+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा सम्पदाको तस्बिर अभिलेख सम्बन्धी अभिमुखीकरण

नीतिगत र व्यावहारिक चुनौतीहरूमाथि छलफल

Orientation on heritage conservation and archives in Nuwakot
सुनील श्रेष्ठ
२ घण्टा अगाडी

असार ५, विदुर । सम्पदा संरक्षणको संवेदनशीलता र यसको ऐतिहासिक महत्त्वलाई मध्यनजर गर्दै नुवाकोटको भैरवी माध्यमिक विद्यालयमा तस्बिर अभिलेख सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

पुरातत्त्व विभागको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा मानव निर्मित शताब्दीऔँ पुराना सम्पदाहरूको पहिचान, तिनको संरक्षणको आवश्यकता तथा डिजिटल एवं भौतिक रूपमा अभिलेख राख्ने आधुनिक पद्धतिहरूका बारेमा विस्तृत प्रस्तुति र विमर्श गरिएको छ ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर २ का जनप्रतिनिधिहरु, जिल्लाका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, नागरिक समाज तथा विभिन्न सामुदायिक विद्यालयहरुमा सामाजिक विषय अध्यापन गराइरहेका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका मुख्य वक्ता एवं पुरातत्त्व विभागका कार्यालय प्रमुख, पुरातत्त्व अधिकृत सन्दीप खनालले शताब्दी पुराना मूर्त तथा अमूर्त सम्पदाहरू मानव सभ्यताका जीवित दस्तावेज भएको कुरामा जोड दिए। उनले भावी पुस्ताका लागि इतिहास सुरक्षित राख्न र देशको पर्यटन प्रवर्द्धन गर्न पनि पुराना संरचनाहरूको सही विवरण र तस्बिरसहितको अभिलेख दुरुस्त राख्नुपर्ने आवश्यकता औंल्याए। उनले सम्पदा संरक्षण र मापदण्ड पालनाका क्षेत्रमा राष्ट्रिय रूपमा देखिएका विविध नीतिगत, कानुनी र व्यावहारिक चुनौतीहरूलाई समेत कार्यपत्रमार्फत प्रस्तुत गरेका थिए ।

विशेष गरी बहु-निकायगत समन्वय प्रणाली कमजोर हुनु, ऐन कानुनहरूमा विरोधाभास रहनु र संघ, प्रदेश तथा स्थानीय तह (नगरपालिका/गाउँपालिका) बीच संवैधानिक अधिकारको प्रयोगमा स्पष्टता नहुँदा सम्पदा क्षेत्रमा सोचेअनुरूप काम हुन नसकेको उनको भनाइ थियो।

“हाल नेपालमा सम्पदा संरक्षणका लागि विशिष्टीकृत खरिद सम्बन्धी कानुनको अभाव रहेको छ”, उनले भने, “जसले गर्दा पुराना सम्पदाको पुनर्निर्माण वा मर्मत गर्दा सामान्य ठेक्का प्रक्रिया अपनाउनुपर्ने बाध्यता छ। साथै परम्परागत निर्माण सामग्री र मौलिक सीपको उपलब्धता दिनानुदिन घट्दै जानु र पुस्तान्तरण नहुनु, जिल्ला दररेटले पुरातात्त्विक विशिष्टतालाई उचित सम्बोधन नगर्नु र जनस्तरबाट पर्याप्त आवाज नउठ्नु जस्ता गम्भीर चुनौतीहरू रहेको छ ।”

समस्याहरूको समाधानका लागि निकायगत समन्वयलाई प्रणालीगत रूपमा बलियो बनाउनुपर्ने, सानातिना प्रकृतिका काममा हुने प्रक्रियागत ढिलाइ कम गर्न नीतिगत सुधार गरिनुपर्ने र स्थानीय सरोकारवालाहरूको तर्फबाट नियमित पैरवी हुनुपर्ने उनले सुझाव दिए।

कार्यक्रमका सहभागीहरूले परम्परागत सीप हस्तान्तरणका लागि रोष्टर अद्यावधिक गर्ने र विद्यालय तहदेखि नै कानुनी तथा प्रक्रियागत साक्षरता बढाउन कार्यशालाहरू व्यापक बनाउनुपर्ने निष्कर्ष निकालेका छन्।

कार्यक्रमले ऐतिहासिक गढी, दरबार र प्राचीन मन्दिरहरूले स्थानीयस्तरमा सम्पदा जागरण फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ