+
Search

ताजा अपडेट +

पपुलर +

मानवकेन्द्रित जैविक विविधता संरक्षणमा जोड

Minister Shakti Basnet
डबली खबर
७ साल अगाडी

काठमाडौँ/वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानिसलाई केन्द्रमा राखेर गरिने जैविक विविधता संरक्षणका काम प्रभावकारी र दिगो हुने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा उहाँले प्रकृति संरक्षण अनिवार्य शर्त रहेको उल्लेख गर्दै सामाजिक आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले जैविक विविधता संरक्षणमा संलग्न व्यक्तिका जोखिम न्यूनीकरण गर्न र प्रोत्साहन दिन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताउनुभयो ।

वन सचिव डा विश्वनाथ ओलीले नेपाल जैविक विविधता महासन्धिको पक्ष राष्ट्र भएपछि यस क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताउँदै जैविक विविधता संरक्षणका कार्य सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको जानकारी गराउनुभयो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी सचिव डा युवकध्वज जिसीले जैविक विविधताको कुरा गर्दा ठूला प्राणीको संरक्षण बढी प्राथमिकतामा पर्ने गरेको बताउँदै पारिस्थितिकीय प्रणालीमा साना प्राणाीको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

‘जैविक विविधता महासन्धिका २५ वर्षः पृथ्वीमा सुरक्षित जीवनको सुनिश्चितता’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख डा महेश्वर ढकालले महासन्धिपछि नेपालले हासिल गरेका उपलब्धि र त्यसमा देखिएका चुनौतीका बारेमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा जैविक विविधतासम्बन्धी विभिन्न पुस्तक विमोचन गरिनाका साथै जैविक विविधतासम्बन्धी भिडियो प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ