+
Search

ताजा अपडेट +

पपुलर +

कक्षा १ मै पाठ फरर

खेल्दै, गाउँदै, पढ्दै दुप्चेश्वरका बालबालिका

डबली खबर
१९ घण्टा अगाडी

असोज १८, दुप्चेश्वर । कक्षाकोठाको भित्ताभरि अक्षरहरू छन् । अक्षरसँगै शब्द र रंगीन चित्रहरू छन् । कोही बालबालिका भित्तामा टाँसिएका अक्षर खोज्दै दौडिन्छन्, कोही अक्षर छोएर उच्चारण गर्छन् । कोही पुस्तक पल्टाउँदै कथा पढिरहेका छन् भने कोही साथीको कानमा फुसफुसाइरहेका छन् । कक्षाकोठा हेर्दा लाग्छ यहाँ पढाइ भइरहेको छैन, बालबालिकाको रमाइलो खेल चलिरहेको छ । तर यही खेलभित्र उनीहरू अक्षर चिन्न, शब्द पढ्न, वाक्य बनाउन र कथा सुनाउन सिकिरहेका छन् । उनीहरु विभिन्न परियोजना र सिर्जनात्मक कार्य गर्छन् । यो दृश्य हो नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित रुक्मणी माध्यमिक विद्यालयको कक्षा १ को । कक्षामा रहेका १४ बालबालिकाले अहिले नेपाली भाषाको अभ्यास पुस्तक फरर पढ्न सक्छन् । सरल भाषामा लेखिएका कथाहरू हाउभाउ र अभिव्यक्तिसहित सुनाउन सक्छन् । आफूले बनाएको वाक्य साथी र शिक्षकलाई सुनाउन उनीहरूबीच तँछाडमछाड हुन्छ । शिक्षकको प्रश्नको उत्तर दिन होडबाजी नै चल्छ । आफ्नो कुरा निर्धक्क अभिव्यक्त गर्न सक्छन् ।

 Rukmani Secondary School

नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित रुक्मणी माध्यमिक विद्यालयको कक्षा १

भित्तामा अक्षर, सिकाइमा खेल र गीत

कक्षा १ की भाषा शिक्षिका सुस्मा डंगोल यस विद्यालयमा १७ वर्षदेखि अध्यापनरत छिन् । उनको शिक्षण शैली भने अहिले पहिलेभन्दा निकै फरक छ । उनी कागज काटेर विभिन्न आकृति बनाउँछिन् । अक्षर र शब्द लेख्छिन् । रंगीन चित्र बनाउछिन् र कक्षाकोठाका भित्तामा टास्छिन् । बालबालिकाहरू ती अक्षर र शब्द खोज्छन्, छुन्छन्, उच्चारण गर्छन् र एकअर्कासँग छलफल गर्छन् । कहिले खेल खेलाउँदै, कहिले गीत गाउँदै त कहिले चित्र तथा अन्य शैक्षिक सामग्री देखाउँदै डंगोल बालबालिकालाई सिकाउँछिन् । कहिले जोडी बनाएर छलफल गराउँछिन् । यहाँ शिक्षक बोलेर बालबालिका सुन्ने मात्र हुँदैन । बालबालिकाले शिक्षकसँग प्रश्न गर्छन् साथीहरूसँग छलफल गर्छन् र आफूले सिकेको कुरा आफ्नै शब्दमा व्यक्त गर्छन् । सिकाइमा पछि परिरहेका बालबालिकाले पनि कक्षामै थप अभ्यास गर्ने अवसर पाउँछन् ।

शिक्षक डंगोलका लागि यो परिवर्तन केवल कक्षाकोठाको सजावटमा आएको परिवर्तन होइन, शिक्षण गर्ने आफ्नै सोचमा आएको परिवर्तन पनि हो । उनी भन्छिन्, “पहिले बालबालिकाले अक्षर चिन्न र पढ्न निकै संघर्ष गर्थे । अहिले बालबालिकाले एकैपटक पढ्न सकेको देख्दा मनै आनन्दित हुन्छ । उनीहरू जोडीमा वाक्य बनाएर सुनाउँदा औधी खुसी मान्छन् ।”

उनका अनुसार नयाँ अभ्यासले आफूलाई पनि बालबालिकाले कसरी सिक्छन् भन्ने बुझ्न मद्दत गरेको छ । उनी थप्छिन्, “मेरो आफ्नै शिक्षण शैलीमा पनि परिवर्तन भएको छ । बालबालिकाले कसरी सिक्छन् भन्ने कुरा थाहा पाएको छु ।”

आफ्नो बच्चाले छिट्टै पढ्न सिकेको देखेर अभिभावक कुमारी तामाङ भन्छिन्, “गीत गाउँदै, खेल खेल्दै पढ्न पाउँछ भनेर मेरो बच्चा खुसी हुँदै स्कुल जान्छ । किताबका अक्षरहरु पढ्न सक्ने भएको छ ।”

Children run around searching for the letters stuck on the walls.

बालबालिका भित्तामा टाँसिएका अक्षर खोज्दै

बालबालिकाको पुस्तक मोह

रुक्मणी माविमा सिकाइ कक्षाकोठाको पाठ्यपुस्तकमै सीमित छैन । विद्यालयका कक्षाकोठामा रंगीन बाल साहित्यका पुस्तकहरू पनि छन् । बालबालिकाले पुस्तकालय तथा कक्षामा पुस्तक पढ्ने मात्र होइन, आवश्यकता अनुसार घरमै लगेर पढ्ने अवसरसमेत पाउँछन् ।

रंगीन चित्रसहितका पुस्तकमा रहेका रमाइला कथा उनीहरूका लागि जीवन र जगत बुझ्ने माध्यम बनेका छन् । त्यसभन्दा पनि पर, ती पुस्तकले उनीहरूलाई कल्पनाको संसारमा पुर्‍याइरहेका छन् । पुस्तकमा देखेका चित्रहरु कोर्न बालबालिका उत्साहित देखिन्छन् । कथा पढ्दा पात्रको हाउभाउ नक्कल गर्छन् । यसले उनीहरूमा पुस्तकप्रतिको आकर्षण बढ्दै गएको देखाउँछ ।

कक्षा २ मा पढ्ने साल्भिना तामाङ सुनाउँछिन् ,“मलाई रंगीन कथाहरु पढ्न रमाइलो लाग्छ ।‘तुइन’ कथा धेरै मनपर्यो ।”

शिक्षक उषा तामाङका अनुसार बालबालिका अहिले कथा पढेर मात्र बस्दैनन्, त्यसलाई हाउभाउ र अभिव्यक्तिसहित सुनाउन पनि सक्छन् ।

teacher teaching in classroom

कथा सुनाउँदै शिक्षक

बदलिएको शिक्षक र कक्षाकोठा

विद्यालयका प्रधानाध्यापक मुकुन्द थापा शिक्षकहरूको सक्रियता र बालबालिकाको सिकाइ उपलब्धिबाट सन्तुष्ट छन् । उनी थप्छिन्,“शिक्षकहरूले विषयवस्तु सिकाउन मेहनत गर्नुहुन्छ र पोख्त पनि भएका छन् । बालबालिकाहरू सक्रिय रूपमा सिकाइमा सहभागी हुन्छन् । सिकाइ उपलब्धि उत्साहजनक छ ।”

कक्षा अवलोकनका क्रममा शिक्षा शाखा प्रमुख सीतादेवी शर्माले पनि बालबालिकाको सक्रिय सहभागिता, बालमैत्री कक्षाकोठा र शिक्षकको सिकाउने शैलीमा आएको परिवर्तनले शिक्षण सिकाइमा सुधार भएको बताईन् । परिवर्तन बालबालिकामा मात्रै आएको छैन । शिक्षकको भूमिका, कक्षाकोठाको वातावरण र सिकाउने तरिका तीनै पक्षमा परिवर्तन देखिएको छ ।

students learning and reading story

विद्यार्थीहरू कथामा रमाउँदै

पालिकाभरि फैलिएको अभ्यास

रुक्मणी माविमा देखिएको यो अभ्यास यस विद्यालयमा मात्रै सिमित छैन । दुप्चेश्वर गाउँपालिकाको आयोजना तथा रुम टु रिड र रुडेक नेपालको प्राविधिक सहयोगमा शैक्षिक सत्र २०८२ देखि प्रारम्भिक कक्षा पठन सिप कार्यक्रम सञ्चालनमा आएपछि यस्तो अभ्यास सुरु भएको हो ।

कार्यक्रम अन्तर्गत शिक्षक तालिम, रोष्टर प्रशिक्षक तालिम, अनुगमन तथा पुस्तकालयका लागि पुस्तक उपलब्ध गराउने काम भइरहेको रुम टु रिडका जिल्ला कार्यक्रम संयोजक राधाकृष्ण हुमागाईं बताउँछन् ।

रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले शिक्षक तालिम, शैक्षिक सामग्री तथा भौतिक सहयोगले बालबालिकाको सिकाइलाई टेवा पुगेको दाबी गरे ।

बालबालिकाका लागि नयाँ सिकाइको बाटो कोरेका दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाका अनुसार बालबालिकाको सिकाइमा उल्लेखनीय सुधार भएको छ । उनी भन्छन्,“पालिकाले सुरुवात गरेको यस कार्यक्रमले पहिलो वर्षमै उत्साहजनक परिणाम देखाउँदा म खुसी छु ।”

पालिकाका ४१ सामुदायिक विद्यालयका करिब दुईहजार दुईसय विद्यार्थी यस कार्यक्रमबाट प्रभावकारी शैक्षिक वातावरणमा पठनपाठन गर्ने अवसरमा जोडिएका छन् । कुनै समय अक्षर चिन्नै संघर्ष गर्ने बालबालिका अहिले अक्षर खोज्दै कक्षाकोठाभरि दौडिरहेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ