भदौ ७, नुवाकोट । पाँचौँ संस्करणको एनयुएफसी फुटसल प्रतियोगिता बट्टारको बालुवाटारमा सुरु भएको छ ।
नुवाकोट युनाईटेड फुटबल क्लब (एनयुएफसी)को आयोजनामा भएको अन्तरविद्यालय जिल्लास्तरीय छात्र र छात्रा फुटबल प्रतियोगिताको उद्घाटन विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले गरेका हुन् ।
प्रतियोगितामा जिल्लाभरका ३९ विद्यालयका छात्रतर्फ ४९ र छात्रातर्फ ९ समुहले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।
प्रतियोगिताका विजेताले छात्रतर्फ २० हजार र छात्रातर्फ १० हजार नगद पुरस्कार र उपविजेता छात्रतर्फ १५ हजार र छात्रातर्फ ७ हजार ५०० रुपैँया नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव रबिन भुजेलले जानकारी दिए । प्रतियोगिताको अनुमानित खर्च करिब ७ लाख रहेको उनले जानकारी दिए।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, स्कोरर र उत्कृष्ट प्रशिक्षकले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ