५ पुस, नुवाकोट । सङ्गम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा हस्तलेखन प्रतियोगिता भएको छ ।
शुक्रबार सहकारीको २८औँ वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा देवीघाट कोलोनीमा आयोजित प्रतियोगितामा सुभेनियर बोर्डिङ स्कुलकी जस्मिन सेढाईँ र विन्दुकेशर माध्यमिक विद्यालयकी सोनिया तिमिल्सिना प्रथम भएको सहकारीका अध्यक्ष केशव मिश्रले जानकारी दिए ।
प्रतियोगितामा सेढाईँ र तिमिल्सिनाले दुवै भाषाको हस्तलेखन विधामा प्रथम र द्वितीय भएकी छिन् ।
सेढाईँले अङ्ग्रेजीमा प्रथम र नेपालीमा द्वितीय स्थान प्राप्त गरेकी छिन् । सेढाईँ अङ्ग्रेजीमा १० मा ९ अङ्क र नेपालीमा ८.५ अङ्क प्राप्त गरिन् ।
यसैगरी, विन्दुकेशरकी तिमिल्सिनाले नेपाली हस्तलेखनमा प्रथम र अङ्ग्रेजीमा द्वितीय स्थान प्राप्त गरेकी छिन् । तिमिल्सिनाले नेपालीमा ९ अङ्क र अङ्ग्रेजीमा ८.५ अङ्क प्राप्त गरिन् ।
यसैगरी, नेशनल बेथल एकडेमीकी सोम्या तामाङले अङ्ग्रेजीमा र सेई बोर्डिङ स्कुलकी श्रेया थापाले नेपाली विधामा तृतीय स्थान प्राप्त गरिन् । तामाङले र थापा दुवैले समान ८/८ अङ्क प्राप्त गरिन् ।
हस्तलेखन प्रतियोगिता जिल्लाका विभिन्न विद्यालयका ४० जना विद्यार्थीहरुले सहभागिता जनाएको कार्यक्रम संयोजक पवनराज खड्काले जानकारी दिए । विजेताहरुलाई सहकारीको यहि पुस १५ गते हुने साधारणसभामा पुरस्कृत गरिने उनले जानकारी दिए ।
प्रतियोगितामा रेशमकुमार पौडेल र रमेश पराजुलीले निर्णायकको भूमिका खेलका थिए ।
सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, प्राकृतिक प्रकोप व्यवस्थापन, संस्कृतिक प्रवर्द्धन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ।
प्रतिक्रिया