरेको छ भने निरञ्जन केसीको चुस्त सम्पादनले दृश्यको भाव प्रवाहलाई निरन्तर र प्रभावकारी बनाएको छ।

योगेन्द्रको व्यवस्थापन तथा सुमन शंकरको शृङ्गारले भिडियोको प्राविधिक तथा दृश्य गुणवत्तालाई उकास्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ