३१ असोज, नुवाकोट । म्यागङ गाउँपालिका–२ को वडा कार्यालयले सलाखु खोला अन्तर्गत हुने जीवहरुको अवैध रुपमा सिकार कार्य तत्काल रोक्न अनुरोध गरेको छ ।
वडा नम्बर २ का वडा अध्यक्ष सन्दविर तामाङद्वारा हस्ताक्षरित सूचनामा सलाखु खोला संरक्षण समितिको अनुरोधअनुसार सलाखु खोला अन्तर्गत खुर्सानी दोभानदेखि सप्ताङ खोलासम्म अवैध रुपमा करेन्ट तथा विषादीको प्रयोग गरी, जाल र बल्छिको प्रयोग गरी खोलामा रहेका माछा लगायतका जीवहरुको अवैध रुपमा सिकार गर्ने कार्य गरि रहेकोले भोलि कार्तिक १ गतेदेखि लागू हुने गरी दुई वर्षका लागि पूर्ण रूपमा यस्ता क्रियाकलापमा रोक लगाइएको उल्लेख छ ।
खोलाको सीमा क्षेत्रमा हुने अनधिकृत क्रियाकलापहरू रोक्न सबैलाई सचेत गराइएको छ । सूचनामा भनिएको छ, “खोलामा हुने यस किसिमका कार्यहरूले वातावरणमा असर पुर्याउने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि यस्ता कार्यहरू पूर्ण रूपमा बन्द गर्न अनुरोध गरिन्छ।”
कार्यालयले सूचनामार्फत चेतावनी दिँदै यस्ता कार्यमा संलग्न हुने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने जनाएको छ। साथै, स्थानीयवासी, सरोकारवाला र सम्बन्धित निकायहरूलाई वातावरणीय संरक्षणमा सहकार्य गर्न पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया