असोज १५, नुवाकोट । भोटेकोशी-त्रिशूली नदिमा आएको बाढीको कारण सुगतपुर विहार रहेको क्षेत्रमै हाल त्रिशुली नदी बग्न थालेपछि ऐतिहासिक विहारको पुनर्निर्माणका लागि नयाँ स्थानको पहिचान तथा विहार क्षेत्रको सीमाङ्कन गर्न माग गरिएको छ।
सुगतपुर विहार संरक्षण समितिका संरक्षक भिक्षु मैत्री महास्थविर, भिक्षु सारद, समितिका अध्यक्ष आनन्द राज शाक्यलगायतले उपप्रमुख प्रभा बोगटी तथा वडा नं. १ का वडाध्यक्ष लेलिन रञ्जितको उपस्थितिमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा बाढीका कारण विहार क्षेत्र पुनर्निर्माणका लागि उपयुक्त नरहेको भन्दै विहार क्षेत्रको नक्साङ्कन तथा सीमाङ्कन गरी आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
सीमाङ्कन भएपछि स्थानीयवासी तथा स्वदेशी–विदेशी बुद्धधर्मप्रेमीबाट सहयोग परिचालन गरी विहार पुनर्निर्माण गर्ने बाटो खुल्ने संरक्षण समितिका अध्यक्ष शाक्यको भनाइ छ। समितिले पुनर्निर्माणका लागि विदुर नगरपालिका तथा सरकारबाट समेत आवश्यक सहयोगको अपेक्षा गरेको छ।
बाढीको कारण विहारको भौतिक संरचनामा पूर्णरूपमा क्षति पुर्याउनुका साथै विहार रहेको क्षेत्रमै नदीको धार बग्ने अवस्था बनेको छ।