साउन २९, नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष योजनाअन्तर्गत तीनवटा चोरीका मोटरसाइकल नियन्त्रणमा ल्याएका छन्। तीमध्ये एक मोटरसाइकल आज सवारीधनीलाई बुझाइएको छ।
गत साउन २९ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा विशेष खोज कार्यक्रमबीच बा.प्र. ०२–०५१ प ३०७५ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल सम्बन्धित धनी किस्पाङ गाउँपालिका–२ बस्ने पूर्णबहादुर तामाङलाई हस्तान्तरण गरिएको छ। हस्तान्तरण जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकबाल हवारी र ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विनोद ढकालले गरेका हुन्।
उक्त मोटरसाइकल गत साउन १५ गते कागजात नभएको कसुरमा नियन्त्रणमा लिइएको थियो प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिए । अनुसन्धानका क्रममा वास्तविक नम्बर बा.प्र. ०२–०५० प ३७४२ लाई परिवर्तन गरी चलाएको भेटिएको हो। मोटरसाइकल गत वर्ष २०८२ फागुन १० गते राति ८:३० बजे काठमाडौंको बालाजुबाट हराएको उनले जानकारी दिए ।
यस्तै, साउन २२ गते खरानीटारबाट बा ४१ प ९३५३ नम्बरको टीभीएस आरटीआर र साउन २६ गते विदुर–५ माझिटारबाट बा.प्र. ०२–००१ प ५१४२ नम्बरको पल्सर मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिइएको छ। दुवै मोटरसाइकल काठमाडौंबाट हराएका थिए।