+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल रेडक्रस सोसाइटीमा नवगठित तदर्थ समितिको पदभार ग्रहण

nepal redcross society new operation committee
डबली खबर
२ घण्टा अगाडी

असार ३, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले आज केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो तदर्थ समिति विघटन गरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो ।

समितिको महामन्त्रीमा गोरखाका ऋषि रमण खनाल, कोषाध्यक्षमा काठमाडौंका प्रेमसागर कर्माचार्य र सदस्यहरूमा भोजपुरका वसन्त कुमार श्रेष्ठ, दाङकी अबिस्मी न्यौपाने, तेह्रथुमका पुष्पा दास, सिन्धुपाल्चोकका प्रेम लामा, सप्तरीका मोहम्मद आयतुल्ला रहमान र कैलालीका मञ्जु साउँद (बोहरा) रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटीलाई प्रविधिमैत्री र समावेशी बनाउँदै समयसापेक्ष रूपान्तरण गर्न सरकारले स्पष्ट कार्यभार तोकेको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको गत जेठ २९ गतेको पत्रानुसार रेडक्रसको वर्तमान तदर्थ समितिलाई संस्थागत सुधारका महत्त्वपूर्ण जिम्मेवारीहरू सुम्पिएको हो ।

मन्त्रालयको निर्देशनानुसार अब तदर्थ समितिले नेपाल रेडक्रस सोसाइटीमा अनिवार्य रूपमा डिजिटल सदस्यता प्रणाली विकास गर्नुपर्नेछ । यस प्रणालीअन्तर्गत सबै पुराना तथा नयाँ सदस्यहरूको विवरण डिजिटल माध्यमबाट दर्ता, नवीकरण र अद्यावधिक गरिनेछ । सदस्यताको दायरालाई व्यापक बनाउन सामाजिक सञ्जाल लगायतका विभिन्न आधुनिक सञ्चार माध्यमहरूको अधिकतम उपयोग गर्दै राष्ट्रिय स्तरको अभियान सञ्चालन गर्ने योजना समेत तय गरिएको छ । यसका साथै संस्थामा युवाहरूको सहभागिता र प्रतिनिधित्वलाई सुनिश्चित गर्न विशेष पहलकदमी लिइनेछ ।

संस्थागत ढाँचालाई देशको वर्तमान राजनीतिक संरचना अनुकूल बनाउन रेडक्रसको हालको साङ्गठनिक स्वरूपलाई नेपालको संविधानको सङ्घीय शासकीय व्यवस्था बमोजिम सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहमा पुनःसंरचना गरिने भएको छ । यी सबै सुधारका कार्यहरू सम्पन्न भएपछि डिजिटल रूपमा अद्यावधिक भएका वैध सदस्यहरूका माध्यमबाट मात्रै सोसाइटीको नयाँ निर्वाचन गराउने मुख्य जिम्मेवारी तदर्थ समितिलाई तोकिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ