जेठ २५, नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले देशभरका शाखा प्रबन्धकहरूको नेतृत्व, व्यवस्थापन तथा प्राविधिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको ‘शाखा उत्कृष्टता र भूमि प्रशासन’ विषयक क्षमता अभिवृद्धि तालिम गरेको छ।
नेपालगन्ज (बाँके), गोदावरी (ललितपुर) र लालगढ (धनुषा) मा तीन चरणमा सञ्चालन गरिएको उक्त तालिममा शाखा व्यवस्थापन, नेतृत्व विकास, भूमि प्रशासन, धितो मूल्यांकन तथा इन्जिनियरिङसम्बन्धी विषयमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले संस्थाको दीर्घकालीन लक्ष्य, सेवा प्रभावकारिता तथा कर्मचारीहरूको भूमिकाबारे प्रकाश पार्दै सहभागीहरूलाई उच्च मनोबलका साथ उत्कृष्ट कार्यसम्पादन गर्न प्रेरित गरेका थिए ।
तालिमका क्रममा बिफिनका प्रमुख कार्यकारी अधिकृत तथा बैंकिङ विज्ञ मुकुन्द सुवेदीले नेतृत्व सुदृढीकरण तथा व्यवस्थापकीय क्षमताको विकास सम्बन्धी प्रशिक्षण दिएका थिए ।
त्यसैगरी, सचिन भट्टराईले घरजग्गा तथा धितो मूल्यांकनसम्बन्धी विषयमा र इन्जिनियर सुबोध उपाध्यायले इन्जिनियरिङसम्बन्धी प्राविधिक पक्षमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। संस्थाका सहायक प्रबन्धक उमेशमान डङ्गोलले कार्यक्रमको सहजीकरण गरेका थिए।
कार्यक्रममा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत दानराज पन्त, नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, वरिष्ठ व्यवस्थापक राजुप्रसाद पुडासैनी, शेखर न्यौपानेलगायत व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कम्पनीले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले शाखा सञ्चालनलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
हाल कम्पनीले देशका ६४ जिल्लामा रहेका १४९ शाखा कार्यालयमार्फत हजारौं सेवाग्राहीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया