जेठ ९, नुवाकोट । सवारीसाधन खरिद गर्दा वारेन्टी पाउनु ग्राहकहरूको कानुनी र नैतिक अधिकार भएको भन्दै यसप्रति कम्पनी पूर्ण रूपमा सजग र गम्भीर रहेको सीजी मोटर्सका व्यवसाय व्यवसाय प्रमुख बद्री भट्टराईले स्पष्ट पारेका छन् ।
टिमुरे बस तथा मिनिबस यातायात प्रालिले शुक्रबार विदुरमा आयोजना गरेको व्यवसायीसँग अन्तरक्रिया कार्यक्रममा उनले उक्त भनाइ राखेका हुन् ।
उनले व्यवसाय उपभोक्ता र बैंक सबैको मनोबल बढाउनका लागि आफूहरूले वारेन्टीको विषयलाई उच्च प्राथमिकतामा राखेको बताए । कम्पनीले वारेन्टी मूल उत्पादक कम्पनीबाट लिएर उपलब्ध गराउने एउटा माध्यम मात्र भए तापनि यसको पूर्ण जिम्मेवारी र जवाफदेहिता सीजी मोटर्सले लिने जनाएको छ। ग्राहकहरूलाई सेवा दिने मामलामा कुनै पनि प्रकारको कसुर बाँकी नराख्ने र उनीहरूको सन्तुष्टि नै कम्पनीको मुख्य ध्येय रहेको कुरामा जोड दिइएको छ।
कम्पनीले ग्राहकहरूको गुनासो र मागलाई सम्बोधन गर्न सधैँ लचिलो बन्ने प्रयास गरिरहेको उनले उल्लेख गरेको छ। सकेसम्म धेरै भन्दा धेरै पार्टपुर्जाहरूमा वारेन्टी सुविधा उपलब्ध गराउन आफूहरूले चिनियाँ उत्पादक कम्पनीहरूसँग निरन्तर समन्वय गरिरहेको कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा उपभोक्ताको सुझावहरूलाई समेत आत्मसात् गर्दै विभिन्न अप्ठ्यारा परिस्थितिहरूमा पनि ग्राहकको पक्षमा कार्य गर्दै आईरहेको उनले बताए । ग्राहकलाई चित्त दुखाएर वा रुष्ट बनाएर व्यवसाय अघि बढ्न नसक्ने यथार्थलाई स्वीकार गर्दै सीजी मोटर्सले आफ्नो ब्राण्ड पहिचान जोगाउनका लागि पनि वारेन्टी र बिक्रीपछिको सेवामा विशेष ध्यान दिइरहेको दाबी उनले गरे।
गाडीको वारेन्टी दाबी सुदृढ राख्नका लागि ग्राहकहरू आफैँ पनि मेकानिकल पक्षमा सचेत हुनुपर्ने उनको भनाइ छ।
सवारी साधनको समयमै नियमित सर्भिसिङ नगरेको खण्डमा वारेन्टीको समय सीमा र सर्तहरूमा प्राविधिक कठिनाइ आउन सक्ने तर्फ सचेत गराउँदै ग्राहकहरूलाई गाडीको उचित हेरचाह गर्न उनले आग्रह गरे।

प्रतिक्रिया